काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले २०४४ सालदेखि २०७८ सालसम्मको अवधिमा गरिएको आयव्यय विवरणमाथिको अनुसन्धानका क्रममा तिवारीको आयभन्दा व्यय धेरै देखिएकाले हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार सो अवधिमा कुल १४ करोड ५१ लाख ९१ हजार ३५६ रूपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको जनाएको छ।
सोही जाँच अवधिमा व्ययतर्फ अध्ययन खर्च ऋणसापटी लगानी रकम कम्पनीमा लगानी रकम, घर खरिद/निर्माण खर्च, जग्गा खरिद खर्च, घरजग्गा बिक्री लाभकर जीवन बीमा प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सेयर खरिद, सामाजिक व्यवहार खर्च, हीराको हार खरिद, बहालकर भुक्तानी, छोरीको नाममा घर खरिद, विभिन्न व्यक्तिहरूलाई बैंक खाताको चेकबाट भुक्तानी खर्च, विवाह खर्च, सहकारी संस्थालाई भुक्तानी र अनुसन्धान जाँच अवधिको अन्तिम बैंक मौज्दातसमेत कुल २५ करोड ६ लाख ८७ हजार २२७ रूपैयाँ लगानी तथा खर्च गरेको पाइएको अख्तियारले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
उनले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको जनाइएको छ ।
तिवारी सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती तथा छोरीका नाममा समेत रहेको देखिँदा श्रीमती मीनादेवी तिवारी र छोरी मीरा तिवारीउपर पनि स्रोत खनुल्ने सम्पत्ति जफतका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।