पोखराको शिशुवादेखि खुदीखोलासम्म जाने सडक सामाजिक सञ्जालमा बेलाबखत भाइरल भइरहन्छ।
दुई लेन सडकको दुवैतर्फ बनाइएका साइकल लेन, फुट ट्रेल र सडक बत्तिले सडकलाई झलमल मात्र पारेको छैन, वरिपरि खेतबारीमा लगाइएका बालीनाली र हिमाल खुलेका दिन सडकबाट देखिने दृश्यले पनि यात्रीलाई मोहित पार्छ।
शिशुवादेखि खुदीखोला जाने चोकमै रहेको सडक भने अझै बिजोग छ। तालचोकदेखि बेगनासताल जोड्ने यो सडक भत्काएर छाडिएको छ। निर्माण गर्न स्थानीयले अवरोध गरेको भन्दै सरकारी निकाय र ठेकेदार कम्पनीले सडकको काम पूरा गर्न सकेका छैनन्। जसले यात्रुलाई हिलो र धुलो मात्र दिएको छ।
लेखनाथमा रहेका यी दुबै सडकका लम्बाई लामो छैन। दुबै सडक निर्माण गर्न विश्व बैंकको नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक सहयोग गरेको छ। शिशुवा–खुदी सडकभन्दा अगाडि नै तालचोक–बेगनास सडक निर्माण गर्न सम्झौता भएर ठेक्का लागेको थियो। तर उक्त सडकभन्दा अगाडि नै शिशुवा–खुदी सडक निर्माण पूरा भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए।
‘तालचोक–बेगनास सडकमा स्थानीय साथीहरूले लामो समय अवरोध गर्नुभयो। ठेकेदार कम्पनीले पनि तदारूकता देखाएन,’ उनले भने, ‘शिशुवा– खुदी खोला सडकमा स्थानीयले पूरा सहयोग गर्नुभयो। ठेकेदार कम्पनीले पनि समयमै काम सक्यो।’
यी दुवै सडक एकै ठाउँमा मात्र नभएर मापदण्ड र लगानी गर्ने संस्था विश्व बैंकको एउटै परियोजनाभित्र रहेको पनि मेयर आचार्यले बताए।
स्थानीयबासीको सहयोग र ठेकेदार कम्पनीले समयमा काम गर्न चाह्यो भने सजिलै काम गर्न सकिने उदाहरण शिशुवादेखि खुदीखोला जोड्ने सडक भएको उनले बताए।
आयोजनाका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर सडक ३४ करोड ११ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सकिएको हो।
आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमका अनुसार सडक १५ मिटर चौडाइको डबल लेन, ७ मिटर सपोर्ट सडक, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुटपाथ र सडक बत्ती राखिएको छ।

यो सडक बनाउन आशिष निर्माण सेवाले भ्याटसहित ३४ करोड ११ लाख रुपैयाँमा २०८१ वैशाख २ गते ठेक्का सम्झौता गरेको थियो। कम्पनीले तोकिएकै समयमा सडक निर्माणको काम गरेको मेयर आचार्यले बताए।
तालचोकदेखि बेगनासताल जोड्ने सडकको लम्बाई जम्मा ३.२८ किलोमिटर छ। पृथ्वी राजमार्गबाट बेगनासताल जोड्ने यस सडकले बेगनास क्षेत्रको पर्यटन विकासको मेरूदण्ड मानिएको छ।
यस सडकमा पनि डबल लेन, साइकल लेन, फुटपाथ, पार्किङ र सडक बत्ती राख्ने योजना छ। पटक पटक म्याद थप गर्दै आए पनि सडक निर्माणको ठेक्का लिएको ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले अझै काम पूरा गरेको छेन।
सडकको ठेक्का सम्झौता भएको एक वर्षपछि काम सुरु गरेको कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता थियो। ठेकेदार कम्पनीसँग २०७९ चैतदेखि निर्माण थालिएको यो सडक पूरा गर्न अन्तिम पटकका लागि भन्दै ४५ दिन म्याद थप गरेको मेयर आचार्यले बताए।
‘तालचोक–बेगनासताल सडकको म्याद ४५ दिन थपिएको छ, अब थपिएको अवधीमा पनि काम भएन भने ठेक्का तोडिन्छ,’ उनले भने।
यी दुवै सडक सञ्चालनमा आएपछि लेखनाथ क्षेत्रको पर्यटन विकासमा मात्र होइन, कास्कीको पश्चिम क्षेत्र, तनहुँ र लमजुङसम्मका बासिन्दा लाभान्वित हुनेछन्।
पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने सडक भएकाले पनि यसलाई महत्वपूर्ण मानिएको छ।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक पूर्वाधार नहुँदा गाउँमा किसानले उब्जाएका बालीनाली र दुग्ध पदार्थ बजार लैजान समस्या भएको बताए।
उक्त समस्या समाधान गर्न गाउँपालिकाभित्र रहेका सडक कालोपत्र गरेको र पोखरा महानगरभित्रका सडक पूर्वाधार पनि समयमै सक्नुपर्ने उनले बताए। अहिले रुपा गाउँपालिकाबाट मात्र पोखरामा दैनिक ४ हजार लिटर दुध पठाउने गरेको उनले बताए।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले सडकले उद्यमशीलता र पर्यटन विकासमा योगदान पुग्ने बताइन्। तालचोकदेखि बेगनासतालसम्म जाने सडक लामो समयदेखि अधुरो रहँदा स्थानीयलाई मात्र नभई यात्रु र पर्यटकले पनि धुलो र हिलो खानुपरेको उनले बताइन्।
‘सडकले उद्यमशीलताको विकास गर्न सहयोग गर्छ, तर अलपत्र छाड्दा भएका उद्यमी पनि विस्थापित हुने जोखिम हुन्छ,’ उनले भनिन्।
पोखरा महानगरमा मात्र विभिन्न दातृ निकायको सहयोगमा ३३ अर्ब रुपैया बराबरका विकास कार्यक्रम संचालनमा छन्। विश्व बैंकको सहयोगमा नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत १७ वटा जिल्लामा २२ वटा आयोजना कार्यान्वयनमा छन्। बैंकका उक्त आयोजना हेर्ने फोकल पर्सन वसन्त पौडेलका अनुसार उक्त आयोजना अन्तर्गत पोखरामा मात्र ३ वटा सडक सुधार हुँदैछन्। देशभरी गरेर हालसम्म ४ वटा आयोजना मात्र पूरा भएको पौडेलले बताए।