बाँकेको नेपालगन्जमा व्यावसायिक फूल खेती गरेर तीन जना युवाले तिहार खर्चको जोहो गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूल खेती गरेर तिहार खर्च जुटाएका हुन्।
नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल टिपेर बिक्री गर्न यतिबेला उनीहरूलाई भ्याइनभ्याइ छ। फार्ममा फुलेका फूल बिक्री गरेर अहिलेसम्म करिब दुई लाख रूपैयाँ आम्दानी भएको वेदराज आचार्यले जानकारी दिए।
'हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौं, अझै पाँच क्विन्टल जति बाँकी होला,' वेदराजले भने, 'चार सय रूपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौं। अहिलेसम्म दुई लाख रूपैयाँजतिको बिक्री भइसक्यो।'
यसपालिको तिहार खर्च फूलखेतीबाटै जुटेको अर्का सञ्चालक असिम सिग्देल पनि मख्ख छन्। थोरै मेहनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास उनीहरूलाई लागेको छ।
तिहारअघि नै करिब दुई लाख रूपैयाँ बराबरको फूल बिक्री भइसकेको छ। स्थानीयले फूलका लागि अग्रिम बुकिङ पनि गरेका छन्। बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएको उनीहरूले बताएका छन्।
बाँकेमा यो वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ।
जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।
उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। भारतीय फूल आयातमा रोक लगाउन सके फूलखेती गर्ने किसानले राम्रो आम्दानी गर्न सकिन्छ।
तिहार नजिकिएसँगै किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोकलगायत क्षेत्रमा फुटकर रूपमा फूल बिक्री वितरण गरिरहेका छन्।
स्थानीय बजारमा फूलको माग बढेसँगै किसानलाई बिक्री गर्न भ्याइनभ्याइ भएको उनको भनाइ छ।