बाँके प्रहरीले खुकुरी समातेर सामाजिक सञ्जालमा फोटो तथा भिडिओ राख्ने दुई युवालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार कुमालले अजय मगर नामको र खटिकले अनिल सोनखर नामको आइडीबाट हातमा खुकुरी समातेको भिडिओ पोस्ट गरेका थिए।
आम जनमानसमा डरत्रास एवं समाजलाई आतंकित पार्ने किसिमका अस्वाभाविक गतिविधि गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी पातलीले बताए।
पक्राउ परेका दुवै जना विरूद्ध म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।