सर्वोच्च अदालतले सवारी लाइसेन्सको परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश जारी गरेको छ।
माघ १८ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो।
सवारी चालक अनुमति लिँदा दिइने परीक्षाफलको प्रकाशन गर्दा यातायात व्यवस्था विभागले नागरिकता नम्बर समेत प्रकाशन गर्दै आएको थियो।
यसले वैयक्तिक गोपनीयताको हक हनन् हुन पुगेको भन्दै सर्वोच्चले परमादेश जारी गरेको हो।
‘...परीक्षार्थीहरूको नाम र रोल नम्बरका साथमा नागरिकता नम्बर समेत प्रकाशन गर्दै आएको र परीक्षार्थीको परीक्षाफलसँगै नागरिकता नम्बर समेत प्रकाशन गर्नाले परीक्षार्थीहरूको वैयक्तिक गोपनीयताको हक हनन् हुन पुगेको देखिँदा अब उपरान्त सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर उल्लेख नगरी परीक्षाफल प्रकाशन गर्नू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ।
त्यस्तै यातायात व्यवस्था विभागलाई कुनै पनि कानूनले परीक्षार्थीको नागरिकता नम्बर प्रकाशन गर्न अधिकार नदिएको पनि सर्वोच्चले बताएको छ।
‘अनुमतिपत्रको परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अख्तियारी रहेता पनि सो परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर समेत प्रकाशन गर्ने अधिकार भने कुनै कानूनले प्रदान गरेको देखिँदैन। यसरी परीक्षाफल प्रकाशन गर्दा परीक्षर्थीको नागरिकता नम्बर समेत उल्लेख गरी प्रकाशन गर्दा नागरिकको गोपनीयताको हकको संरक्षणमाथि प्रश्न उठ्न जाने हुन्छ,’ सर्वोच्चले भनेको छ।
कानुनका विद्यार्थी विवेक चौधरीले विभागले गोपनीयताको हनन गर्दै आएको दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए।
यस फैसलाको पूर्णपाठ तयार नहुँदा भदौ २४ गते भएको आगजनीमा यस मुद्दाका सक्कल मिसिल भेटिएको थिएन। मुद्दा व्यवस्थापन प्रणालीमार्फत निकालिएको मुद्दाको स्थितिको आधारमा इजलासले पूर्णपाठ तयार पारेको हो।