बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले एक युवकलाई कुटपिट गरेका छन्।
उनले बुधबार बिहान साढे ८ बजे स्थानीय युवक दिपु कुमार महतो (दास)लाई कुटपिट गरेका हुन्।
मधेश प्रदेश सरकारको ३० लाख रुपैयाँको सशर्त अनुदानमा वडा स्थित सिँचाईको नहरमा सडक ढलानको काम भइरहेको छ।
उपभोक्ता समिति मार्फत भइरहेको कामको गुणस्तर कमजोर रहेको र गाउँको पानीको निकास नदिइ सडक बनाइएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन्।
सडक ढलानको भिडिओ बनाउँदै गरेको अवस्थामा आफूलाई वडा अध्यक्ष रामेश्वरले कुटपिट गरेको दिपुले बताएका छन् ।
‘ढलान गरिरहेको भिडियो खिचिरहेको थिँए, वडा अध्यक्ष एक्कासि आवेसमा आएर भिडियो खिच्ने तिम्रो अधिकार के छ? भन्दै कुटपिट गर्न थाले,’ दिपुले भने।
वडा अध्यक्ष रामेश्वरले बाँया कानमा झापड हानेका कारण आफ्नो कान बन्द भएको उनी बताउँछन् ।
वडा अध्यक्ष रामेश्वर र उनलाई सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष राम पटेल र उनको दाई धुनु पटेल विरुद्ध ईलाका प्रहरी कार्यालय प्रसौनीमा आवश्यक कारबाहीका लागि निवेदन दिएको दिपुले जानकारी दिएका छन् ।
वडा अध्यक्ष रामेश्वरले भने भिडियो नगर्न आग्रह गर्दा दिपुले धकेलेर लडाएपछि स्थिति बिग्रिएको बताए ।
‘उसले नगर भन्दाभन्दै भिडियो गर्छ, हात हाल्छ भने के म मुख हेरेर बस्ने ?’ उनले भने।
उनले मधेश प्रदेश सरकारले सुरुमा ३० लाख बजेट दिने भने पनि २४ लाख रुपैयाँ विनियोजन गरेको र सोही अनुसार काम भइरहेको बताए।