ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई नेपाल)ले विवादमा तानिएका न्यायाधीशहरूमाथि निष्पक्ष छानबिन गर्न र छानबिन टुंगो नलागेसम्म उनीहरूलाई न्याय सम्पादनको काममा संलग्न नगराउन माग गरेको छ।
टिआई नेपालका उपाध्यक्ष सरोजप्रसाद पाण्डेले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित केही न्यायाधीशको बिचौलियासँग साँठगाँठ रहेको भन्ने समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
न्यायपालिकाको निष्पक्षतामाथि राजनीति, सरकार र बिचौलियाको प्रभाव रहने गरेको भन्दै लामो समयदेखि प्रश्न उठ्दै आएको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचार र सम्बन्धित न्यायाधीशले दिएका सार्वजनिक स्पष्टीकरणले मात्रै उठेका प्रश्नको समाधान नहुने टिआई नेपालको भनाइ छ।
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग भेटघाट वा सम्पर्क गर्नु न्यायाधीशले पालना गर्नुपर्ने नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन भएको संस्थाले जनाएको छ।
'समाचारहरूमा इङ्गित गरिएका तथा आफैँले स्पष्टीकरण दिएका न्यायाधीशहरूले उच्चतम सदाचार प्रदर्शन गरी उठेका प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादन कार्यमा संलग्न नहुन उचित देखिन्छ,' विज्ञप्तिमा भनिएको छ।
टिआई नेपालले यस विषयमा संसद्मार्फत तथ्यगत अनुसन्धान गर्न पनि माग गरेको छ। प्रजातान्त्रिक प्रणालीमा कार्यकारी र न्यायालयको स्वतन्त्रता तथा कार्य प्रभावकारिताको अनुगमन गरी आवश्यक निर्णय गर्ने निकाय संसद् भएकाले ढिला नगरी संसदीय समितिमार्फत छानबिन गर्न उसले आह्वान गरेको छ।
त्यस्तै, विवादमा परेका न्यायाधीशहरूको सम्पत्ति समेत छानबिनको दायरामा ल्याउन टिआई नेपालले माग गरेको छ।