सर्वोच्च अदालतकी तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिस्ट्रार विमल पौडेललाई दिएको निर्देशन अनुसार प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट दरपीठ विरूद्धको निवेदन दर्ता भएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरिएको भन्दै दायर भएको रिट दरपीठ भएपछि त्यस विरूद्ध दिइएको निवेदनलाई बुधबार सर्वोच्चको प्रशासनले दर्ता गरेको हो।
नयाँ प्रधानन्यायाधीशको आगमनसँगै प्रशासनले उक्त निवेदन दर्ता गरेको हो।
सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले तीनवटा निवेदनमध्ये एउटा दर्ता भएको जानकारी दिए।
'अधिवक्ता डा. प्रेमराज सिलवालले दिनुभएको दरपीठ विरूद्धको निवेदन दर्ता भएको छ। अन्य दुईवटाका निवेदकहरूसँग सम्पर्कको प्रयास भइरहेको छ,' उनले भने।
सर्वोच्चमा संवैधानिक परिषदको अध्यादेशसँग सम्बन्धित रिटहरू पनि पेस भएका थिए। ती रिट अझै अध्ययनकै क्रममा रहेको प्रवक्ता कोइरालाले बताए।
सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशका रूपमा सोमबार सर्वोच्च प्रशासनलाई रिट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न निर्देशन गरेकी थिइन्। तर त्यस दिन मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू सम्पर्क बाहिर गएपछि ती रिट दर्ता भएको थिएन।
रिट दरपीठ विरूद्धको निवेदन दर्ता नगरेपछि नेपाल बार एसोसिएसनले न्यायको खोजी गर्नुपर्ने अवस्था आएको भन्दै लालटिन बालेर प्रदर्शन गरेका थिए।
मंगलबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई फास्ट ट्र्याकमा सुनुवाइ गर्दै नियुक्ति समेत दिइएको थियो। उनले मंगलबार साँझदेखि नै कार्यभार सम्हालेका थिए।
मल्ल भने आजदेखि २० दिन बिदामा बसेकी छन्।