महोत्तरीको सोनमा गाउँपालिकामा गोली लागेर दम्पती घाइते भएका छन्।
२७ वर्षीय ईश्वर नारायण यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएका हुन्।
गोली लागेर घाइते भएका उनीहरुलाई तत्कालै उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
ईश्वरको काँधमा गोली लागेको छ भने किरण सामान्य घाइते मात्रै देखिएको प्रहरीले जनाएको छ।
बुधबार बिहान १ बजेतिर सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलस्थित स्थानीय रामविश्वास यादवको घरमा डकैती गर्न आएका समूहले उनीहरुलाई गोली हानेको थियो।
उनीहरु राम विश्वासका छोरी ज्वाँइ हुन्। महोत्तरीकै पिपरा गाउँपालिका घर भएका उनीहरु केही महिनादेखि त्यो घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार ५/६ जनाको समूहमा आएका लुटेराहरूले झ्याल फोडेर घरमा प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए।
घरभित्र उनिहरूलाई देखेपछि इश्वर र किरणले, प्रतिवाद गरेका थिए। त्यही क्रममा लुटेरा समूहले गोली चलाएको प्रारम्भिक जानकारी प्रहरीले संकलन गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्याम सारु मगरले सूचना पाएलगत्तै घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।
‘घटनास्थलमा पुगेर हेर्दा झ्यालबाट छिरेको देखिन्छ, केटालाई बाँधेर लुटपाट गरिएको भनिएको छ,’ उनले भने, ‘घाइतेहरुसँग बयान लिन बाँकी छ, त्यसपछि घटनाबारे थप कुरा खुल्छ।’
प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलेको छैन।
उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द थपलियाले जानकारी दिए।