अर्केस्ट्रामा काम गर्न गएका ६ जना किशोरी तथा युवतीको उद्धार गरिएको छ। भारतको दिल्ली र बिहारबाट उद्धार गरेर उनीहरूलाई नेपाल ल्याइएको हो।
उद्धार गरिएका किशोरीहरूमध्ये तीन जना सुनसरीको, मकवानपुर, कपिलवस्तु र सिरहाका १/१ जना छन्।
उनीहरू उमेर १६ देखि २५ वर्षसम्मका छन्। ५ जना किशोरी तथा युवतीहरूलाई उद्धार गरेर बिहारकै सुरक्षित बाल गृहमा राखिएको थियो, भने एक जनालाई दिल्लीबाट ल्याइएको थियो।
नेपाली दूतावास, दिल्ली, आफन्त इंडिया फाउन्डेसन र बिहार प्रहरीको संयुक्त प्रयासबाट उनीहरूको उद्धार गरिएको थियो।
उद्धारपछि उनीहरूलाई १९ दिनसम्म बाल संरक्षण गृहमा राखिएको थियो। पहिचान प्रमाणीकरण तथा अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याइएको आफन्त इन्डियाका रेस्क्यु अफिसर मान बहादुर श्रेष्ठले जानकारी दिए।
‘केही दिनअघि बिहारमा सञ्चालित विभिन्न अर्केस्ट्रामा छापामारी गरेर ३२ जनालाई किशोरी तथा युवतीलाई उद्धार गरिएको थियो, जसमध्ये ७ जना नेपाली भेटिएको थियो, दुई जनाको कागजात नभएका कारण बिहार छपरा बाल संरक्षण गृहमै छोडेका छौं,’ उनले भने, ‘उनीहरूलाई अर्कैको आइडी दिएर राखिएको रहेछ, आफन्तहरू पहिचान गरेर कागजपत्र बनाउन लगाउँदैछौं।’
आफन्त इण्डियाले आफन्त नेपालसँगको समन्वयमा किशोरी तथा युवतीहरूको आफन्त पहिचान गर्न लगाएको थियो।
बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको रोहबरमा उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले उनीहरूलाई धेरै पैसा कमाउने प्रलोभनमा परेर असुरक्षित काममा नजान आग्रह गरे।
‘पढ्ने, भविष्य बनाउने उमेर छ, नेपालमै बसेर केही गर्छु भन्ने सोचेर काम गर्नुपर्छ,’ उनले भने, ‘पैसा र रमाइलोको पछि लाग्दा जीवन जोखिममा पर्न सक्छ।’
उनीहरूलाई राम्रो रोजगारी र आकर्षक आम्दानीको प्रलोभन देखाएर भारत पुर्याइएको थियो। त्यहाँ उनीहरूलाई बन्धकजस्तै अवस्थामा राखी अर्केस्ट्रा तथा अश्लील मनोरञ्जन क्षेत्रसँग सम्बन्धित काममा संलग्न हुन बाध्य बनाइएको आफन्त नेपाल वीरगञ्ज शाखा प्रमुख मनु रानाले जानकारी दिइन् ।
मनोरञ्जनको क्षेत्रमा रोजगारी र राम्रो आम्दानीको प्रलोभन देखाएर किशोरी तथा युवतीलाई फसाएर अर्केस्ट्रामा लग्ने गरिएको उनी बताउँछिन्।
परिवारले बुझेर लगेकका ५ जना किशोरी तथा युवतीहरूले अबदेखि असुरक्षित ढंगले काम गर्न नजाने प्रक्रियासँगत हिसाबले वैदेशिक रोजागारीमा जाने बताएका छन्।
अर्केस्ट्रामा एक पटक नाचे वापत आफूहरूले २ हजारदेखि २ हजार ५ सय भारतीय रुपैयाँ पाउने गरेको दाबी उनीहरूले गरेका छन्।
सिरहा घर भएकी एक युवतीको जिम्मा लिने आफन्त नभएका कारण उनलाई आफन्त नेपालको वीरगञ्जस्थित अस्थायी आवास गृहमा नै राखिएको छ।
उनलाई मनोसामाजिक परामर्शपछि भरतपुरस्थित सुरक्षित आवास गृहमा पठाइने मनुले जानकारी दिइन्।
आफन्त नेपालले चितवनको भरतपुरमा मानव बेचबिखनमा परेका पीडितलाई खाने बस्ने तथा सीपमूलक तालिम समेत सिकाउने गरी सुरक्षित आवास गृह सञ्चालनमा ल्याएको छ। सुरक्षित आवास गहृमा ६० जनासम्मलाई राख्न सकिने आफन्त नेपालले जनाएको छ।
जेठ १८ गते माइती नेपालले भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई नेपाल ल्याएर आफन्तको जिम्मा लगाएको थियो। माइती नेपाल वीरगञ्ज शाखाले भारतको बिहार बृहत् आश्रय गृह, बाल गृह (बालिका) युनिट भैसाखाल सिवानमा आश्रित महोत्तरी र बाराका १७ र १६ वर्षको किशोरीलाई वीरगञ्ज ल्याएको हो।
माइती नेपाल वीरगञ्ज शाखा प्रमुख गोमा पौडेलका अनुसार दुवै किशोरी करिब एक वर्षअघि फरक–फरक समयमा साथीहरूको प्रभावमा परेर भारत पुगेका थिए। महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा भारतको छपरा पुगेकी थिइन्। धार्मिक स्थल दर्शन गराउने र राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन उनलाई दिइएको थियो।
बाराकी किशोरी होटलमा काम गर्थिन्। बढी आम्दानी हुने भन्दै अर्की युवतीले विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरेपछि उनी छपरा पुगेकी थिइन्। दुवै किशोरीलाई भारतको अर्केस्ट्राबाट प्रहरीले उद्धार गरेको थियो।