युक्रेनले रूसको राजधानीमै हमला गरेको छ।
बिहीबार राजधानी मस्कोमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ड्रोन हमलापछि तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।
विस्फोट यति शक्तिशाली थियो कि तेल भण्डारण ट्याङ्कीको विशाल गोलाकार ढकनी आकाशमा उडेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ।
तेल प्रशोधन केन्द्रमाथि युक्रेनी हमला तीन दिनभित्र दोस्रो पटक भएको हो।
युक्रेनी ड्रोनहरूले रुसी हवाई प्रतिरक्षा प्रणाली छल्दै क्रेमलिनबाट करिब १६ किलोमिटर टाढा रहेको उक्त प्रशोधन केन्द्रलाई निशाना बनाएका थिए। घटनापछि बाक्लो कालो धुवाँले मस्कोको आकाश ढाकेको थियो।
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमणलाई रुसविरुद्धको सन्देशका रूपमा व्याख्या गरे।
'तपाईंहरूको देशले हाम्रो देशविरुद्ध आक्रामक युद्ध सुरु गरेको थियो। वर्षौंदेखि उसले हाम्रा नागरिकलाई मारिरहेको छ। अब तपाईंहरूलाई के भइरहेको छ भन्ने थाहा भयो भने पुटिनलाई यो युद्ध कहिले अन्त्य गर्ने योजना छ भनेर सोध्नुस्,' उनले भनेका छन्।
युक्रेनले रुसको भित्री भूभागमा गरिरहेका लगातारका आक्रमणहरूले युद्धको दिशा आफ्नो पक्षमा मोडिँदै गएको दाबी गरेको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यही सन्देश हालै फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य नेताहरूसमक्ष पनि राखेका थिए।
तर क्रेमलिनले युक्रेनको दाबी अस्वीकार गरेको छ।
राष्ट्रपति पुटिनका एक सहयोगीले युद्धक्षेत्रको अवस्था युक्रेनको पक्षमा नफर्किएको दाबी गरेका छन्। घटनाबारे पुटिनले तत्काल सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उनी त्यसबेला कजानमा दक्षिणपूर्वी एसियाली नेताहरूको सम्मेलन आयोजना गरिरहेका थिए।
युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयसम्म धेरै रुसी नागरिकले युद्धको वास्तविकतालाई दैनिक जीवनबाट टाढा राख्ने प्रयास गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
क्रेमलिनले अझै पनि युद्धलाई विशेष सैन्य अभियान भनेर सम्बोधन गर्दै आएको छ।
मस्कोमा सन् २०२३ मेदेखि बेलाबेलामा ड्रोन आक्रमण भए पनि तिनले सामान्य जनजीवनमा ठूलो असर पारेका थिएनन्। तर बिहीबारको आक्रमणले राजधानीको दैनिकी नै अस्तव्यस्त बनाएको भनेर रोयटर्सले लेखेको छ।
मस्कोका सबै विमानस्थलमा उडान रोकिएको थियो भने शहर वरपरको मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको थियो। राजधानीको सबैभन्दा व्यस्त सेरेमेत्येभो विमानस्थल खाली गराइएको थियो।
स्थानीय अनलाइन च्याट समूहहरूमा धेरै बासिन्दाले कुनै साइरन नबजाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। केही उपनगरीय बासिन्दाले वर्षासँगै तेलका थोपा झरेर गाडी र झ्यालमा कालो दाग परेको बताएका छन्।