अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीच सम्बन्ध सुधार भएको छ।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु अघि देखि नै मेलोनी र म्याक्रोंबीच खटपट परिरहन्थ्यो। तर पछिल्लो समयमा मेलोनीको ट्रम्पसँग सम्बन्ध बिग्रिए पछि उनले म्याक्रोंसँग सम्बन्ध सुधारको प्रयास थालेको भनेर अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।
मेलोनी र म्याक्रोंबीच बिहीबार फ्रान्समा हुने द्विपक्षीय शिखर सम्मेलनमा उनीहरूले आणविक ऊर्जादेखि अन्तरिक्ष प्रविधिसम्मका विषयहरूमा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
मेलोनी र म्याक्रोंको तिक्तताको लामो इतिहास छ र गत जनवरीसम्म पनि मेलोनीले फ्रान्सलाई बेवास्ता गर्दै जर्मनीसँगको द्विपक्षीय सम्बन्धलाई प्राथमिकता दिइरहेकी थिइन्। तर परिस्थिति अहिले नाटकीय रूपमा बदलिएको छ।
अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेदेखि मेलोनीले ट्रम्पप्रति कडा दृष्टिकोण अपनाइरहेकी छिन्।
पोप लियो १४ औंले युद्धको विरोध गरे पछि ट्रम्पले पोपको समेत आलोचना गरेका थिए। त्यसपछि मेलोनीले पोपको आलोचना गरेकोमा विरोध गरेकी थिइन्। गत हप्ता यो मामला ठूलो र निकै व्यक्तिगत विवादमा परिणत भयो र दुई जनाबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।
ट्रम्पले मेलोनीमाथि आफ्नो लोकप्रियता बढाउन अमेरिकासँगको सम्बन्ध सुधार गर्न खोजेको भनेपछि उनीहरूबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोप भएको थियो।
जी-७ राष्ट्रहरूको सम्मेलनमा फोटो खिचेको विषयलाई लिएर सुरूमा ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेका थिए।
उनले मेलोनीले आफूसँग फोटो खिचाउन 'बिन्ती गरेको' भनेका थिए।
'उनले मसँग फोटो खिच्न बारम्बार बिन्ती गरिन्। इटालीमा उनको लोकप्रियता खराब छ। अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरिसकेपछि उनी फेरि साथी बन्न चाहान्छिन् ताकि आफ्नो लोकप्रियता बढोस्। तर धन्यवाद, आवश्यक छैन,’ ट्रम्पले लेखेका थिए।
मेलोनीले इन्स्टाग्राम मार्फत ट्रम्पलाई जबाफ दिएकी थिइन्। उनले ट्रम्पले लगाएको आरोप अर्थहीन रहेको र उनीसँगको मित्रतासँग आफ्नो लोकप्रियताको साइनो नरहेको बताएकी छन्।
'इटाली र म कहिल्यै बिन्तीभाउ गर्दैनौं! तपाईं मेरो साथी हुनु र नहुनुले मेरो लोकप्रियतामा कुनै प्रभाव पर्दैन। मेरो लोकप्रियता तपाईंसँगको सम्बन्धमा होइन इटालीको राष्ट्रिय हितको रक्षा गर्न सक्ने क्षमतामा निर्भर गर्छ। जुन म सधैँ गरेको छु,' उनले भनेकी छन्।
उनले आफ्नो लोकप्रियताको चासो नराख्न पनि ट्रम्पलाई आग्रह गरिन्।
'मेरो लोकप्रियता तपाईंको चासोको विषय होइन। म सुझाव दिन्छु, तपाईं आफ्नो लोकप्रियतामै ध्यान दिनुहोस्,' उनले भनेकी थिइन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)