गुगलले युरोपियन युनियनको (इयु) प्रतिस्पर्धा सम्बन्धी चार अर्ब १३ करोड युरो जरिवाना विरूद्धको आफ्नो पुनरावेदन हारेको छ।
इयुको सर्वोच्च अदालतले (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) बिहीबार आफ्ना प्रतिस्पर्धीहरूलाई दबाउन गुगलले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमको प्रयोग गरेको भन्ने इयु नियामकहरूको दाबीसँग सहमति जनाएपछि गुगलले यो मुद्दा हारेको हो।
प्रतिस्पर्धालाई खुम्च्याएको भन्दै इयुको नियामक निकायले लामो समयदेखि गुगल र एप्पलमाथि कारबाही गर्दै आएको थियो।
अदालतले गुगल र यसको मातृ कम्पनी अल्फाबेटद्वारा दायर गरिएको पुनरावेदन खारेज गर्दै युरोपेली आयोगको सन् २०१८ को निर्णयलाई सदर गर्ने तल्लो अदालतको फैसलालाई कायम राखेको छ।
विश्वका ठूला प्रविधि कम्पनीहरूलाई जबाफदेही बनाउनका लागि कडा नयाँ नियमहरू लागू गर्न खोजिरहेको इयुका लागि यो निर्णय एक महत्त्वपूर्ण जित भएको फाइनान्सियल टाइम्सले लेखेको छ।
गुगलले स्मार्टफोन निर्माताहरूलाई आफ्नो प्ले एप स्टोरसँगै गुगल सर्च र क्रोम पनि पहिले नै डाउनलोड गर्न अनिवार्य गरेर आफ्नो सर्च इन्जिनको बर्चस्वलाई गैरकानुनी रूपमा बढावा दिएको र एन्ड्रोइडका अन्य विकल्पहरूको प्रयोगमा अवरोध पुर्याएको आयोगले निष्कर्ष निकालेको थियो।
सन् २०२२ मा युरोपेली जनरल कोर्टले आयोगको सुरूआती चार अर्ब ३४ करोड युरोको जरिवानालाई घटाएर चार अर्ब १३ करोड युरो बनाएको थियो। त्यस विरूद्ध गुगलले गरेको पुनरावेदनमा फैसला गर्दै आदालतले चार अर्ब १३ करोड युरोको सो जरिवानालाई यथावत राखेको छ।
पछिल्लो पुनरावेदन हारेपछि यो फैसलाले एन्ड्रोइडलाई खुला, अन्तर-सञ्चालनयोग्य र नि:शुल्क राख्नका लागि आफुले गरेको ठूलो लगानीलाई पहिचान गर्न असफल भएको गुगलले बताएको छ।
गुगलले सन् २०१७ को आदेशपछि आफ्नो अलगोरिदममा परिवर्तन गरेर प्रतिस्पर्धी मूल्य तुलना गर्ने वेबसाइटहरूको पनि नतिजा देखाउन थालेको बताउँदै आएको छ। तर अझै पनि गुगलले आफ्नो सेवालाई फाइदा पुर्याउँदै आएको भनेर प्रतिस्पर्धीहरूले आरोप लगाउँदै आएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)