शान्ति सम्झौताका लागि काम गरिरहेका इरानी वार्ताकारलाई इसराइलले हत्या गर्न सक्छ भनेर अमेरिकाले चिन्ता व्यक्त गरेको छ।
द वासिंटन पोस्टका अनुसार इरानका विदेशमन्त्री अब्बास अराग्ची र सभामुख इरानका सभामुख मोहम्मद बाघेर गालिबाफको हत्या हुन सक्ने जोखिम देखिएपछि अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई सम्भावित योजनाबारे सचेत गराएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार ती दुवै नेताको हत्या भए शान्ति वार्तालाई अघि बढाउन सक्ने प्रभावशाली नरमपन्थी नेतृत्व कमजोर हुने चिन्ता अमेरिकाको थियो।
युद्ध अन्त्य गर्न र स्ट्रेट अफ हर्मुज खोल्न प्रयास गरिरहँदा इसराइलले इरानका शीर्ष वार्ताकारहरूको हत्या गर्न खोज्ने अमेरिकालाई डर थियो भनेर उच्च अमेरिकी अधिकारीहरूको हवाला दिँदै द वासिंटन पोस्टले लेखेको छ।
यसअघि इरानको सर्वोच्च सुरक्षा परिषद्का तत्कालीन सचिव अलि लरिजानीको हत्याप्रति पनि अमेरिका असन्तुष्ट थियो।
मारिनुभन्दा केही महिनाअघिदेखि इरानको शासन लरिजानीले चलाएको मानिन्थ्यो। गत डिसेम्बरको अन्त्यतिर विरोध प्रदर्शन व्यापक रूपमा फैलिन थालेपछि त्यसलाई दबाउन तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले लरिजानीलाई खटाएको मानिन्छ।
लरिजानी मारिएपछि गालिबाफ इरानको सबभन्दा शक्तिशाली अधिकारी बनेको मानिन्छ। शान्ति सम्झौताको लागि वार्ता गरिरहेका गालिबाफलाई पनि इसराइलले हत्या गर्ला भनेर अमेरिका चिन्तित बनेको हो।
यसअघि इरानसँगको शान्ति सम्झौतामा काम गरिरहेका अमेरिकी वार्ताकारमाथि इसराइलले जासुसी गरेको समेत अमेरिकाले शंका गरेको थियो।
इसराइलले गोप्य रूपमा अमेरिकी वार्ताकारको कुराकानी सुनेको भन्दै अमेरिकी खुफिया संस्थाहरूले चिन्ता व्यक्त गरेको द न्यूयोर्क टाइम्सले केही समय अघि लेखेको थियो।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त रूपमा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए।
सो युद्धविरामपछि युद्ध अन्त्यका लागि शान्ति सम्झौता गर्न अमेरिका र इरानले वार्ता गरेका थिए। इसराइल संलग्न नरहेको सो वार्तामा इसराइली स्वार्थ विपरीत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्ला भन्ने इसराइललाई चिन्ता थियो।
त्यसैले सो वार्तामा छलफल भएका सर्तहरूका बारेमा थाहा पाउने इसराइलले अमेरिकी अधिकारीमाथि जासूसी गरेको मानिन्छ।
इसराइल र अमेरिकाले खुफिया साझेदारी गरे पनि एक-अर्काको अलि-अलि जासुसी गर्छन् भन्ने दुवैतर्फ थाहा छ। तर इरानसँगको वार्तामा अमेरिकी अडानहरूका बारेमा जानकारी लिने इसराइलको तीव्र प्रयासले सीमा पार गरेको केही अमेरिकी अधिकारीको हवाला दिँदै टाइम्सले लेखेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)