इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम शोकयात्रा लाखौं नागरिकहरू सहभागी भएका छन्।
सार्वजनिक शोकयात्राका लागि सोमबार अन्तिम दिन हो।
शुक्रबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमअन्तर्गत तेहरानमा विदेशी उच्च अधिकारी तथा प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यसपछि दुई दिनसम्म ग्रान्ड मुसल्लामा सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जलीको व्यवस्था गरिएको थियो।
आइतबार त्यहीँ वरिष्ठ इरानी अधिकारीहरूको उपस्थितिमा खामेनी र उनका परिवारका सदस्यहरूको अन्तिम प्रार्थना सम्पन्न भएको थियो।
सर्वसाधारणका लागि श्रद्धाञ्जली दिन तोकिएको अन्तिम दिनमा अझै धेरै मानिसहरुको सहभागिता रहेको इरानी सञ्चारमाध्यम तस्निम न्युजले जनाएको छ।
बेलायती पत्रिका गार्डियनले पनि दसौं लाख मानिसहरू अन्तिम शोक यात्रामा सहभागी भएको भनेर समाचार लेखेको छ।
अमेरिकी समाचार संस्था एसोसियटेड प्रेसले खामेनीको शोक यात्रामा सहभागी हुनेको संख्या सन् २०२० मा कासिम सुलेमानीको अन्त्येष्टिभन्दा पनि ठूलो हुन सक्ने टिप्पणी गरेको छ।
अन्य अन्तर्राष्ट्रिय मिडियाहरूले अन्त्येष्टिमा अत्यन्त विशाल भिड देखिएको भनेका छन्।
सोमबार बिहानैदेखि दमावन्द सडक, इमाम हुसेन स्क्वायर, इन्केलाब सडक, अजादी सडक, अजादी स्क्वायर र शाहिद लश्करी राजमार्ग हुँदै लाखौं मानिस शोकयात्रामा सहभागी हुन सडकमा ओर्लिएका थिए।
अत्यधिक भीडका कारण खामेनीको शव बोकेको सवारी तेहरानको अजादी स्क्वायरमा केही समय रोकिएको छ।
सोमबार अन्तिम शोकयात्रा पश्चात अन्त्येष्टि कार्यक्रम इरानको पवित्र सहर कोम र त्यसपछि छिमेकी इराकका शिया धर्मावलम्बीका प्रमुख धार्मिक सहर नजफ र करबलामा जारी रहनेछ।
बिबिसीले यो केवल अन्त्येष्टि नभई इरानी नेतृत्वले सावधानीपूर्वक आयोजना गरेको राजनीतिक सन्देशसमेत भएको भनेको छ।
नयाँ नेतृत्वले लाखौं शोकाकुल नागरिकको सहभागितामार्फत इरान अझै बलियो र प्रतिरोधका लागि प्रतिबद्ध रहेको सन्देश देशभित्र र बाहिरी विश्वलाई दिन खोजेको विश्लेषण बिबिसीले गरेको छ।
कार्यक्रमअनुसार मंगलबार शवयात्रा कोम पुग्नेछ भने बुधबार नजफ र करबलामा श्रद्धाञ्जली कार्यक्रम हुनेछ। त्यसपछि बिहीबार खामेनीको पार्थिव शरीर मशहदस्थित इमाम रेजाको पवित्र समाधिस्थल नजिक अन्त्येष्टि गरिनेछ।
आयतोल्लाह अली खामेनीको फेब्रुअरी २८, २०२६ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो।
त्यसयता इरानभर शोकसभा र श्रद्धाञ्जली कार्यक्रम सञ्चालन भइरहेका छन्। सोमबारको शोकयात्रामा सहभागी धेरैले रातो झण्डा बोकेका थिए, जसलाई खामेनीको हत्याको प्रतिशोधको प्रतीकका रूपमा हेरिएको छ।