अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानलाई फेरि सामुद्रिक नाकाबन्दी लगाउने र स्ट्रेट अफ हर्मुज प्रयोग गरेबापत भाडा उठाउने घोषणा गरेका छन्।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि १४ बुँदे समझदारीपत्र (एमओयू) मा झण्डै चार हप्ताअघि हस्ताक्षर भए पनि पछिल्ला दिनमा दुई देशले एक-अर्कालाई आक्रमण गरिरहेका छन्।
यस्तो बेलामा फक्स टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले सोमबार बिहान त्यसो भनेका हुन्।
'हामी यस जलमार्गको रक्षक बन्नेछौँ। इरानमाथि कडा प्रहार गर्नेछौं र यो जलमार्गलाई आफ्नो नियन्त्रणमा राखेर सम्भवतः यसलाई आफै चलाउनेछौँ,' उनले भने।
सो अन्तर्वार्तापछि ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउने बताए।
'अन्य सबै देशहरूले यस जलमार्गको निष्पक्ष र खुला रूपमा प्रयोग गर्न पाउनेछन्,' उनले भने, 'विश्वको यो अत्यन्तै संवेदनशील क्षेत्रमा सुरक्षा र स्थिरता प्रदान गर्ने कार्यका लागि आवश्यक सम्पूर्ण खर्चबापत अमेरिकालाई ढुवानी हुने सबै कार्गोमा २०% को दरले भुक्तानी गरिनेछ।'
ट्रम्पले यसका लागि प्रक्रिया तत्काल सुरू हुने बताए।
'हामीले ५० वर्षसम्म यस जलमार्गको रक्षा गर्यौँ तर कहिल्यै यसको पैसा पाएनौँ,' ट्रम्पले फक्समा भने, 'हाम्रा सैनिकलाई खतरामा राखेबापत हामी यसको शोधभर्ना चाहन्छौँ।'
इरानी सरकारी सञ्चार माध्यमले शनिबार सो जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको थियो। ट्रम्पले पछि त्यसलाई अस्वीकार गरे। उनले आइतबार सो जलमार्ग खुला रहेको र दाबी गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)