१२ वर्षदेखि जारी रूद्रमती सरसफाइ अभियानअन्तर्गत अहिलेसम्म झन्डै ८ मेट्रिक टन फोहोर संकलन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बागमती नदीका मुख्य सहायक नदीमध्ये एक रूद्रमती अर्थात् धोबीखोलाको स्वच्छताका लागि २०७० सालबाट सरसफाइ अभियान सुरू भएको थियो।
नदी सफाइ अभियान १२ वर्ष पूरा भएको अवसरमा आइतबार काठमाडौंमा आयोजित 'रूद्रमती स्मारिका' विमोचन तथा सम्मान समारोहमा दिइएको जानकारी अनुसार अहिलेसम्म यो अभियानबाट ७ हजार ७६० टन फोहोर निकालिएको छ। यो काममा २ लाख ८७ हजार स्वयंसेवी परिचालन भएका छन्।
शिवपुरी जंगलमा मुहान रहेको रूद्रमतीले बागमती नदीमा मिसिँदासम्म ७.५८ किलोमिटर दुरी पार गर्छ। यो दुरीलाई १० खण्डमा विभाजन गरेर सरसफाइ गरिएको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले अभियानमार्फत प्रकृतिको सम्मान गर्ने सोच निर्माणमा ठूलो योगदान पुगेको बताइन्।
'अभियान थालनी हुनु महत्त्वपूर्ण थियो। त्यो अभियान १२ वर्षसम्म निरन्तर चल्नु झनै महत्त्वपूर्ण कुरा हो। अभियानलाई निरन्तरता दिन अभियन्ताहरूले गर्नुभएको योगदान अतुलनीय छ,' उनले भनिन्।
नदी सरसफाइका लागि काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत जनशक्ति लिएर काम गरिरहेको उनले जानकारी दिइन्।
कार्यक्रममा रूद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले अभियानमार्फत नदीको स्वच्छतामा ठूलो परिवर्तन आएको अनुभव सुनाए।
समाजका सचिव धनप्रसाद आचार्य (ध्रुव) ले नदी सफाइ अभियान २०७० फागुन ३ गते साविक कपन गाउँपालिका (हाल बुढानीलकण्ठ नगरपालिका) र काठमाडौं महानगरपालिकाको सिमानाबाट थालिएको जानकारी दिए।
काठमाडौं महानगरद्वारा सञ्चालित 'मेट्रो न्यूज' का अनुसार यो सरसफाइ अभियानका कारण अहिले रूद्रमती नदीको धमिलो पानी सङ्लो हुँदै गएको छ। नदीबाट कम मात्र दुर्गन्ध आउँछ। किनारामा रोपिएका फूलले दृश्यात्मक सुन्दरता बढाएको छ।
नदीको मुहानदेखि भंगालसम्म, भंगालदेखि बालुवाखानीसम्म, बालुवाखानीदेखि निलो पुल चखुञ्चासम्म, निलो पुल चखुञ्चादेखि गोपीकृष्ण पुलसम्म, गोपीकृष्ण पुलदेखि पहेँलो पुलसम्म, पहेँलो पुलदेखि कालो पुलसम्म, कालो पुलदेखि सेतो पुलसम्म, सेतो पुलदेखि देवीनगर पुलसम्म, देवीनगर पुलदेखि सिम्रिक पुलसम्म, सिम्रिक पुलदेखि बागमती दोभानसम्म १० खण्ड विभाजन गरेर हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म सबै खण्डको सफाइ हुने गरेको छ।
सरसफाइ अभियान सुरू हुँदा तत्कालीन कपन गाउँ विकास समिति र महानगरको सिमानासम्म पहिलो खण्ड, त्यहाँदेखि कालो पुलसम्म दोस्रो खण्ड, कालो पुलसम्म सेतोपुलसम्म तेस्रो खण्ड र सेतो पुलदेखि बागमती धोबीखोला दोभानसम्म चौथो खण्ड बनाएर सफाइ थालिएको थियो। यसलाई प्रभावकारी बनाउन पछि १० खण्ड बनाइएको हो।
तस्बिर स्रोत: काठमाडौं महानगरपालिका



