नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीका कारण पुल बगेपछि आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ।
ओहोरदोहोर गर्ने पक्की र झोलुंगे पुल बगाएपछि विदुर नगरपालिका–३ र ५ का नागरिकलाई त्रिशूली नदी वारपार गर्न कठिनाइ भइरहेको थियो।
स्थानीयको समस्यालाई मध्यनजर गर्दै शुक्रबार साँझ करिब ५ बजेदेखि तुइन सञ्चालनमा आएको विदुर–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।
उनका अनुसार तुइनले विदुर नगरपालिका–३ का नागरिकलाई प्रत्यक्ष रूपमा वारिपारि गर्न सहज हुनेछ भने वडा नम्बर ५, ९ र १२ लगायत क्षेत्रका नागरिकलाई समेत आवतजावतमा सहयोग पुग्नेछ।
यो तुइनबाट आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ।
संघ र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकार र स्थानीयको पहलमा तुइन हालिएको हो। देवीघाट बजार आउजाउ गर्ने गरी हालिएको यो पुल करिब १ सय ८० मिटर लम्बाइको छ।
बाढीबाट क्षतिग्रस्त क्षेत्रमा नागरिकको दैनिक आवतजावत सहज बनाउन पुललगायतका आवश्यक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यवस्था तीव्र रूपमा अघि बढिरहेको उनले बताए।
देवीघाटको मुख्य बजारलाई जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गतको पुल समेत बाढीले ध्वस्त बनाएपछि उक्त स्थानमा बेलिब्रिज निर्माणको कामसमेत सुरु भइसकेको न्यौपानेले जानकारी दिए।
केही दिनभित्रै स्थायी बेलिब्रिज सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
यसअघि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । उक्त तुइन २ सय ५५ मिटर लम्बाइको छ।
-1788529924.jpg)
-1788529924.jpg)
-1788529924.jpg)
-1788529924.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी