रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ तत्काल राहत दिइने भएको छ।
सशस्त्र प्रहरी बल, नेपालले बाढीमा ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई सरकारी मापदण्डअनुसारको रकमसँगै संगठनका राष्ट्रसेवकबाट समेत सहयोग जुटाएर उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्।
सशस्त्र प्रहरीले मृतक कर्मचारीका परिवारले कल्याण कोषबाट लिएको ऋण मिनाहा गर्ने तथा उनका सन्तानलाई कक्षा १० सम्म नेपाल एपिएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको छ।
परिवारका एक सदस्यलाई सीपमूलक तालिम दिने र उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ।
बाढीबाट ज्यान जोगाउन सफल ५ जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिइनेछ।
त्यस्तै, बाढीमा ज्यान गुमाउने बहालवाला कर्मचारीका परिवार तथा प्रभावित अवकाशप्राप्त कर्मचारीको मृत्यु वा घरबारविहीन भएको अवस्थामा १ लाख रुपैयाँसम्म र घाइते भएमा ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइनेछ।
सशस्त्र प्रहरीले विपद्को यस घडीमा आफ्ना कर्मचारीको ३ देखि १५ दिनसम्मको तलब योगदान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ।
नेपाल प्रहरीले पनि बाढीमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारलाई नियमावलीअनुसार पाइने सेवा–सुविधाबाहेक थप १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
यस्तै भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार र मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
भोटेकोशी बाढीमा अग्रपंक्तिमा रहेर खोज तथा उद्धारमा खटिएको नेपाली सेनाले भने आफ्ना कर्मचारी तथा परिवारका लागि राहत सम्बन्धी निर्णय गर्न बाँकी छ।