कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
धादिङको गल्छी गाउँपालिका–६ मा अहिले बाढीपीडितका लागि सबभन्दा ठूलो खाँचो 'खानेपानी' हो।
भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले वडाको खानेपानी प्रणाली छिन्नभिन्न पारेपछि पानीको आपूर्तिलाई पुरानै अवस्थामा फर्काउन अझै करिब ९–१० दिन लाग्ने अनुमान छ।
'पानी अझै १० दिन जति चाहिएला। राहतमा पानीका जारहरू आए हामीलाई सजिलो हुन्थ्यो,' वडाध्यक्ष दीपक कार्कीले सेतोपाटीसँग भने।
खानेपानी अभावले वडाका सबै बासिन्दा प्रभावित छन्। तर बाढीले घर नै गुमाएका परिवारका लागि समस्या अझ गम्भीर छ।
भदौ १० को बाढीले गल्छी–६ मा करिब ४० घरमा क्षति पुर्याएको थियो। तीमध्ये १५–१६ घर बाढीले पूर्ण रूपमा बगाएर लगेका छन्। बाँकी २५–२६ घरमा आंशिक क्षति पुगेको छ।
यी घरमा बस्ने परिवारसँगै भाडामा बसिरहेका परिवार पनि प्रभावित भएका छन्।
घर छैन, अस्थायी आश्रय चाहिएको छ
बाढीपछि प्रभावित परिवारलाई केही समय होल्डिङ सेन्टरमा राखिएको थियो। अहिले उनीहरू त्यहाँबाट निस्किसकेका छन्।
आंशिक क्षति भएका घरहरू सफा गरेर केही परिवार आफ्नै घरमा फर्किएका छन्। केही आफन्तको घरमा बसेका छन्। केही गाउँमै फर्किए पनि बस्ने ठाउँ नभएपछि स्थानीयका खाली गोठमा अस्थायी रूपमा बसिरहेका छन्।
यही कारण अहिले वडालाई अर्को महत्त्वपूर्ण राहत सामग्रीका रूपमा 'टेन्ट' चाहिएको छ।
'५०–६० घरलाई पुग्ने टेन्ट भए आफन्तको घरमा शरण लिएका वा गोठमा बसेका परिवारलाई अर्को व्यवस्था नभएसम्म राख्न सकिन्थ्यो,' कार्कीले भने।
उनका अनुसार अहिले वडालाई करिब ६० वटा टेन्ट आवश्यक छ।
यसअघि विभिन्न संघ–संस्था तथा व्यक्तिगत रूपमा प्राप्त राहत सामग्री वडाले एकद्वार प्रणालीमार्फत वितरण गरेको थियो। राहत सामग्री प्रभावित परिवारको आवश्यकताका आधारमा वितरण गरिएको कार्की बताउँछन्।
'आज ग्यास चुलो बाँड्नु छ। चुलो नै बगाएका परिवार कति छन्, पत्ता लगाएर बाँड्नु छ,' उनले भने, 'यसरी नै आएका सामग्री हामीले आवश्यकताका आधारमा सबैलाई बाँडिदिएका छौं।'
उनका अनुसार खाद्यान्न, लत्ताकपडा र औषधिजस्ता तत्काल आवश्यक सामग्री अहिले पर्याप्त भइसकेका छन्। त्यसैले राहतको प्राथमिकता बदलिएको छ— अब पानी, अस्थायी आश्रय र पुनर्स्थापना यहाँको आवश्यकता हो।
पहिलो दिनदेखि नै राहत व्यवस्थापन
बाढी आएको दिन दिउँसो २ बजेदेखि नै वडा कार्यालय प्रभावित परिवारको व्यवस्थापनमा जुटेको कार्की बताउँछन्।
उनका अनुसार बाढी आउनुभन्दा करिब ५४–५५ मिनेटअघि नै जोखिमबारे जानकारी पाएपछि नदी तटीय क्षेत्रमा माइकिङ गरिएको थियो। मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान स्थानीय साधनसमेत प्रयोग गरिएको थियो।
'बाढी आउनुभन्दा ५४–५५ मिनेट अगाडि नै थाहा पाएकाले माइकिङ गर्ने, कराउने तथा बाइक र गाडीमा ओसारेर बेलैमा उद्धार गरेकाले कुनै मानवीय क्षति हुन पाएन,' उनले भने।
बाढी आएको दिन नै वडा कार्यालयले प्रभावित परिवारलाई तत्काल नगद राहत दिने निर्णय गरेको थियो।
'प्रभावितहरूको व्यवस्थापनका लागि हामीले पहिलो दिन अर्थात् भदौ १० गते दिउँसो २ बजे नै बैठक बसेर पीडितहरूलाई तत्काल प्रतिघर १० हजार रूपैयाँ नगद राहत दिने निर्णय गर्यौं,' उनले भने, '११ गते घरघरै पुगेर ६२ घरपरिवारलाई नगद वितरण गर्यौं।'
भदौ १३ गते बिहान वडा कार्यालयले बैठक बसेर प्राप्त राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था मिलाएको कार्कीले बताए।
उनका अनुसार तत्कालीन राहत र उद्धारको चरण अहिले लगभग सकिएको छ।
तर बाढीले भत्काएको जीवनलाई अब कहाँ र कसरी पुनर्स्थापित गर्ने भन्ने ठूलो प्रश्न बाँकी छ।
राहतपछि पुनर्स्थापनाको प्रश्न
कार्कीका अनुसार बाढीमा परेका ४० वटै घर जोखिममा छन्। १५–१६ घर पूर्ण रूपमा बगिसकेका छन् भने बाँकीमध्ये पनि धेरै घर बस्न नमिल्ने अवस्थामा छन्।
त्यसैले अब टेन्ट र पानीले मात्र समस्या समाधान हुँदैन। घर गुमाएका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर स्थायी आवासको व्यवस्था गर्नुपर्ने अवस्था छ।
'घर गुमेकाहरूलाई अर्को ठाउँमा सारेर घर नै दिनुपर्ने हो। पुनर्वास/स्थानान्तरण गराउन स्थानीय सामर्थ्यले सक्दैन,' कार्कीले भने, 'त्यसैले दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर संघीय सरकारको पर्खाइमा छौं।'
उनका अनुसार केही दाता घर बनाइदिन तयार भएर आएका छन्। तर घर बनाउने ठाउँ अर्थात् सुरक्षित जग्गा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहको क्षमताभन्दा बाहिर छ।
'हामी घर बनाइदिन्छौं भन्ने दाताहरू आएका छन्, तर जग्गा देखाउन हामीले सक्दैनौं,' उनले भने।
गल्छी–६ मा बाढीपछि राहतको आवश्यकता यसरी बदलिएको छ — पहिलो दिन 'उद्धार र नगद राहत', त्यसपछि 'खाद्यान्न, कपडा र औषधि', अहिले 'खानेपानी र अस्थायी आश्रय'।
तर यो चरण पनि लामो समय टिक्ने समाधान होइन।
बाढीले घर नै बगाएको परिवारका लागि अन्ततः चाहिने राहत भनेको 'सुरक्षित ठाउँमा स्थायी घर र पुनर्स्थापना' हो।
(बाढी प्रभावित गल्छी गाउँपालिका–६ मा खानेपानी र अस्थायी आवासका लागि टेन्ट सहयोग गर्न चाहनेले वडाध्यक्ष दिपक कार्कीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9851036684)
यो पनि पढ्नुहोस्: