शरीरका अंगहरूमध्ये घुँडामा सबैभन्दा धेरै चोटपटक लाग्ने भएकाले त्यसलाई सामान्य रूपमा लिएर बेवास्ता गर्नु हुँदैन।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सुनिल सिंह थापाका अनुसार घुँडामा सडक दुर्घटना, रूखबाट लड्दा, खेलकुदका क्रममा तथा दैनिक काम गर्दा समेत चोट लाग्न सक्छ। विशेषगरी फुटबल खेल्दा घुँडाको लिगामेन्ट, मेनिस्कस (घुँडाको कुशन) तथा कोल्याट्रल लिगामेन्टमा चोट लाग्ने समस्या धेरै देखिन्छ।
यद्यपि घुँडामा चोट लाग्नका लागि अनिवार्य रूपमा दौडिनु वा लड्नु नै आवश्यक हुँदैन। सामान्य रूपमा उठ्दा, बस्दा, सानो भारी उठाउँदा वा घुँडा बटारिँदा पनि घुँडाभित्र रहेको कुशनमा चोट लाग्न सक्ने उनको भनाइ छ।
'धेरै बिरामीले सुरूआती अवस्थामा चोटलाई सामान्य मर्काइ ठानेर बेवास्ता गर्ने, ब्यान्डेज बाँध्ने, मालिस गर्ने वा दुखाइ कम गर्ने औषधि खाएर बस्ने प्रवृत्ति देखिन्छ। कतिपय अवस्थामा बिरामीलाई आफूमाथि के समस्या भइरहेको छ भन्ने जानकारी नै हुँदैन र परीक्षणपछि मात्र वास्तविक समस्या पत्ता लाग्छ,' उनले भने।
उनका अनुसार घुँडामा चोट लागेपछि सबैभन्दा पहिले आराम दिनुपर्छ।
आइसप्याकले सेक्ने, आवश्यक परे सानो ब्यान्डेज वा निक्याप प्रयोग गर्ने तथा घुँडा धेरै दुखेको वा सुन्निएको अवस्थामा बैसाखीको सहारा लिएर हिँड्ने र चिकित्सकको परामर्श लिनुपर्छ।
घुँडाको हड्डीमाथि रहेको चिप्लो सुरक्षात्मक तह (कार्टिलेज) उमेर र विभिन्न रोगका कारण बिस्तारै घिस्रिँदै जाँदा भित्रको हड्डी देखिन थाल्छ र त्यसपछि पीडा सुरू हुन्छ। त्यसैले घुँडा खिइनु भनेको हड्डी आफै खिइनु नभई त्यसलाई जोगाउने सुरक्षात्मक तह जीर्ण हुँदै जानु हो।
डा. थापाका अनुसार घुँडा धेरै प्रयोग गर्नु, पटक–पटक चोट लाग्नु, धेरै तौल उठाउनु, घुँडामा बढी दबाब पर्ने काम गर्नु, टुक्रुक्क वा पलेँटी मारेर लामो समय बस्नु तथा मोटोपना घुँडा खिइने प्रमुख कारण हुन्।
यो समस्या पुरूषको तुलनामा महिलामा बढी देखिने उनको भनाइ छ। दैनिक घरधन्दा, घुँडा खुम्च्याएर बस्ने बानी तथा शरीरको बनावटका कारण महिलामा यसको जोखिम बढी रहने उनको तर्क छ।
घुँडा खिइँदै जाँदा भर्याङ चढ्न रेलिङको सहारा चाहिने, शौचालय वा बाथरूममा बसेर उठ्न कठिन हुने, बारम्बार पेनकिलर खानुपर्ने, घुँडाबाट असामान्य आवाज आउने, घुँडा दोबारेर बस्न नसकिने तथा घुँडाको आकार परिवर्तन भई खुट्टा बाङ्गिएको जस्तो देखिने लक्षणहरू देखिन सक्ने डा. थापाले बताए।
'समयमै परीक्षण गराएर आवश्यक सावधानी अपनाए घुँडा खिइने समस्यालाई नियन्त्रण गर्न सकिन्छ। समस्या कति छ भन्ने आधारमा यसको उपचार गरिन्छ। उपचारमा फिजियोथेरापी, तौल घटाउने, सन्तुलित भोजन, निक्यापको प्रयोग, घुँडामा इन्जेक्सन दिने तथा दैनिक जीवनशैलीमा सुधार गर्ने उपाय अपनाइन्छ,' उनले भने।
उनका अनुसार भर्याङ कम चढ्ने र सहज हुने जुत्ता प्रयोग गर्दा पनि घुँडामा पर्ने दबाब कम गर्न सकिन्छ। घुँडा खिइने समस्या जटिल अवस्थामा पुगेमा घुँडाको जोर्नी प्रत्यारोपण गर्न सकिन्छ।
घुँडा प्रत्यारोपण गर्ने निर्णय बिरामीको आर्थिक अवस्था, स्वास्थ्य अवस्था तथा चिकित्सकीय मूल्यांकनका आधारमा गरिने उनले स्पष्ट पारे।
यदि प्रत्यारोपण सम्भव नभए लठ्ठीको प्रयोग, निक्याप, फिजियोथेरापी तथा आवश्यक परे पेनकिलर औषधिबाट उपचार गरिने उनले बताए।
घुँडाको जोर्नी खिइँदैमा सबैले प्रत्यारोपण गर्नुपर्ने अवस्था नहुने भन्दै उनले चिकित्सकीय परीक्षणपछि मात्र प्रत्यारोपण आवश्यक छ वा छैन भन्ने निर्णय लिइने बताए।
उनका अनुसार प्रत्यारोपणपछि घुँडा पहिलाकै जस्तो नहुने भए पनि दुखाइ उल्लेखनीय रूपमा कम हुने, सहज रूपमा हिँडडुल गर्न सकिने र पीडारहित जीवन बिताउन मद्दत पुग्छ।