नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण सम्पन्न भएको छ।
नेपाली सेनाले काम सुरू गरेको पाँच दिनमा बुधबार बेलुकी एक्रो बेली ब्रिज निर्माण सम्पन्न गरेको हो।
गृहमन्त्री सुधन गुरूङले निर्माण सम्पन्न भएको आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन्।
प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले पनि पुल निर्माण सम्पन्न भएको बताएकी छन्।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला हुने र भोलिदेखि सवारी साधनहरू सञ्चालनमा आउने दाहालले बताएकी छन्।
भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाटको पक्की पुल बगाइदिएको थियो।
पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात पूर्ण रूपमा विच्छेद भएको थियो।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।