ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ६ जना घाइते छन्।
बिहीबार बिहान करिब साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बस फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा २ ख ३५९० नम्बरको बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बसमा यात्रा गरिरहेकी करिब ४० वर्षकी यात्रुको मृत्यु भएको छ। उनको पहिचान खुलिसकेको छैन।
उनकाअनुसार घाइते भएका ६ जनालाई बि एण्ड बी अस्पतालमा लगिएको छ। घाइतेमध्ये २ जना पुरूष र ४ जना महिला छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ। ‘तीव्र गतिमा गाडी चलाउँदा भित्तामा ठोक्किन पुगेको देखिन्छ,’ उनले भने।
गाडीका चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।