अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आफूमाथि महाअभियोग प्रस्ताव पेस भएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका छन्।
मंगलबार पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरे। महाअभियोग प्रस्तावलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले आफूलाई हटाउन खोज्नेहरूलाई चुनौतीसमेत दिए।
‘उनीहरू सैनिकविरूद्ध लाग्न चाहन्छन् भने पहिले मेरो सामना गर्नुपर्नेछ,’ हेगसेथले भने।
रिपब्लिकन सांसद थोमस मासीले सोमबार उनीविरुद्ध महाअभियोगका आठवटा अभियोग पेस गरेका थिए। त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरेका हेगसेथले मासीको कदमलाई राजनीतिक तमासा र व्यक्तिगत कुण्ठाको उपज बताए।
‘यो निगरानी पनि होइन, जवाफदेहिता पनि होइन। यो राजनीतिक तमासा हो, व्यक्तिगत अहंकार र कुण्ठाबाट प्रेरित अभिव्यक्ति हो,’ उनले भने।
रोयटर्सका अनुसार हेगसेथविरुद्ध संसद्को स्वीकृतिबिना इरानमाथि युद्ध सञ्चालन गर्न आदेश दिएको, शक्तिको दुरुपयोग गरेको र अमेरिकी सैनिकको सुरक्षालाई जोखिममा पारेको लगायतका आरोप लगाइएको छ।
तर हेगसेथले यी आरोपलाई महाअभियोग लगाउनुपर्ने अपराध नभई नीतिगत असहमति मात्रै भएको दाबी गरे। नीतिगत असहमतिको समाधान संसद्मा छलफल र निर्वाचनमार्फत खोजिनुपर्ने उनको भनाइ थियो।
उनले इरानमाथिको युद्धसहित ट्रम्प प्रशासनले सञ्चालन गरेका सैन्य कारबाहीको पनि बचाउ गरे। ती अभियान सञ्चालन गरेकोमा आफूलाई गर्व रहेको र फेरि त्यस्तै निर्णय लिनुपर्ने अवस्था आए पछि नहट्ने उनले बताए।
गत फेब्रुअरीमा अमेरिकाले इरानमाथि युद्ध सुरु गरेपछि त्यसको औचित्य र कानुनी आधारमाथि प्रश्न उठ्दै आएको छ। युद्धका कारण इन्धनको मूल्य बढेको र सर्वसाधारणको जीवनयापन महँगिएको भन्दै ट्रम्प प्रशासनको आलोचना भइरहेको छ। गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाउनुमा पनि इरान युद्ध एउटा प्रमुख कारण बनेको थियो।
उपराष्ट्रपति जेडी भान्सले समेत इरान युद्धलाई निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको एउटा कारण बताएका थिए। तर हेगसेथले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न सैन्य कारबाही आवश्यक रहेको दाबी गरे।
एसोसिएटेड प्रेस (एपी) का अनुसार हेगसेथले महाअभियोग प्रस्तावलाई आफूविरुद्ध मात्रै नभई अमेरिकी सेनाविरुद्धकै कदमका रूपमा प्रस्तुत गरेका थिए। उनका अनुसार यस्तो प्रस्तावले सैनिकको मनोबल कमजोर पार्नुका साथै अमेरिकाका विरोधीलाई सैन्य अभियानमाथि प्रश्न उठाउने अवसर दिन्छ।
न्युयोर्क टाइम्सका अनुसार उनी विरुद्धका अभियोगमा इरानमाथिको युद्धसँगै लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेका डुंगामाथि गरिएका घातक अमेरिकी सैन्य आक्रमण पनि समेटिएका छन्।
ती आक्रमणमा सर्वसाधारणको ज्यान जोगाउनुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको आरोपसमेत लगाइएको छ। हेगसेथले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।
पत्रकार सम्मेलन सकिएको केही मिनेटमै राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत हेगसेथको बचाउ गरेका थिए। उनले हेगसेथले महाअभियोगको जवाफ राम्रोसँग दिएको भन्दै प्रशंसा गरेका थिए।
महाअभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भए पनि हेगसेथलाई पदबाट हटाउन सिनेटमा दुईतिहाइ मत आवश्यक पर्छ। सिनेटमा रिपब्लिकन पार्टीको बहुमत रहेकाले उनलाई पदमुक्त गर्ने प्रक्रिया सहज छैन।
पदमा कायम रहलान्?
महाअभियोग यसै साता अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
मासीले हेगसेथमाथि संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध अघि बढाएको र अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन्।
उनले सिनेटर मार्क केलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको आरोपसमेत लगाएका छन्।
मासीले प्रतिनिधिसभामा विशेष प्रक्रियाअन्तर्गत प्रस्ताव पेस गरेकाले सभामुख माइक जोन्सनले अब दुई कार्यदिवसभित्र त्यसलाई मतदानमा लैजानुपर्ने हुन्छ।
तर उनले प्रस्तावलाई समितिमा पठाउन वा मतदानबाटै रोक्न पनि सक्छन्। मतदान भए प्रतिनिधिसभामा साधारण बहुमतले प्रस्ताव पारित गर्न सक्छ।
प्रतिनिधिसभाबाट प्रस्ताव पारित हुँदैमा हेगसेथ पदबाट हट्ने भने होइनन्।त्यसपछि प्रस्ताव सिनेटमा पुग्छ, जहाँ उनीमाथि सुनुवाइ हुन्छ।
सिनेटमा उपस्थित सदस्यको दुईतिहाइ मतले दोषी ठहर गरे मात्रै उनलाई पदबाट हटाउन सकिन्छ।
सिनेटमा रिपब्लिकन पार्टीका ५३ सदस्य रहेकाले त्यहाँबाट दोषी ठहर हुने सम्भावना न्यून देखिन्छ।
सिनेटले सुनुवाइअघि नै प्रस्ताव खारेज गर्ने वा समितिमा पठाउने विकल्प पनि राख्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हेगसेथको बचाउ गरेका छन्।
‘उनले दुई युद्ध जितेका छन्। उनलाई महाअभियोग कसरी लगाउन मिल्छ?,’ पत्रकारहरूसँग कुराकानीमा ट्रम्पले भने।
ट्रम्पले महाअभियोग प्रस्ताव अघि बढे पनि आफू हेगसेथको साथमा रहने बताएका छन्।
तर हेगसेथविरुद्धको प्रस्ताव केवल विपक्षी डेमोक्र्याटहरूको असन्तुष्टिमा सीमित छैन।
आफ्नै रिपब्लिकन पार्टीका नेताहरूले पनि उनको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। त्यसकारण पनि उनको महाअभियोग प्रक्रिया अघि बढ्न सक्ने सम्भावना पनि रहन्छ।
गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि इरान युद्धको निर्णय र त्यसको परिणामको जिम्मेवारी कसले लिने भन्ने बहस चर्किएको छ।
यो युद्धमा हेगसेथको भूमिका सुरुदेखि नै विवादमा थियो।
इसराइलसँग मिलेर अमेरिकाले गत फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गर्दा ट्रम्पले युद्ध चारदेखि पाँच सातामै सकिने बताएका थिए। रक्षामन्त्री हेगसेथ पनि सैन्य अभियान छिट्टै र निर्णायक रूपमा सफल हुने पक्षमा थिए।
तर युद्ध लम्बियो। इरानले होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि विश्व ऊर्जा आपूर्तिमा असर पर्यो। अमेरिकाले पनि अपेक्षा गरेभन्दा बढी सैन्य तथा आर्थिक दबाब सामना गर्नुपर्यो। अन्ततः यही युद्धलाई मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको प्रमुख कारणमध्ये एक मानिएको छ।
हेगसेथले ट्रम्पलाई युद्धमा कसरी साथ दिएका थिए भन्नेबारे अमेरिकी सञ्चारमाध्यमले यसअघि नै विवरण सार्वजनिक गरेका थिए।
सिएनएनले गत मार्च ३१ मा प्रकाशित गरेको रिपोर्टअनुसार इरानमाथि आक्रमण गर्ने निर्णय लिनुअघि ट्रम्पले सीमित सल्लाहकारसँग छलफल गरेका थिए। त्यस्तो छलफलमा रक्षामन्त्रीले सैन्य कारबाहीका सम्भावित जोखिम र त्यसबाट आउन सक्ने परिणामबारे राष्ट्रपतिलाई जानकारी गराउने अपेक्षा गरिन्छ।
इरानमाथि आक्रमण गर्दा उसले होर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने, त्यसले विश्व अर्थतन्त्रमा असर पार्ने र हवाई आक्रमणबाट मात्रै उसको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न नसकिने जोखिम थिए। तर हेगसेथले यी जोखिमलाई कम आँकेको र ट्रम्पको सैन्य योजनालाई समर्थन गरेको सिएनएनले तीन स्रोतलाई उद्धृत गर्दै लेखेको थियो।
स्रोतहरूले हेगसेथले ट्रम्पलाई युद्ध गर्न उक्साएको भनेका थिएनन्। तर ट्रम्पले आक्रमण गर्ने निर्णय गरेपछि उनी त्यसका सबैभन्दा बलिया समर्थक बनेका थिए।
युद्धको सुरुआती रणनीतिले अपेक्षित परिणाम दिन नसकेपछि अमेरिकी सैन्य नेतृत्वले पनि प्रश्न उठाउन थालेको थियो।
एक्सियसले नोभेम्बर ५ मा प्रकाशित गरेको विश्लेषणमा प्रशासनका अधिकारीलाई उद्धृत गर्दै सेन्ट्रल कमान्डले इरानमाथि दबाब सिर्जना गर्ने नयाँ उपाय खोज्न थालेको उल्लेख गरेको छ।
हेगसेथले सुरुमा प्रस्तुत गरेको रणनीतिले अपेक्षित परिणाम नदिने कुरा कहिले महसुस गरे भन्ने प्रश्नसमेत सैन्य नेतृत्वमा उठेको थियो।
मध्यावधि निर्वाचनपछि युद्धको राजनीतिक जिम्मेवारीबारे बहस थप चर्किएको छ। उपराष्ट्रपति जेडी भान्सले पनि युद्धलाई चुनावी हारको कारण मानेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘हामीले हार्नुको कारण युद्ध हो।’
रिपब्लिकन सिनेटर थोम टिलिसले त हेगसेथलाई रक्षामन्त्रीका रूपमा समर्थन गरेको आफ्नो निर्णयलाई जीवनकै ठूलो पश्चात्ताप भनेका छन्।
उनले हेगसेथले आफ्नो कामको हिसाब दिनुपर्ने बताएका छन्।
डेमोक्र्याटिक पार्टीले पनि नयाँ संसद् सुरु भएपछि हेगसेथको युद्ध सञ्चालन, सैन्य नेतृत्वमा गरिएको फेरबदल र अन्य निर्णयमाथि अनुसन्धान गर्ने बताएको छ।
प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले महाअभियोग प्रस्तावको समर्थन गरेका छन्। सिनेटमा अल्पमतका नेता चक सुमरले पनि हेगसेथविरुद्ध सुनुवाइ हुनुपर्ने बताएका छन्।
यसबीच ट्रम्पले आफ्ना सहयोगीसँग हेगसेथलाई पदमा राखिरहने कि हटाउने भन्नेबारे छलफल गरिरहेको विवरण सार्वजनिक भएका छन्।
सीबीएस न्युजका अनुसार ट्रम्पले सहयोगीहरूसँग यसबारे राय मागेका छन्। एनबीसी न्युजले मध्यावधि निर्वाचनअघि नै ट्रम्पले हेगसेथको सम्भावित उत्तराधिकारीबारे सोधेको उल्लेख गरेको थियो।
फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको नाम पनि सम्भावित विकल्पका रूपमा चर्चामा आएको छ।
एक्सियसले हेगसेथको पद जोखिममा पर्नुका कारणमा महाअभियोगको सम्भावना, चुनावी हारको जिम्मेवारी लिनुपर्ने दबाब र नयाँ संसद्मा डेमोक्र्याटहरूले गर्ने अनुसन्धानलाई औँल्याएको छ। उनलाई अर्को पदमा पठाएर विवादबाट बाहिर निकाल्ने विकल्पबारे पनि चर्चा भएको छ।
त्यस्तो विकल्पका रूपमा हेगसेथलाई सिनेटर बनाउने सम्भावनासमेत चर्चामा आएको छ। टेनेसीकी सिनेटर मार्सा ब्ल्याकबर्न गभर्नर बन्ने भएपछि त्यहाँको सिनेट सिट रिक्त हुँदैछ।
हेगसेथको टेनेसीमा घर भएकाले उनलाई उक्त सिटमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको रिपोर्टमा उल्लेख छ। तर यसबारे कुनै ठोस प्रस्ताव सार्वजनिक भएको छैन।
हेगसेथलाई पदबाट हटाउने विषयमा सन् २००६ को एउटा घटना पनि अहिले चर्चामा छ।
इराक युद्धप्रति जनताको असन्तुष्टिका कारण रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा पराजय बेहोरेपछि तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले रक्षामन्त्री डोनाल्ड रम्सफेल्डलाई पदबाट हटाएका थिए। निर्वाचनको परिणाम आएको भोलिपल्टै उनले रम्सफेल्डको ठाउँमा रोबर्ट गेट्सलाई नियुक्त गर्ने घोषणा गरेका थिए।
तर ट्रम्पका लागि हेगसेथलाई हटाउने निर्णय त्यति सहज छैन। इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय स्वयं ट्रम्पले लिएका थिए। त्यसैले हेगसेथलाई मात्रै जिम्मेवार ठहर्याएर हटाउँदा पनि युद्धको निर्णय र त्यसको परिणामबाट ट्रम्प अलग हुन सक्दैनन्।
अर्कोतर्फ, उनलाई पदमा राखिरहँदा आफ्नै पार्टीभित्रको असन्तुष्टि र नयाँ संसद्मा हुन सक्ने अनुसन्धानको सामना गर्नुपर्नेछ।