दाङको तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँका एक युवक मृत फेला परेका छन्।
स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै मृत फेला परेका हुन्। शव छेउमा उनको रा ३ ख ५००४ नम्बरको मोटरसाइकल पनि लडिरहेको अवस्थामा भेटिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले उनको दुर्घटना भएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।
‘मोटरसाइकल छिमेकीको घरको भित्तामा ठोक्किएर सडक किनारमा पल्टिएको जस्तो देखिन्छ,’ डिएसपी पराजुलीले भने, ‘हेलमेट पनि नलगाएकाले दुर्घटनामा परी गम्भीर भएको देखियो।’
उनका अनुसार दुर्घटना बिहीबार राति सवा ११ बजेतिर भएको देखिन्छ। तर कसैले थाहा भने पाएनन्। बिहानीपख मात्रै दुध बेच्ने आउनेहरूले देखेपछि प्रहरीलाई खबर गरिदिएको थियो।
केसी मोटरसाइकलमा पेट्रोल राख्न भनेर घरबाट निस्किएका थिए। सुकौरा पुगेर फर्किने क्रममा घर नजिकै दुर्घटनामा परेका थिए। परिवारका एक्ला सन्तान उनी अटो चलाउँथे।
मृतकको शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।