गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सिमाना भई बग्ने थेराङ खोलामा आज बिहानै करिब साढे ३ बजेतिर अकस्मात लेदोसहित बाढी आयो।
खोलाको मुहान क्षेत्रमा केही समय थुनिएर लेदोसहित बाढी आएको स्थानीयहरूको अनुमान छ।
बाढीले चुमनुब्री वडा नम्बर ४ नाम्रुङ क्षेत्रका चार वटा घरमा क्षति पुर्याएको छ। तीन वटा घर बगाएको छ, एउटा घर भत्काएको छ।
वडाध्यक्ष पेमा ग्यलपो लामाले सेतोपाटीलाई दिएको जानकारीअनुसार बाढीले स्थानीय तीन घर बगायो भने १ घरमा क्षति पुगेको हो।
साथै एउटा जलविद्तयुत आयोजना र झोलुंगे पुलमा पनि क्षति पुगेको छ। यो बाढीले मनास्लु पदमार्गमा पर्ने झोलुंगे पुल बगाएको हो। जसले गर्दा मनास्लु क्षेत्र जाँदै गरेका आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन्।
१०० किलोवाट क्षमताको नाम्रुङ-थेराङखोला लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको उनको भनाइ छ। यो आयोजना करिब ७ करोड लगानीमा बनेको थियो।
‘यो आयोजनाबाट ४० घरघुरीले बिजुली प्रयोग गर्दै आएका थिए, बाढीले आयोजनाको ड्याम फुटेको छ भने आयोजनाको अन्य संरचनामा क्षति पुर्याएको छ,’ वडाध्यक्ष लामाले भने, बिजुली नहुँदा समस्या भएको छ।’
उनले बाढी प्रभावितलाई राहत उपलब्ध गराइने पनि बताए। गाउँपालिका र वडाले घर बगेका स्थानीयलाई त्रिपाललगायत राहत वितरण तयारी गरेका छन्। गाउँपालिका/वडाले प्रति घरधुरी २० हजारका दरले अल्पकालीन राहत दिने तयारी गरेको छ।
उनकाअनुसार नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बाढीले बगाएको छ।
बाढीले घर बगेका अधिकांश मानिस मकै कुर्न बारीमा गएका थिए त्यसैले जोगिए।
वडाध्यक्ष पेमा ग्यलपो लामाका अनुसार अहिले बारीमा मकै छ र स्थानीयहरू मकै कुर्न बारीमा जाने गर्छन्।
‘अहिले बारीमा मकै फलेको छ, भालुले मकै खाएर सताउँछ, त्यसैले राति पनि स्थानीयहरू बारीमै गएर भालु कुर्ने गर्छन्,’ उनले भने, ‘बाढीमा घर बगेका मानिसहरू पनि गए राति मकै कुर्न बारीमै थिए, त्यसैले बाढीबाट जोगिए।’
नजिक अरू घरमा मानिसहरू भने बाढीको आवाजपछि सुरक्षित ठाउँतर्फ गएका थिए। लेदोसहित बाढी आउँदा भूकम्पजस्तै गरी गाउँ थर्किएको पनि स्थानीयहरूले बताएका छन्।
यसबीच चुमनुब्री गाउँपालिका रास्वपा अध्यक्ष धावा ग्याल्जेन लामाले बाढी पीडितलाई गृह मन्त्रालयबाट पनि राहत उपलब्ध गराइने बताएका छन्।
‘बाढी प्रभावित नाम्रुङका स्थानीयका लागि राहत सामग्री बोकेको एउटा हेलिकप्टर त्यसतर्फ उडिसकेको छ, दोस्रो हेलिकप्टर पनि राहत लैजान तयारी अवस्थामा छ,’ उनले भनेका छन्, ‘गृह मन्त्रालय र गृहमन्त्री सुधन गुरूङको समन्वयमा प्रभावित परिवारसम्म आवश्यक राहत सामग्री पुर्याउने प्रयास भइरहेको छ।’
यसबीच जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना निकालेर मनास्लु पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ।
यस्तो छ सूचना-
