काठमाडौंमा खाना पकाउने ग्यासको अभाव झन् चर्किएको छ।
ग्यास सहज रूपमा नपाएपछि उपभोक्ता रातभरि उद्योग तथा डिपोमा लाइन बस्न बाध्य भएका छन्
आइतबार कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग परिसरमा ग्यास लिन सयौँ उपभोक्ताको लामो लाइन लागेको थियो।
उद्योग परिसरमा ४ सयभन्दा बढी ग्यास सिलिण्डर लाइनमा राखिएका थिए।
प्रत्येक सिलिण्डरमा नम्बर लगाइएको थियो। ग्यास पाउने आशामा उपभोक्ताहरू मध्यरातदेखि नै उद्योग परिसरमा आएर लाइनमा बसेका थिए।
टोखाबाट आएका एक उपभोक्ताले आफू राति पौने २ बजे नै उद्योगमा आएर लाइन बसेको बताए। ‘ग्यास पाइन्छ कि भनेर रातिदेखि नै लाइनमै छु,’ उनले भने।
चन्द्रागिरी–७ का अर्का उपभोक्ताले भने सात दिनदेखि घरमा ग्यास सकिए पनि कतै नपाएको बताए।
उनका अनुसार ग्यासका लागि उनी तीन दिनदेखि श्रीकृष्ण ग्यास उद्योग धाइरहेका छन्। काठमाडौं बसेको २५ वर्षमा पहिलोपटक यस्तो अभाव भोग्नुपरेको उनले बताए।
उपभोक्ताको भीड अत्यधिक भएपछि उद्योगले केहीलाई कुपन दिएर फिर्ता पठाएको थियो। ग्यासका लागि घण्टौं लाइन बस्नुपरेपछि उपभोक्ता थप समस्यामा परेका छन्।
काठमाडौंमा यसअघि नै ग्यासको आपूर्ति पर्याप्त हुन नसकेको अवस्थामा पछिल्लो बाढीले समस्या झन् जटिल बनाएको हो।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास बुलेटहरू काठमाडौँ प्रवेश गर्न सकेका छैनन्।
सडक अवरुद्ध हुँदा नियमित रूपमा काठमाडौँ ल्याउनुपर्ने ग्यासको ढुवानी प्रभावित भएको छ।
ढुवानी अवरुद्ध भएपछि व्यवसायीहरूले काठमाडौँबाहिरै ग्यास भरेर अर्थात् बोटलिङ गरेर काठमाडौँ ल्याउने प्रयास गरिरहेका छन्।
तर, सामान्य अवस्थामा बुलेटमार्फत काठमाडौं ल्याएर यहाँका उद्योगबाट गरिने आपूर्ति प्रणाली प्रभावित हुँदा त्यसले बजारमा ग्यासको उपलब्धता घटाएको छ।
बाढीका कारण सडक अवरुद्ध हुनु र त्यसअघि नै रहेको ग्यासको आपूर्ति समस्या एकैपटक थपिँदा काठमाडौँ उपत्यकामा उपभोक्ताले चरम अभाव बेहोर्नुपरेको हो।
घरमा खाना पकाउने ग्यास सकिएपछि उपभोक्ता सिलिण्डर बोकेर उद्योग र डिपो धाउन तथा घण्टौं लाइन बस्न बाध्य भएका छन्।
तस्बिरहरूः
-1788682938.jpg)
-1788682938.jpg)
-1788682938.jpg)
-1788682938.jpg)
-1788682938.jpg)
-1788682938.jpg)
-1788682937.jpg)
-1788682937.jpg)
-1788682939.jpg)
-1788682939.jpg)
-1788682939.jpg)
-1788682939.jpg)