उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको सुरूङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सुरूङ भित्रबाट चिसो हावा समेत आइरहेकाले फसेको आशंका गरिएका व्यक्तिहरू सकुशल हुन सक्ने आशा बढेको बताएका हुन्।
रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा ६ जना कर्मचारी फसेको आशंका गरिएको छ।
उनीहरू भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन छन्।
बाढीको १६ दिन बितिसकेको छ। त्यहाँ आवाज पठाउँदा इको आएको र हावा समेत पास भइरहेकाले सम्पर्कविहीनहरू भित्रै भए सकुशल हुन सक्ने अनुमान गरिएको उनले बताएका छन्।
'चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवं सहजीकरण गरिरहेको छु।विद्युतगृह जाने मुख्य पहुँच सुरूङमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको वालुवा ढुंगा हटाउने कार्य तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ,' घिसिङले लेखेका छन्, 'साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरूङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ।'
घिसिङका अनुसार अब विद्युत गृह पुग्न करिब १०० मिटर बाँकी छ। यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले सबैमा नयाँ आशा जगाएको उनले बताएका छन्।
स्याफ्रुबेँशी तर्फबाट एक्स्काभेटरले सुरूङसम्म बाटो बनाउने काम भइरहेको र आजसम्म सुरूङसम्म पुग्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन्।
'एक्स्काभेटर र लोडर पुगेपछि उद्दार कार्यमा तिब्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ। यस कठिन र संवेदनशील घडीमा अहोरात्र उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। सुरूङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस्,' उनले लेखेका छन्।