आर्टिफिसियल इन्टेलिजन्स (एआई) को खतराबारे पछिल्लो समयमा चिन्ता बढिरहेको बेलामा ओपनएआईले यसको विकासको गतिलाई सुस्त बनाउने विचार गर्ने बताएको छ।
च्याटजिपिटी निर्माता ओपनएआईका मुख्य कार्यकारी अधिकृत सेम अल्टम्यानले यसै साता भएको कम्पनीको बैठकमा कर्मचारीहरूलाई त्यस्तो बताएको भनेर ब्लुमबर्गले लेखेको छ।
ओपनएआईले सम्भवतः अरू ल्याबहरूसँग मिलेर एआईको विकासको गति नियन्त्रण गर्न सक्ने उनले बताएका छन्। तर सबै एआई निर्माता यसमा सहमत नहुन पनि सक्ने उनले जनाएका छन्।
पछिल्ला हप्ताहरूमा, प्रमुख एआई कम्पनीहरूका कर्मचारीले उन्नत एआई प्रणालीका बढ्दो जोखिमप्रति सार्वजनिक चिन्ता व्यक्त गरेकाले यी कम्पनीहरूभित्र चिन्ता बढाएको छ। ओपनएआई र यसको प्रतिस्पर्धी एन्थ्रोपिक दुवैले यसै वर्षको सुरुमा सार्वजनिक कम्पनी बन्नका लागि गोप्य कागजातहरू दर्ता गराएका छन्।
ओपनएआईका मुख्य वैज्ञानिक ज्याकुब पाचोकीले हालै एउटा पोस्ट लेख्दै एआईका खतराहरूबारे चेतावनी दिएका छन्।
एआई कम्पनीहरूले आवश्यकता अनुसार भावी विकासलाई सुस्त बनाउन समन्वय गर्नुपर्छ भन्ने आफ्नो विश्वास रहेको पनि उनले बताएका छन्।
पाचोकीले साझा सुरक्षा मानकहरू स्थापना नभएसम्म स्वैच्छिक रूपमा गति सुस्त बनाउने कार्य सामान्य बनोस् भन्ने आशा व्यक्त गरेका छन्।
विगतमा ओपनएआईमा समेत काम गरेका ज्याकब कक्सनले एन्थ्रोपिकबाट मंगलबार राजीनामा दिएर एआईका खतराबारे सामाजिक सञ्जाल एक्समा लेखे।
'मैले पछिल्ला तीन वर्ष ओपनएआई र एन्थ्रोपिकमा एआईलाई पूर्वप्रशिक्षण दिने अनुसन्धानमा बिताएँ। यी दुवै कम्पनी जिम्मेवार ढंगले काम गरिरहेका छैनन्। उनीहरू आफैलाई अझ शक्तिशाली बनाउन सक्ने सुपरइन्टेलिजेन्स बनाउने दौडमा छन् र हाम्रो जीवनलाई दाउमा लगाइरहेका छन्।'
त्यसपछि उनले अझ डरलाग्दो कुरा लेखे — एआई बनाइरहेका मानिसहरू नै यो दशकको अन्त्यसम्म यसले हामी सबैलाई मार्न सक्छ भन्ने साँच्चै विश्वास गर्छन्!
उनले आफ्नो भनाइ कुनै प्रचारबाजी नभएको पनि बताए।
'यो मार्केटिङ गर्ने तरिका होइन,' उनले लेखेका छन्, 'धेरै उच्च अधिकारी र वरिष्ठ अनुसन्धानकर्ताहरू सञ्चार माध्यममा लेख्दा, बोल्दा आफूलाई विवेकी देखाउन नरम शब्दहरू प्रयोग गर्छन्। तर तिनै मानिसहरूले निजी कुराकानीमा डर व्यक्त गरेको मैले सुनेको छु। अरू कुनै पनि मानवीय गतिविधिले यति ठूलो खतरा सिर्जना गरेको छैन।' उनको पोस्टले संसारभर ठूलो बहस जन्मायो।
यस्तो बेलामा ओपनएआईले एआईको विकासको गतिलाई सुस्त बनाउने विचार गर्ने बताएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)