दुखाइ शरीरमा कुनै समस्या भएको संकेत हो। शरीरलाई हानि हुने चिजबाट जोगाउन दुखाइले महत्वपूर्ण भूमिका खेल्छ। सामान्य चोटपटक वा कुनै रोगसँग जोडिएर आएको दुखाइ सम्बन्धित रोग वा चोट निको भएसँगै कम हुँदै जान्छ।
तर रोग निको भइसकेपछि पनि दुखाइ रहिरह्यो, कहिले कम हुने, कहिले हराउने र फेरि फर्किने क्रम चलिरह्यो तथा यस्तो अवस्था तीन महिनाभन्दा बढी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाइ अर्थात् 'क्रोनिक पेन' भनिन्छ।
दुखाइ विशेषज्ञ डा. निनादिनी श्रेष्ठका अनुसार दीर्घकालीन दुखाइ कतिपय अवस्थामा आफैमा एउटा रोग बन्न सक्छ। शरीरको कुनै पनि अंगमा यस्तो दुखाइ हुन सक्छ। टाउकोदेखि खुट्टासम्म, मांसपेशी, जोर्नी तथा शरीरका विभिन्न अंगबाट आउने दुखाइ लामो समयसम्म रहिरहेमा त्यसलाई दीर्घकालीन दुखाइका रूपमा हेर्नुपर्ने हुन्छ।
'सामान्य चोटपटकसँगै आएको दुखाइ प्रायः चोट वा रोग निको भएसँगै हराउँछ। तर रोग निको भइसकेपछि पनि सम्बन्धित अंगको दुखाइ कम हुनुको सट्टा बढ्दै गयो भने त्यसले जटिल रूप लिन सक्छ,' डा.श्रेष्ठले भनिन्, 'उदाहरणका लागि दुर्घटनामा कसैको हात भाँचियो। हात भाँचिएपछि हाडजोर्नी विशेषज्ञकहाँ गएर उपचार गरियो। उपचारपछि भाँचिएको हड्डी जोडिइसक्यो, तर हातको दुखाइ भने कम भएन र बरू बढ्दै गयो भने त्यस्तो दुखाइ दीर्घकालीन हुन सक्छ।'
दीर्घकालीन दुखाइले मानिसलाई शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा समेत असक्षम बनाउँदै लैजान सक्छ। त्यसैले यसलाई सामान्य दुखाइका रूपमा मात्रै बुझ्न नहुने उनको भनाइ छ।
रोग नदेखिए पनि दुखाइ रहन सक्छ
क्रोनिक पेनको एउटा जटिल पक्ष भनेको यो सधैं कुनै रोगसँगै जोडिएर आउँदैन। धेरै रोगसँग दुखाइ जोडिएर आउन सक्छ र रोग निको भएपछि दुखाइ पनि हराउन सक्छ। तर कतिपय अवस्थामा रोग नै पत्ता नलागे पनि व्यक्तिमा दुखाइ भइरहन सक्छ।
'विभिन्न परीक्षण गर्दा कुनै समस्या नदेखिएपछि पनि दुखाइ रहिरहेमा बिरामी अन्योलमा पर्न सक्छ। दुखाइको कारण पत्ता नलागेपछि उनीहरू पटकपटक उपचार खोज्न बाध्य हुन्छन्,' उनले भनिन्, 'दुखाइलाई सधैं रोगसँग जोडेर हेर्ने बुझाइ सही होइन। रोग पत्ता नलागे पनि दुखाइ हुन सक्छ। अनुमानअनुसार २० प्रतिशतभन्दा बढी मानिस दीर्घकालीन दुखाइबाट पीडित छन्।'
ढाड, घुँडा र टाउकोको दुखाइ बढी देखिन्छ
दीर्घकालीन दुखाइ शरीरको जुनसुकै भागमा हुन सक्ने भए पनि ढाड दुख्ने, घुँडा दुख्ने र जोर्नीको दुखाइ बढी देखिन्छ। त्यस्तै टाउको दुख्ने समस्या पनि दीर्घकालीन दुखाइका रूपमा रहन सक्छ। उमेर र अवस्थाअनुसार दुखाइ फरक हुन सक्छ। महिलामा गर्भावस्थाका बेला तथा महिनावारी सुकेपछि हर्मोनमा हुने परिवर्तनसँगै दुखाइको समस्या देखिन सक्छ।
तर हरेक दुखाइलाई जटिल रोगका रूपमा बुझेर उपचार गरिहाल्नुपर्ने हुँदैन। महिनावारीका समयमा हुने दुखाइ लगायत शरीरको आफ्नै अवस्था र विकाससँग जोडिएका कतिपय दुखाइ सामान्य हुन सक्छन्। दुखाइको अनुभूति व्यक्तिपिच्छे पनि फरक हुन्छ। एउटै प्रकारको चोट वा समस्या भए पनि सबैले समान रूपमा दुखाइ महसुस गर्दैनन्। व्यक्तिको परिवेश, परम्परा र संस्कृतिले समेत दुखाइको अनुभूतिमा प्रभाव पार्न सक्छ।
दुखाइले दैनिक जीवनमा असर पार्छ
दीर्घकालीन दुखाइका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या देखिन सक्छ। दुखाइका कारण कतिपय मानिस सुत्न र काम गर्न सक्दैनन्। केही मानिसले काम गर्न नसकेकै कारण जागिर समेत गुमाउनुपर्ने अवस्था आउन सक्छ।
लामो समयदेखि दुखाइ भइरहँदा पनि त्यसलाई सामान्य रूपमा लिने प्रवृत्ति रहेको डा. श्रेष्ठ बताउँछिन्। पटकपटक उपचार गराउँदा पनि दुखाइ निको नभएपछि कतिपय बिरामी निराश हुने गर्छन्। यस्तो अवस्थामा मानसिक समस्या समेत देखिन सक्ने उनको भनाइ छ।
जथाभावी औषधि सेवन नगर्न सुझाव
शरीरको कुनै अंग दुख्नासाथ मेडिकलमा गएर औषधि खाने बानी धेरैमा छ। दुखाइको स्तर र कारण नबुझी औषधि सेवन गर्दा समस्या आउन सक्छ।
रोगको वास्तविक कारण पत्ता नलाग्न सक्छ र रोग जटिल हुँदै गएपछि कुनै समय औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ।
'दुखाइ हल्का छ र आफैं व्यवस्थापन गर्दा ठीक भइरहेको छ भने सामान्य रूपमा हेर्न सकिन्छ। तर दुखाइ जटिल बन्दै गएको छ, पटकपटक फर्किरहेको छ वा बढ्दै गएको छ भने अस्पताल जानुपर्ने हुन्छ,' उनले भनिन्।
कहिले दुखाइ विशेषज्ञकहाँ जाने?
सम्बन्धित रोगको विशेषज्ञबाट परीक्षण र उपचार गराउँदा पनि दुखाइ कम भएन भने दुखाइ विशेषज्ञकहाँ जान सकिन्छ। घुँडा, ढाड, घाँटी, टाउको लगायत शरीरका विभिन्न अंगको समस्या उपचारपछि पनि दुखाइ रहिरहेमा दुखाइ विशेषज्ञको परामर्श लिन सकिन्छ।
दीर्घकालीन दुखाइको उपचार औषधिले मात्रै सम्भव हुन्छ भन्ने होइन। आवश्यकताअनुसार इन्जेक्सन, थेरापी, व्यायाम लगायतका उपचार गर्न सकिन्छ। मेडिटेसन र योगाको समेत यसमा भूमिका हुन्छ।
'दीर्घकालीन दुखाइलाई केवल सहेर बस्नुको सट्टा यसको अवस्था बुझेर आवश्यक उपचार खोज्नुपर्छ। लामो समयदेखि दुखाइ भइरहेको छ भने त्यसलाई सामान्य भन्दै बेवास्ता गर्नु हुँदैन,' उनले भनिन् 'नेपालमा विभिन्न उपचार प्रविधि उपलब्ध भएकाले दीर्घकालीन दुखाइको उचित व्यवस्थापनका लागि चिकित्सकको परामर्शमा उपलब्ध उपचार विधिको प्रयोग गर्नुपर्छ।'