आज विभिन्न जिल्लाका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला भइ बहने खोला तथा स-साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, कास्की लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्लाका खोला, नदीको बहाब बढ्नेछ।
महाशाखाले सतर्क रहन भनेको छ।
मौसम पूर्वानुमान महाशाखाले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाडीसम्म आइपुगेको र त्यहाँ शक्तिशाली बन्दै गरेको न्यूनचापीय क्षेत्र पश्चिमदेखि उत्तरपश्चिम दिशातिर सर्ने भएकाले यसको प्रभाव नेपालतिर पर्नेछ।
महाशाखाले मंगलबारदेखि विशेष बुलेटिन जारी गर्दै आइरहेको छ। बुधबारदेखि नै यसको प्रभाव देखिन थालेको छ। बिहानैदेखि काठमाडौं लगायत बागमती प्रदेश र विभिन्न अरू प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।