हिमालमा जे भइरहेको छ, त्यो कुनै 'एड्भेन्चर थ्रिलर' वा 'साइन्स फिक्सन' भन्दा कम छैन।
लाङटाङको लिरूङ हिमाललाई नै हेरौं न!
भदौ १० गते बिहान लिरूङ हिमालको उत्तरी पाखाबाट हिमनदी र चट्टानको विशाल थुप्रो खस्यो, र त्यसले भोटेकोशी–त्रिशुली नदीमा विनाशकारी बाढी ल्यायो। अचम्मको कुरा के भने, यो घटनाको पटकथा आजभन्दा ११ वर्षअघि नै लेखिएको थियो —
२०७२ साल वैशाख १२ गते।
'वर्ल्ड वेदर एट्रिब्युसन' (डब्लुडब्लुए) का अनुसन्धानकर्ताको भनाइ अनुसार, जलवायु परिवर्तनसँगै २०७२ को भुइँचालोले पनि लिरूङ हिमाललाई भत्किने अवस्थातिर धकेलेको हुन सक्छ।
उक्त भुइँचालोले लिरूङ हिमालमा अहिलेजस्तै ठूलो हिमपहिरो ल्याएको थियो, चट्टानको थुप्रो खसेको थियो। यसले लाङटाङ उपत्यकामा धेरैको ज्यान पनि गएको थियो।
त्यसपछि पनि यहाँ हिमपहिरो र चट्टान खस्ने क्रम रोकिएन — खासगरी उच्च हिमाली भेगमा यस्तो गतिविधि झन् बढेको अध्ययनले देखाएको छ।
'भुइँचालोको कम्पनले पहाडभित्रको चट्टानी संरचनालाई कमजोर बनाएको हुन सक्छ,' गत बिहीबार (सेप्टेम्बर १७) सार्वजनिक डब्लुडब्लुएको रिपोर्टमा भनिएको छ।
त्यसो भए २०७२ वैशाख १२ को भुइँचालोदेखि २०८३ भदौ १० को बाढीसम्म आइपुग्दा लाङटाङको लिरूङ हिमालमा के–कस्ता परिवर्तन भए त?
अहिलेको बाढीसँग भुइँचालोको सम्बन्ध कसरी जोडिन्छ?
यसको उत्तर खोज्न हामीले २०७२ सालमै फर्किनुपर्छ।
दृश्य १ : २०७२ सालमा लिरूङको एउटा पाखा खस्यो

२०७२ वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्युडको भुइँचालो गयो।
गोरखाको बारपाक केन्द्रविन्दु रहेको उक्त भुइँचालोले लाङटाङको लिरूङ हिमाल मात्र हल्लाएन, त्यहाँबाट हिम–चट्टानको ठूलो थुप्रो नै खस्यो।
त्यो हिमपहिरो एउटै ठाउँबाट सुरू भएको थिएन।
सन् २०१६ मा प्रकाशित एक वैज्ञानिक अध्ययनले २०१४ र २०१५ का स्याटलाइट तस्बिर र डिजिटल नक्सा तुलना गरेर लिरूङ हिमालका कम्तिमा पाँचवटा फरक–फरक ठाउँबाट हिमपहिरो सुरू भएको पत्ता लगाएको थियो।
वैज्ञानिक जर्नल 'अर्थ, प्लानेट एन्ड स्पेस' मा प्रकाशित रिपोर्ट अनुसार त्यति बेला हिमपहिरो खसेको एउटा ठाउँ लिरूङ हिमालको शिखर नजिकै करिब ७,२०० मिटर उचाइमा थियो।
बाँकी पहिरो ६,८०० देखि ६,९०० मिटर उचाइबाट खसेका थिए।
वैज्ञानिकहरूको अनुमान अनुसार त्यो एउटै घटनामा करिब १ करोड ४३ लाख घनमिटर बराबरका हिउँ, बरफ र चट्टानको पहिरो खसेको थियो।
रोचक कुरा के छ भने, २०७२ सालमा हिमपहिरो खसेको भाग लिरूङ हिमालको दक्षिणी मोहडा थियो। यसपालि पहिरो खसेको उत्तरी मोहडा हो।
अब एउटा स्वाभाविक प्रश्न उठ्छ — भुइँचालोले एउटा ढिस्को नै चोइटिएर झरेको लिरूङ हिमालमा त्यसपछि के–के भयो?
दृश्य २ : भुइँचालोपछि पनि पहिरोको क्रम रोकिएन

वैज्ञानिक अध्ययनहरूले एउटा कुरा स्पष्ट देखाएका छन् — भुइँचालोले जहाँको चट्टान र माटोको संरचना कमजोर बनाउँछ, त्यहाँ लामो समयसम्म पहिरो गइरहन्छ।
हामीले २०७२ सालको भुइँचालोपछि सिन्धुपाल्चोकमा पहिरो गइरहेको देखेका छौं।
लाङटाङ क्षेत्रमा पनि भुइँचालोपछिका वर्षहरूमा पहिरो जाने क्रम उच्च रहेको अनुसन्धानले पुष्टि गरेको छ।
डब्लुडब्लुएका अनुसन्धानकर्ताले २०७२ को भुइँचालोले लाङटाङ लिरूङको चट्टानी संरचना कमजोर बनाइदिएको हुन सक्ने आकलन गरेका छन्।
तर यहाँ एउटा कुरा नछुटाऔं — डब्लुडब्लुएले '२०७२ को भुइँचालोले नै २०८३ भदौ १० गते हिमपहिरो खसालेको हो' भनेको छैन।
उनीहरूले यति मात्र भनेका छन् — त्यो भुइँचालोले लिरूङ हिमाललाई 'पछि कुनै बेला खस्न सक्ने' अवस्थामा पुर्याएको हुनसक्छ!
यसको आसय के भने, ११ वर्षअघि भुइँचालो गएकै कारण मात्र आज लिरूङ हिमाल खसेको होइन।
तर एउटा कुरा पक्कै हो, आज लिरूङ हिमालको एउटा पाखो खस्नमा त्यति बेलाको भुइँचालोले 'तयारीको काम' गरेकै थियो।
डब्लुडब्लुएको यो भनाइबाट हामी भदौ १० गतेको घटनाको पटकथा ११ वर्षअघि नै लेखिएको थियो भन्ने सार खिच्न सक्छौं।
किनभने, त्यो भुइँचालो नगइदिएको भए सायद लिरूङ हिमाल यति कमजोर हुँदैन थियो!
अब एकछिन सोचौं त — भुइँचालोको धक्काले थिलथिलो पारेको लिरूङ हिमाललाई बितेका ११ वर्षमा अरू के–के परिवर्तनले कसरी असर पार्यो होला?
दृश्य ३ : ११ वर्षमा लाङटाङका हिमनदी पातलिए, तापक्रम 'असामान्य' रूपले बढ्यो

वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का अनुसन्धानकर्ताको समूहले सन् २००० देखि लाङटाङ लिरूङ क्षेत्रका हिमनदी प्रतिवर्ष करिब आधा मिटर पातलिँदै गएको बताएका छन्।
सन् २०१० पछि लाङटाङ–लिरूङका हिमनदीको आकार घट्ने दर अझ तीव्र भएको उनीहरूको निष्कर्ष छ।
'पछिल्ला १६ वर्षमा यो दर प्रतिवर्ष १–२.३ प्रतिशत पुगेको छ, जबकि त्यसअघिका दुई शताब्दीमा औसत ०.५ प्रतिशत थियो,' डब्लुडब्लुएको प्रतिवेदनमा उल्लेख छ।
तर लाङटाङ लिरूङ क्षेत्रमा हिमनदी पातलिने क्रम सुरू भएको भुइँचालोपछि मात्र होइन।
यसै वर्ष 'ग्लोबल एन्ड प्लानेटरी चेन्ज' जर्नलमा प्रकाशित गुञ्जन सिलवाल, बेथन डेभिस, जे रेचल कार लगायत सात जना वैज्ञानिकको अध्ययनले सन् १८१५ आसपासदेखि २०२३ सम्म लाङटाङ क्षेत्रको कुल हिमनदी क्षेत्रफल करिब ४१.५ प्रतिशत घटेको देखाएको छ।
उनीहरूका अनुसार यो अवधिमा लाङटाङले ७८.४६ वर्गकिलोमिटर हिमनदी क्षेत्र गुमायो।
अर्थात्, करिब ४१.५ प्रतिशत।
हिमनदी क्षेत्र घट्ने गति पनि तीव्र बनेको अनुसन्धानले देखाएको छ।
सन् १८१५ देखि १९६४ सम्म हिमनदी क्षेत्र औसत वार्षिक करिब ०.११ प्रतिशत घटेको थियो। सन् १९६४ देखि २०२३ सम्म त्यो गति बढेर वार्षिक करिब ०.४९ प्रतिशत पुग्यो।
अर्थात्, चार गुणाभन्दा बढी।
अध्ययनको अर्को तथ्य झन् रोचक छ।
सन् १८१५ आसपास लाङटाङ क्षेत्रमा ५८ वटा हिमनदी गणना गरिएको थियो। सन् २०२३ मा यो संख्या बढेर ११५ पुग्यो।
यसको अर्थ हिमनदी बढेका होइनन्। ठूला हिमनदी टुक्रिँदै, छुट्टिँदै र साना भागमा विभाजित हुँदै गएकाले संख्या बढेको हो।
वैज्ञानिकहरूले हिमनदीको मोटाइ घटेको, तिनको बहने गति कम भएको र धेरै भाग एकअर्काबाट छुट्टिएको पनि पाएका छन्।
अब प्रश्न उठ्छ — हिमनदी पातलिँदै जानु वा घट्दै जानुको कारण के त?
अनुसन्धानकर्ताहरूका अनुसार यसको एउटा मुख्य कारण तापक्रम वृद्धि हो।
'ग्लोबल एन्ड प्लानेटरी चेन्ज' जर्नलमा प्रकाशित सात जना वैज्ञानिकको रिपोर्ट अनुसार माथिल्लो लाङटाङको तापक्रम क्रमिक रूपले बढ्दै गएको छ।
चार हजार मिटरभन्दा माथि सन् १९६४ देखि २०२३ सम्मको तापक्रम प्रतिदशक करिब ०.३ डिग्री सेल्सियस बढेको अध्ययनले देखाएको छ। यसको तुलनामा ३,८६५ मिटर उचाइको तल्लो मापन केन्द्रमा त्यही वृद्धि प्रतिदशक करिब ०.१ डिग्री थियो।
डब्लुडब्लुएका अनुसन्धानकर्ताले पनि हिमाली क्षेत्रमा तीव्र रूपले बढेको तापक्रमकै कारण हिमनदीहरू पातलिँदै गएको बताएका छन्।
भदौ १० को घटना हुनुअघि अगस्ट महिनाभरिमा हिमाली क्षेत्रको औसत तापक्रम सामान्यभन्दा करिब ५ डिग्री सेल्सियस बढी थियो भन्ने डब्लुडब्लुएको निष्कर्ष छ।
त्यसमध्ये १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि जलवायु परिवर्तनका कारण भएको डब्लुडब्लुएकी एक अनुसन्धानकर्ता तथा इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक फ्रिडेरिक ओटोले बताएकी छन्।
यहाँ वर्षाले पनि छोटो समयमा थप दबाब सिर्जना गरेको छ।
'तापक्रम बढ्दै जाँदा उच्च हिमाली भेगमा हिमपातको सट्टा पानी पर्न थाल्छ। तरल पानीले सिधै चट्टानी पहाडका चिरामा पसेर त्यहाँको चाप थप बढाइदिन सक्छ,' प्रतिवेदनमा भनिएको छ।
डब्लुडब्लुएका अनुसार सन् २०२५ अक्टोबरमा लाङटाङ लिरूङका मौसम केन्द्रहरूले असाधारण रूपले धेरै वर्षा रेकर्ड गरेका थिए। त्यसपछि सुरू भएको तापक्रम वृद्धिसँग मिलेर वर्षाको पानीले चट्टानी पहाडलाई अस्थिर र कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने आकलन गरिएको छ।

लाङटाङ लिरूङको मौसमसँग सम्बन्धित अर्को वैज्ञानिक अनुसन्धान पनि हालै सार्वजनिक भएको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित बर्क्ले अर्थ अर्गनाइजेसनका प्रमुख वैज्ञानिक रोबर्ट रोह्डको रिपोर्ट अनुसार चट्टानी पहाड खस्नुअघि ६ दिनसम्म लाङटाङको उक्त क्षेत्र 'असाधारण' रूपले तातेको थियो।
अगस्ट २१ देखि २६ सम्म उक्त क्षेत्रमा औसत तापक्रम करिब ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ।
पछिल्ला पाँच दशकभन्दा बढी समयको तापक्रम तुलनात्मक अध्ययन हेर्दा त्यो क्षेत्रमा अगस्ट महिनाको यति लामो अवधिसम्म औसत तापक्रम ४ डिग्रीभन्दा माथि पुगेको देखिँदैन।
अर्थात्, यस पटक लाङटाङको ५,२०० मिटर उचाइमा रेकर्ड गरिएको तापक्रम सामान्यभन्दा बढी मात्र थिएन, त्यो उचाइका लागि असाधारण पनि थियो।
रोबर्टले लाङटाङ वरपर ९ देखि १४० किलोमिटर दुरीमा रहेका १४ वटा उच्च हिमाली मौसम केन्द्रका तथ्यांक मिलाएर घटनास्थलको तापक्रम अनुमान गरेका हुन्।
उनको अनुसन्धान अनुसार, अगस्ट २१ देखि २६ सम्मको औसत तापक्रम २०औं शताब्दीको मध्यतिरको भन्दा करिब १.८ डिग्री सेल्सियस बढी थियो।
उनको हिसाबमा मानवीय कारणले जलवायु परिवर्तन नभएको अवस्थामा यस्तै किसिमको तापक्रम वृद्धि त्यस्तो स्थान र समयका लागि अत्यन्तै दुर्लभ हो।
'जलवायु परिवर्तनको अवस्था नभइदिएको भए सम्भवतः यो केही हजार वर्षमा एक पटक मात्र देखिने खालको घटना हो,' रोबर्टले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेका छन्।
एएफपीले युरोपको 'कोपरनिकस' स्याटलाइटबाट प्राप्त तथ्यांक विश्लेषण गर्दै अर्को तथ्य पनि अगाडि ल्याएको छ — लाङटाङ क्षेत्रमा सन् २०१६ को गृष्मकालमा मापन गरिएको तापक्रम १९७० यताकै चौथो बढी हो।
माथिका यी वैज्ञानिक अनुसन्धानले तीनवटा कुरा बलियोसँग स्थापित गर्छन् —
एक, लाङटाङ क्षेत्रको हिमाली वातावरण दशकौंदेखि तीव्र गतिमा बदलिरहेको थियो।
दुई, माथिल्लो हिमाल तल्लो भागभन्दा अझ छिटो तातिरहेको थियो।
र तीन, लाङटाङ क्षेत्रको हिमनदी पग्लिने वा फुट्ने जोखिम बढेको थियो।
अब हामी फेरि मूल प्रश्नमा फर्कौं — हिमनदी पातलिँदै जानु, तापक्रम बढ्नु र भदौ १० गते हिमपहिरो र चट्टान खस्नुबीच के सम्बन्ध हुन सक्छ?
दृश्य ४ : बरफ घट्दै जाँदा चट्टानी पहाडको 'पकड' खुकुलो

हामी प्रायः हिमाललाई चट्टानको ठूलो थुप्रो ठान्छौं।
चट्टान भनेको हलचल नहुने स्थिर वस्तु हो, त्यसैले हिमाल पनि सधैं स्थिर र अटल रहन्छ भन्ने हाम्रो बुझाइ छ।
तर उच्च हिमाली पहाडको स्थिरता चट्टानले मात्रै निर्धारण गर्दैन। त्यहाँ चट्टानको स्थिरतामा बरफले ठूलो भूमिका खेलेको हुन्छ।
अत्यन्त चिसो उच्च हिमाली क्षेत्रमा जमिन वा चट्टान लामो समयसम्म जमेको अवस्थामा रहन सक्छ। कम्तिमा लगातार दुई वर्ष शून्य डिग्री सेल्सियस वा त्योभन्दा कम तापक्रममा रहने जमिन वा चट्टानी भूभागलाई 'पर्माफ्रस्ट' भनिन्छ।
उच्च हिमालका यस्ता भूभागमा चट्टानका चिराभित्र बरफ जमेको हुन्छ। त्यो बरफले चिरिएका चट्टानलाई जोडेर राख्न मद्दत गर्छ।
बेलायतको कील विश्वविद्यालयका भूगोलविद रिचर्ड वालरले साइन्स मिडिया सेन्टरसँगको कुराकानीमा यसलाई सरल तरिकाले व्याख्या गरेका छन्।
उनका अनुसार उच्च हिमाललाई चिरैचिरा परेको चट्टानको विशाल थुप्रो सम्झन सकिन्छ, जसका चिरा र जोर्नीमा जमेको बरफले त्यसलाई जोडेर राख्न सिमेन्टको काम गरेको हुन्छ।
तापक्रम बढ्दै जाँदा त्यो बरफ पग्लन सक्छ। यसले पानी चिराभित्र पस्छ। फेरि जम्छ। फेरि पग्लन्छ।
यसले बिस्तारै चिरा फराकिलो हुन थाल्छ।
यही क्रममा चट्टानका चिराभित्र जमेको बरफको पकड खुकुलो हुँदै जान्छ। र, चट्टानी पहाडलाई कुनै पनि बेला खस्न सक्ने अवस्थामा पुर्याइदिन्छ।
लाङटाङको यो क्षेत्रमा यसपालि हिमपहिरो र चट्टानी पहाड खसेर बाढी आउनुको एउटा कारण यही हुन सक्ने वैज्ञानिकहरूले आकलन गरेका छन्।
डब्लुडब्लुएको विश्लेषण पनि लगभग यस्तै छ।
डब्लुडब्लुएका अनुसन्धानकर्ता भन्छन् — लामो समयदेखि जमेको बरफको तहले चट्टानका ठुल्ठूला ढिस्कालाई आपसमा बाँधेर राखेको हुन्छ। जब बरफ पग्लिन्छ, तब चट्टानको चिराभित्र पानी पस्छ। यसरी पानी पसेपछि चट्टानका ठुल्ठूला ढिस्काको पकड खुकुलो हुँदै जान्छ।
र, यी सबै प्रक्रियाले पहिल्यै कमजोर भइसकेको चट्टानी पहाडको भौगर्भिक संरचनालाई अझ अस्थिर बनाउँछ।
दृश्य ५: सबभन्दा रोचक 'टर्निङ प्वाइन्ट'

अब हामी यो पटकथाको सबभन्दा रोचक पक्षमा जाऔं।
भदौ १० को घटनापछि सार्वजनिक नयाँ प्रारम्भिक वैज्ञानिक अध्ययनले लिरूङ हिमाल खस्नुका पछाडिको एउटा रोचक तथ्य उजागर गरेको छ।
वैज्ञानिकहरू टोमासो कार्ला, भेरोनिका तोफानी र निकोला कासाल्गीले लाङटाङ लिरूङका ११ वटा अत्यन्त उच्च गुणस्तरका तस्बिर अध्ययन गरेका छन्।
यो अध्ययनको अहिलेसम्म वैज्ञानिक समीक्षा नभएकाले अन्तिम प्रमाणका रूपमा लिन मिल्दैन।
तर यसले एउटा रोचक कुरा देखाउँछ — लिरूङ हिमालको उत्तरी पाखा खस्नुअघि करिब ६ वर्षमा हिमनदीको अगाडिको भाग खासै चलायमान देखिएको थिएन। बरू त्यही हिमनदीलाई थामेर बसेको चट्टानी पहाडमा भने अस्थिरताको संकेत देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ।
उनीहरूले त्यहाँको चट्टानी पहाडको आन्तरिक संरचना कमजोर रहेको बताएका छन्।
त्यो भौगर्भिक हलचलले नै भदौ १० को विपद निम्त्याउने आधार तयार पारेको हुनसक्ने आकलन गरिएको छ।
यस्तै अध्ययन अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयका भूगर्भ वैज्ञानिक तथा सहायक प्राध्यापक मनुचेहर सिर्जाइले पनि गरेका छन्।
उनले युरोपको 'कोपरनिकस सेन्टिनल–१' स्याटलाइटबाट प्राप्त राडार इमेज हेरेर अगस्ट २६ (भदौ १०) मा हिमनदी र त्यसमुनिको चट्टानी पहाड खस्नुअघि नै त्यो क्षेत्र बिस्तारै तलतिर सरिरहेको विश्लेषण गरेका छन्।
सिर्जाइले आफ्नो रिपोर्ट अगस्ट ३० मा सार्वजनिक गरेका थिए।
उनले आफ्नो रिपोर्टमा सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्म स्याटलाइटबाट प्राप्त तस्बिर र तथ्यांकहरू केलाएका छन्। यसबीच त्यहाँको जमिन प्रतिमहिना करिब १० मिलिमिटरका दरले तल सरिरहेको उनको भनाइ छ।
उनले 'एक्स' (ट्विटर) मार्फत सार्वजनिक गरेको आफ्नो विश्लेषणमा लेखेका छन्, 'हिमचट्टान खस्नुअघि नै उक्त भिरालो हिमाली पाखामा १० मिलिमिटर प्रतिमहिनाका दरले जमिन तल सरिरहेको देखिन्छ।'
भूगर्भ वैज्ञानिक सिर्जाइले अन्तिम तथ्यांक संकलन गरेको ७ दिनपछि नै लाङटाङ क्षेत्रमा हिमनदी र त्यो सँगसँगै चट्टानी पहाडको ठूलो हिस्सा तल खसेको थियो। र, विनाशकारी बाढी निम्त्याएको थियो।
यसको अर्थ के त?
यसको अर्थ, भदौ १० को घटनामा लामो समयदेखि कमजोर रहँदै आएको लाङटाङ लिरूङको चट्टानी पहाडको कमजोर आन्तरिक संरचना पनि बलियो कडीका रूपमा जोडिएको हुनसक्छ।
र, त्यो चट्टानलाई यतिविधि कमजोर बनाउने एउटा कारण २०७२ सालको भुइँचालो पनि हुनसक्छ।
दृश्य ६ : २०७२ र २०८३ लाई एउटै फ्रेममा राखेर हेर्दा
अब हामीसँग लाङटाङ लिरूङ हिमालको पूरा ११ वर्षको कथा छ —
२०७२ सालको भुइँचालोले लिरूङमा हिम–चट्टानको ठूलो पहिरो जान्छ।
भुइँचालोपछि पनि पहिरोको गतिविधि जारी रहन्छ। र, पहिरो जाने क्रम अझ बढ्छ।
यसले लाङटाङ क्षेत्रका चट्टानी पहाडहरूको पकड खुकुलो हुँदै जान्छ। ती पहाडहरू पछि कुनै पनि बेला खस्न सक्ने गरी कमजोर हुन थाल्छन्।
तर यतिले मात्र भदौ १० को घटना हुँदैन थियो होला, यदि त्यसमा पछिल्ला ११ वर्षका अन्य मौमसी परिवर्तनहरू नजोडिएका भए!
यही अवधिमा लाङटाङ जलाधार क्षेत्रमा तापक्रम बढ्दै जान्छ। तापक्रमले हिमनदीहरू पातलिँदै जान्छन्। ठूला हिमनदी टुक्रिँदै जान्छन्। चट्टानको चिराभित्र जमेका बरफ पग्लन थाल्छ। बरफ पग्लेपछि चट्टानको पकड खुकुलो हुँदै जान्छ।
अझ यतिले नपुगेर हिमपात हुने त्यो भेगमा पानी पर्न थाल्छ। पानीले चिराभित्रको दबाब पनि बढाउँछ।
अब हामी यी सबै घटनाक्रमलाई संक्षेपमा एउटै फ्रेममा राखेर हेरौं —
एकातिर, भुइँचालोले चिरा चिरा पारेर कमजोर बनाएको चट्टानी पहाड। अर्कातिर, त्यही चट्टानी पहाडलाई बाँधेर राखेका बरफ क्रमश: पग्लिँदै जानु।
यी दुवै कारणले आखिरमा त्यो चट्टानी पहाड हामीले सोचेजस्तो सधैं अटल र स्थिर रहिरहन सक्दैन।
अनि आउँछ, भदौ १० को त्यो भयानक पहिरो।
जसले ल्याउँछ भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढी।
२०७२ को भुइँचालोले २०८३ को हिमपहिरोमा ठ्याक्कै कति योगदान गर्यो भन्ने अहिले नै हामी निश्चित रूपमा भन्न सक्दैनौं। तर दुइटा कुरा स्पष्ट छ —
भदौ १० गते लिरूङ हिमालको उत्तरी पाखामा चट्टानी पहाड खस्नुको एउटा कारण त्यसको कमजोर संरचना थियो।
र, त्यो संरचना कमजोर पार्नमा २०७२ को भुइँचालोको हात पक्कै थियो, जसले लिरूङ हिमालकै दक्षिणी पाखामा हिम–चट्टानको पहिरो ल्याएको थियो।
***
