गृह मन्त्रालयले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिह्न वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था भएका संस्था दर्ता नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै यसअघि त्यस्ता व्यवस्था राखेर दर्ता भएका संस्थाहरूको विधान परिमार्जन वा संशोधन भए/नभएको जानकारी मागेको हो।
मन्त्रालयका अनुसार त्यस्ता संस्था नवीकरण गर्दा विधानमा आवश्यक परिमार्जन वा संशोधन गरिएको छ कि छैन भन्ने यकिन गर्नुपर्नेछ।
यसअघि दर्ता भएका संस्थाले पनि प्रचलित कानूनअनुसार प्रक्रिया पूरा गरी यथाशीघ्र विधान परिमार्जन वा संशोधन गर्नुपर्नेछ।
अब उप्रान्त सुरक्षा निकायसँग मिल्ने नाम तथा उद्देश्य भएका संस्था दर्ता नगर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले २०८३ असोज ६ गते सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो।