जल तथा मौसम विज्ञान विभागले अबका केही दिन भारी देखि अति भारी सम्म वर्षा हुनसक्ने चेतावनी दिएपछि लुम्बिनीका विभिन्न पालिकाहरूले विद्यालयहरूमा बिदा दिएका छन्।
विभागले असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी देखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। त्यसको प्रभाव बुधवारदेखि नै देखिएको छ।
सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
नगर प्रमुख स्तरीय निर्णयबाट २०८३ असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाले जारी गरेको सूचनामा सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा आफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरे।
साथै बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र सम्भावित विपद्बाट जोगिन र नदी क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन पाण्डेले आग्रह गरेका छन्। बुटवलमा बुधवारदेखि नै सामान्य वर्षा सुरु भए पनि त्यसबाट अहिलेसम्म कुनै क्षति नभएको नगरप्रमुख पाण्डेले जानकारी दिए।
यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाले पनि गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८, ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको तथा विपद्को उच्च जोखिम हुनसक्ने पूर्वानुमान गरेको छ।
उक्त मौसम अभिभावकलाई उक्त निर्णयअनुसार विद्यालय बन्द गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वानुमानलाई मध्यनजर गर्दै विद्यार्थी तथा शिक्षकको सुरक्षालाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरूमा असोज ८ गते बिहीबार र ९ गते शुक्रवार दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण तथा विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। गाउँपालिकाले सम्बन्धित विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उक्त निर्णयअनुसार विद्यालय बन्द गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।