तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ नयाँ पुल निर्माणका लागि जग खन्ने क्रममा पुरानो पुलको छेउको भाग भासिएपछि सवारी आवागमन बन्द गरिएको छ।
नयाँ पुलको जग खन्ने क्रममा पुरानो पुलको स्ल्याबमुनिको भागमा रहेको माटो अविरल वर्षाका कारण भासिएपछि पुलमाथिबाट सवारीसाधन चलाउँदा जोखिम हुने देखिएपछि सडक बन्द गरिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार पुलको छेउको भाग भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि पुलमाथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
सडक बन्द भएपछि तुलसीपुरबाट घोराही जाने सवारीसाधनलाई गुम्ह्रा चोक हुँदै राप्ती बबई क्याम्पसको बाटोबाट ग्वारखोलाको पक्की पुल हुँदै बिजौरीतर्फ पठाइएको छ।
घोराहीबाट तुलसीपुर आउने सवारीसाधनका लागि पनि बिजौरीबाट दक्षिणतर्फ नयाँ डाइभर्सन निर्माण गरिएको छ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र बिष्टका अनुसार नयाँ पुल निर्माणका लागि जग खन्ने क्रममा पुरानो पुलको स्ल्याबमुनिको भागमा पहिले गरिएको माटोको फिलिङ अविरल वर्षाका कारण भासिएको हो।
'सम्भावित खतरालाई मध्यनजर गरी तत्कालका लागि पुलमाथिबाट सवारी सञ्चालनमा रोक लगाउनु परेको हो,' बिष्टले भने, 'भासिएको भागमा माटो वा ढुंगा फिलिङ गरिसकेपछि फेरि पुलमाथिबाट सवारी सञ्चालन गर्न मिल्छ।'
यसअघि पनि यही पुलको छेउमा यस्तै समस्या देखिएको थियो। त्यतिबेला पनि भासिएको भागमा ढुंगा र माटो फिलिङ गरिएको थियो।
अहिलेको समस्या पनि अस्थायी प्रकृतिको रहेको बिष्टले बताए।
उनका अनुसार नयाँ पुलका लागि पुरानो पुलको स्ल्याबमुनि खनिएपछि पहिले फिलिङ गरिएको माटोको भाग वर्षाका कारण भत्किएको हो।
'नयाँ पुलका लागि पुलको स्ल्याबमुनि खनेपछि पहिले फिलिङ गरिएको माटोको भाग अविरल वर्षाका कारण भत्किएको हो,' उनले भने, 'त्यो समस्या अस्थायी प्रकृतिको हो। बनाउन मिल्छ र पहिलेको पक्की पुलको जग भासिएको छैन।'
उनका अनुसार पुरानो पुलको मुख्य संरचनामा कुनै क्षति पुगेको छैन।
भासिएको भागमा आवश्यक फिलिङ गरी जोखिम हटाएपछि पुरानै पुलबाट सवारीसाधन सञ्चालन गर्न सकिनेछ।