अविरल बर्षापछि पहिरोका कारण आइतबार पनि विभिन्न राजमार्गहरु अवरुद्ध छन्।
दाङ – सल्यान राप्ती राजमार्ग अन्तर्गत सल्यानको खारखोला – टुनिबोट सडक खण्ड शनिबार दिउँसो करिब ३ बजेदेखि पहिरोका कारण अवरुद्ध छ।
वर्षा निरन्तर भइरहेकोले पहिरो हटाउने काम हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय सल्यानको सूचना अनुसार पहिरो पंछाउने आइतबार दिनभर सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
अत्यावश्यक सवारी साधन आवागमनको लागि मौसम अनुकूलता हेरी सवारी संचालन गर्न दिइने भएको छ।
जिल्लाका अन्य भागका राजमार्गमा खसेका ठूला साना पहिरो भने पन्छाइ सकिएको छ। यद्यपि जिल्ला प्रशासनले अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायातका साधन संचालनमा रोक लगाएको छ ।
दाङ – रोल्पा शहिद मार्ग, पूर्व पश्चिम राजमार्गको दाङ खण्ड, दाङ – सल्यान कालीमाटी हुँदै सुर्खेत जोड्ने यातायात मार्गको अवरोध हटाइ सकिएको डिभिजन सडक कार्यालय दाङका कार्यालय प्रमुख इञ्जिनियर दिपेन्द्र बिष्टले जानकारी दिए।