सल्यानमा वर्षासँगै चलेको तीव्र गतिको हावाहुरीका कारण दर्जनौं सल्लाका रुखहरु ढलेका छन्।
जिल्लाको कपुरकोट गाउँपालिका – ५ रिमको वन जंगल क्षेत्रमा हावा हुरीका कारण ठूलो संख्यामा सल्लाका रुखहरु ढलेको स्थानीयले जानकारी दिएका छन्।
डिभिजन वन कार्यालय संल्यानका वन अधिकृत तथा सूचना अधिकारी तेजेन्द्र रावलका अनुसार रिमको जंगलमा दर्जनौं सल्लाका रुखहरु ढलेको खबर आए पनि त्यस क्षेत्रमा आफूहरू पुगि नसकेको बताए।
पहिरोका कारण राप्ती राजमार्ग अन्तर्गतको सडक खण्ड टुनिबोटमा अवरूद्ध भएको छ।
मोबाइल फोनको नेटवर्क पनि बिहान मात्रै आएको हुँदा घटनास्थलमा पुगेर अवलोकन हुन बाँकी रहेको उनले बताए।
नजिकको सब डिभिजन कार्यालय कपुरकी प्रमुख कमला जिएमले पनि केहीबेर अघि मात्रै मोबाइल टावर आएका कारण थप बिवरण बुझ्ने क्रम जारी रहेको बताइन।
‘गाडी चलेका छैनन् ,’ उनले भनिन् ‘मौसम सफा भइ सकेपछि भोलितिर फिल्डमा पुग्न सम्भव होला।’
विगत तीन दिनदेखि अविरल बर्षा हुनु र त्यसले माटो खुकुलो बनेको समयमा तीब्र गतिको हावा चल्दा दर्जनौंको संख्यामा एकैसाथ रुखहरु ढलेको हुन सक्ने अनुमान वनका अधिकारीहरुको छ।
कपुरका गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष कसैसँग पनि फोन सम्पर्क हुन सकेन।
सल्यानका संचारकर्मी खगेन्द्र केसीका अनुसार विगत ३ दिनदेखि सल्यान विद्युतविहीन भएको छ।
ठाउँ ठउँमा विद्युत पल ढलेको तथा रुखहरु ढलेर विद्युत प्रसारण लाइनमा क्षति पगेको हुँदा जिल्ला विगत ४० घन्टादेखि सञ्चारविहीन बन्न पुगेको उनले बताए।
साना मोबाइल भएका केही सेवाग्राहीका मोबाइल मात्रै सञ्चारको सम्पर्कमा रहेको उनले बताए।
सल्यानमा दाङको तुलसीपुर हुँदै विद्युत विस्तार गरिएको छ। पहाडमा दर्जनौं रुखहरु ढलेका कारण त्यसले विद्युत लाइनमा क्षति पुगेका कारण विद्युत सेवा अवरुद्ध हुन पुगेको हो।
विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश महतोले सल्यान तर्फ ठाउँ– ठाँउमा झरेको पहिरो संगै रुखहरु ढल्दा विद्युत प्रसारण लाइनमा क्षति पुगेका कारण सेवा अवरुद्ध भएको भन्ने सूचना आफूले पाएको बताए।
दाङको तुलसीपुर हुँदै सल्यानमा विद्युत प्रसारण लाइन बिस्तार भए पनि त्यो हेर्ने निकाय सल्यानकै शव स्टेसन भएको हुँदा उसैले मर्मत गरी विद्युत सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।
दाङमा पनि तीब्र हुरी बतासका कारण बिजुली बत्ती नियमित छैन।
छिनछिनमै बत्ती आउने जाने समस्याका कारण उपभोक्ता आजित छन्।
तुलसीपुर बितरण केन्द्रका प्रमुख महतोका अनुसार हावाहुरीले तुलसीपुर वितरण केन्द्रको क्षेत्र भित्र ठाउँ–ठाउँमा साना तिना रुखहरु ढलेर समस्या भएको भए पनि हाल ती सबै क्लियर गरी सकेको जानकारी दिए।
विद्युत आउने जाने समस्या हावाहुरीका कारण भइ रहेको उनले बताए।