नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।
बुधबार मध्याह्न करिब सवा १२ बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ भलवारी निवासी अन्दाजी ४० वर्षीय पोषकान्त पोखरेलको निधन भएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई उपचारको लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक पोखरेलले रुपन्देहीबाट अग्निपरीक्षा नामक साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
अहिले उनको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्रक र चालक कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।