यो वर्ष सबै छुट्यो
वसन्तको पहिलो पालुवा,
बर्खाको झरी, हिलोको बास,
बाउसेको गीत, हरियो धान,
सुनौलो बालामा झुल्केको घाम
बिदा हुँदै गरेको दसैँको हावा,
बिस्तारै ढोका ढकढक्याउँदै आएको जाडो।
तिहार त छुटेको
वर्षौँ भइसक्यो,
टीका लगाइदिने हात
आउनै छोडे,
थाप्ने निधार मात्र
हरेक वर्ष
रित्तै पर्खिरह्यो।
चारै ऋतु छुटे,
छोराको आँसु छुट्यो,
बुढीको काख छुट्यो,
आमाको न्यानो सासमा
बुनिएको माया छुट्यो
बुबाको छहारी छुट्यो,
भाइको काँध छुट्यो,
बुहारीको हातको
तातो भातको बास छुट्यो।
ससुरालीको कुहिरो,
आफन्तको भीड,
आँगनभरि छरिएको हाँसो,
सबै सबै छुट्यो।
हो, २०८३ साल
मेरो जीवनको पात्रोमा
छुटाइहरूले भरिएको
एउटा लामो पाना बन्यो।
परदेश रहेछ,
शरीर मात्र होइन,
मनलाई पनि आफ्नै मान्छेबाट
निर्वासित गर्ने ठाउँ।
कसलाई पोखूँ यो बह?
भित्रभित्रै उठेको हुरी
कुन हावालाई सुनाऊँ?
भित्ताको पात्रो हेर्छु,
दिन गन्छु,
रिल्सका हजार दृश्यमा
आफ्नै अनुहार खोज्छु,
अनि थाकेका आँखा चिम्लेर
निद्रालाई पुकार्छु।
मन भन्छ,
एक दिन फर्किनेछु।
त्यही माटोको बास सुँघ्नेछु,
त्यही आँगनमा पाइला राख्नेछु,
छोरालाई छातीमा टाँसेर
सारा वर्षको खडेरी मेटाउनेछु।
बुढीको काखमा थकाइ बिसाउनेछु,
आमाको औँलामा आफ्नो बालापन भेट्नेछु,
बुबाको छायामा फेरि सुरक्षित हुनेछु,
भाइको हात समातेर
सँगै बसी मिठो भात खानेछु।
त्यो दिन घर मात्र फर्किनेछैन,
मभित्र हराएका ऋतुहरू पनि
एक एक गरी फर्किनेछन्।
अहिलेलाई पर्खाइ मात्र छ,
ती दिनको,
ती ऋतुको,
ती आफ्ना मान्छेको,
अनि आफ्नै माटोमा
आफूलाई फेरि भेट्ने त्यो क्षणको।
परदेशमा वर्ष त बितिजान्छ,
मनको एउटा टुक्रा
सधैँ घरको आँगनमै
कुरेर बसिरहन्छ।