कुरा सुन्दा अचम्म लाग्ला, कुरा सत्य हो, ‘जागिर खाने ढोका’ छ भन्दा। पुरानो शिक्षाको महेन्द्रमालामा एउटा कथा थियो, ‘जुत्ता खाने बुहारी’। मैले काकाको घरमा भेटेको पुरानो पुस्तकमा पढेको थिएँ। साह्रै रोचक कथा थियो त्यो। सुन्दा शीर्षक नै बबालको। यहाँ त साच्चिकै जागिर खाने ढोका छ नै।
‘सप्रेको घरको कामको बेलामा मतो, बिग्रेको घरको खाने बेलामा मतो’ भन्ने कहावत थियो पुरानो। आमाले बारम्बार भनिरहनुहुन्थ्यो। जुन बेला हामी अल्छी गर्दथ्यौँ, उठ्न बिहानमा ढिला गर्दथ्यौँ, आमाले भन्नुहुन्थ्यो। हाम्रो मुलुक पनि त्यस्तै त्यस्तै छ, जहाँ हेर्यो त्यहीँ बेथिति।
आजकल बजारमा अनेकथरि बिजुली बस आएका छन्, यत्रतत्र भेटिन्छन्। हामीलाई त सहयोग भएको छ। चढेपछि बिस रुपैयाँ, ठूला डिजेल बसले पच्चीस लिन्छन्। बस साना, पहिला पहिला पृथ्वी राजमार्ग बन्दा ताका पोखरा काठमाडौँ ९ नम्बर ढ्याङ्ग चल्दथ्यो रे, यस्तै सिट धेरै साना गाडी। बिजुली गाडीमा त किन हो कुन्नि, उकुसमुकुस हुने, बान्ता नै आउने।
फेरि अचेल किफायत गर्नलाई हो कि, किन हो, बेरोजगारी बढाउन हो, अटोमेटिक लिभर ढोका हुँदा रहेछन्। त्यति भएपछि सहचालक नचाहिने, पैसो बचत। त्यसै त ढिलो गुड्ने ढ्याक बस गाडी, त्यहीमाथि तीनजनाको काम एउटैले गरेपछि के हालत। चलाउने, पैसा उठाउने, ढोका त अटोमेटिक लिभरले खोल्छ, बन्द गर्छ।
बसमा चढेकी एकजना बूढी आमैले ‘के हो, आजकल बसमा सहचालक पनि हुन्न क्या हो, भाडा उठाउनी, आफैले जानेर ड्राइभरलाई तिर्न पर्ने। पहिला पहिला त तीनजना हुन्थ्ये, ड्राइभर, किलिन्डर र सहचालक। अहिलेका बसमा त एकैजनाले सबै गर्ने’ भन्दै हुनुहुन्थ्यो।
त्यो अटोमेटिक ढोका सबैतिरका गाडीमा हाल्न थालेका छन्। त्यो त ठिकै हो, तर सहचालक या कन्डक्टरको जागिर चट, अब भएन त जागिर खाने ढोका। उता सरकार जागिर दिने, बढाउने भनेर ५५ र ३०वर्ष गर्दैछ, यता ढोकाले जागिर खाँदैछ। सरकारले नदेखेको हो कि नदेखे जस्तो गरेको हो, भगवान् जानून्।
यातायात व्यवस्था विभाग लाइसेन्समा रमेको, झुलेको, भुलेको बेला सबैतिर बस, गाडी, घोडा, कार, जिप, ट्याक्सी सबैतिर बेथिति नै बेथिति छ। सरकार हलोमा फोन गर भन्छ, कहाँ कति मात्र फोन गर्ने? घरबाट निस्केपछि पाइलैपिच्छे विकृति भेटिन्छन्।
फेरि सुन्दैछु, हाकिमले सरकारी अफिसको मोटर आफैँ हाँक्ने भएमा ड्राइभरको पनि तलब पाउने रे। कस्तो अचम्म? यो पनि अर्को जागिर खाने मेलो भएन त? भन्न त मानिसले भन्दछन्, एआईले जागिर खान्छ। यहाँ त सरकारले नै जागिर खाने भयो। कुरा बजारमा आएको छ, सत्य के हो? यो हल्लै हल्लाको देश हो, हुन पनि सक्छ। तर जागिर खाने कुरा चाहे अटोमेटिक ढोकाले होस् या सरकारले, नराम्रै हो है।
हुन त बसवाला मालिक, ड्राइभर, कन्डक्टर, सहचालक अचम्मका छन्। कोही बसमा चढेकालाई चकलेट बाँड्छन्। कोही कन्डक्टर, जो बसबाट मन्दिरमा भुड्के पूजा अर्थात् गणेश चौथिको पूजा गरिरहेका दिदीबहिनीहरूलाई ‘त्यहाँ पूजा गरेर बेलुका मेरो घर आइज, भरे जल खान है’ भन्दै चिच्याउने किसिमका छन्। कस्तो अश्लील लाग्छ। नियम कानुन खोलामा, पैसा लिन्छन् झोलामा जस्तो छ। बसवाला त्यस्तै छन्, मनपरी गरेर कमाउनुपर्ने, थिति रिति केही छैन। गर्नेलाई भन्दा देख्नेलाई लाज।
अहिले त कलङ्कीको अन्डरपासमा रङ लगाएर चिरिच्याट पारेको छ। बिचरा दिनभर दुनियाँलाई ओसारेर सेवा दिने ती ड्राइभर, सहचालकलाई पिसाब गर्ने पाइखाना समेत छैन। कलङ्कीको पुलमुनि पिसाब गर्न बाध्य छन्। कहिले बालाजुनेरको झाडीमा जान्छन् पिसाब गर्न। कहिले सुकेधारातिर। आफू सार्वजनिक सवारीमा हिँड्ने भएकाले यो सबै देखेको र लेखेको छु, सरकार छ भने चेत खुलोस् भनेर।
सरकारले ठूला महान् कार्य गर्न पर्दैन, ठूला आयोजना, महँगा कामभन्दा पनि स-साना जनतालाई, नागरिकलाई खड्किएका, पिरोलिएका, सताइरहेका कुरामा केही सुधार गरे पुग्छ। सगरमाथा चढ्न पनि एक पाइलादेखि सुरु हुन्छ। यस्तै स-साना कामबाट निमुखालाई राहत हुन्छ। नेपाली त्यसै पनि विश्वमा खुसी हुने मान्छेमध्ये पर्दछन्।
जताततै बिजुली गाडी चल्दछन्। म बजियालाई पिरोलो लाग्छ, यो ब्याट्री पछि गएर कहाँ फाल्ने होला? कि ब्याट्री डम्पिङ गर्न पनि नेपालले विदेशबाट सहायता, अनुदान लिनुपर्ने बेला कसो नआउला? दिन जान के बेर लाग्छ र? बेलैमा सोच्ने कि?
हुन त चीनले बनाएको बसपार्कमा सुपर मार्केट मल खोल्न लगाएर बस सडकतिर पार्क गर्न बाध्य पार्ने शासकहरू भएको देशमा जे पनि हुन सक्छ। नौलो मान्न पर्दैन, किनकि लाजसरम, घिन, इज्जत, बेइज्जत कसैमा छैन।
देशमा सबैले राम्रोसँग काम गर्ने हो भने बन्न बेरै लाग्दैन, तर यहाँ त गर्नेभन्दा बोल्ने बेसी छन्। धमाधम जागिर घटिरहेको छ, खर्च कटौतीका नाउँमा। काम बढाउने, लगानी बढाउनेतिर कसैको ध्यान छैन।
सानो इलम, उद्यम खोल्न पनि कम्पनीमा जानुपर्ने। कम्पनीमा जाँदा महाभारत छ, छुट्टै कोर्स लिनुपर्ने जस्तो। नचाहिने काम लगाएको छ। साना, मझौला, ठूला सबै उद्योगलाई सोलोडोलोमा नियम बनाएको छ। उद्यम सोच बोकेकालाई जाँतोमा घुन पिसेझैँ पिसेको छ, अत्याचार छ। कसैले सुन्दैन, कसरी बढ्छ रोजगारी? काम, माम अनि हुँदैन चोरी, डकैती, पाकेटमार।
सोचौँ, थालौँ, सुधारौँ, गरौँ अभियान, बढाउन स्वदेशमा रोजगारी, उद्यमी, व्यापारीलाई सहज पारौँ। कर, राजस्व, शुल्क, महसुल लिऔँ, काम छिटो गरौँ, बिस कोठामा नघुमाऊ, नसताऊ, देश छाड्न बाध्य नपारौँ, काम नलाग्ने नियम फेरौँ। मान्छे त फेरियो, नियम फेर्न किन ढिलाइ? सार्वजनिक यातायात सुधारौँ, ५ किमि गुड्न ३० मिनेट लाग्ने अव्यवस्था हटाऊ।