बाराही मन्दिरको बीचमा रहेको ठूलो घण्टा अगाडि मरक्क कम्मर मर्काउँदै बेलमती बसउठ नाची। दश सेकण्डको टाइमर लगाई। नाच्दै सर्ट भिडियो बनाई। भिडियोहरू ड्राफ्टमा राखी।
पिसाबले ब्लाडर फुट्लाजस्तै भएछ। हतारहतार ड्राफ्टबाट भिडियो छानी। क्याप्सन लेखी ‘फूल हुँ म, सक्छौ टिपेर सिरमा सजाऊ, च्यातेर बाटोमा नमिल्क्याऊ। पन्ध्र सेकेण्डको भिडियो टिकटक र इन्स्टाग्राममा पोस्ट गरी।
मिडी स्कर्ट माथि सार्दै बारीको छेउतिर कुदी र बोराले बारेको चर्पीभित्र पसी।
एक घण्टा अघिमात्रै अपलोड गरेको पोस्ट। थुप्रै लाइकहरू, कमेन्ट र इमोजीहरू बर्सिए। एक दर्जन बढीले ड्वेट बनाएछन्। दुई जनाले भिडियो रिपोस्ट गरेछन्। एक सय पन्ध्र जनाले सेयर गरिसके। तीन जनाले कमेन्टमा ‘नाच होस त यस्तो!’ लेख्दै स्टिच गरे।
बेलमती खुशीले निपुल्किन थाली। आफूलाई माया गर्ने मालिक लामो समयपछि घर फर्किँदा अङ्गालो हाल्न आएको कुकुरझैँ बुर्कुसी मार्दै यताउति गरी।
पल्लो कोठाका डेरावाल छिमेकी नेपाली शिक्षक अमरकान्त। बेलमती र फूलमतीको दैनिकीबाट बालसुलभ मस्तिष्कको नजिकबाट गतिलै अध्ययन गर्ने मौका पाइरहेको हुन्थ्यो।
‘बैंकमा खाता खोल्न निस्सा चाहिने। आफ्नै पैसा निकाल्न दस्तखत मिल्नुपर्ने। यी सामाजिक सञ्जालमा जसरी पनि, जे नामले पनि, जति पनि खाता खोल्न पाइने! छद्म नाम र कामलाई बैधानिकरण किन? डिजिटल लतमा फसाउन अनुदानको बिउजस्तो त हैन होला? एकपटक दिने अनि रैथाने बिउ सकाउने। पछि अनुदानकै बिउ नभई नहुने? खै कसरी बुझ्ने हो? कसले बुझ्ने हो यसलाई?’
अमरकान्तको आशङ्काको बारीमा थुप्रै प्रश्नका टुसाहरू अङ्कुराए।
मध्य किशोरावस्थाको बय। बेलमतीको दिनचर्या र आनीबानी फेरिँदै गए। खाने, बस्ने, सुत्ने, उठ्ने, चुठ्ने सबै तालिका बिग्रिए। खाना खाँदा स्क्रिन अगाडि भएन कि एक गास जान्थेन। चरालाई जति पस्किएको भाग खान घण्टौँ लगाउन थाली। आँखा र औँलाहरू स्क्रिन कोतर्नमै मग्न भए।
‘केही कैफियत भए हामीले सर्वश्व ठानेका सबै अभिलेख चिलिम हुने। म्यानिपुलेसन सबै उतैबाट। के यस्ता सञ्जाल आफैले बनाउन सक्दैनौँ होला त हामी?’
नेपाले डाँडाको सिउँदोमा टल्केको बिहानी रोशनी झ्यालको छिद्रबाट चियाउँदै अमरकान्तले आफैलाई प्रश्न गर्यो।
आकाशमा कर्याङकुरुङको हुल देखियो। साइबेरियाबाट लामो यात्रा तय गरेर दक्षिणतिर बेग मारिरहेको बगाल। अमरकान्तले बार्दलीमा निस्केर हेरिरह्यो।
***
आडभरोसको कति माने हुन्छ। सुखध्वजका दाजुभाइहरू आधा दर्जन थिए। अलिअलि आम्दानीको स्रोत भेटेपछि चार भाइ सहर झरे। गाउँमा ऐँचोपैँचो, सरसापट, अरिमपरिम, हुद्दा लाउँदाको रमाइलो बिरानो हुँदै गयो। राममायाले आफ्नो परिवार एक्लो परेको अनुभूति गर्न थाली। माइतीसँग रिन मागी। पैसाको जोहो गरी। उमेरले दुई बीस सात पुगेको सुखध्वजलाई कतार पठाई।
सुखध्वजले दुईचार पैसा बचाएर घरमा पठाउन थाल्यो। आयस्ताको स्रोत भेटेपछि म पनि के कम भनी। फुस्रे बजारमा डेरा खोजी। माथ्लाघरका धीरदत्तलाई खेतबारी र अन्य वस्तु अधियाँमा दिने चाँजोपाँजो मिलाई। राममायाले झिटीगुन्टा पोको पारी र केटाकेटीलाई खेदेर बजार झर्ने सुरसार गरी।
तेर्ह वर्षमा बिहे गरेर सुखध्वजको घर भित्रिएकी राममाया। पच्चीस वर्षसम्म जोरेका फोगटा। झिसमिसेमा सोहोरेको गोठ। घाम नझुल्किँदै पोतेको सँगार। मटकिलोबाट माटेआरीमा माटो भरेर लेसाएको सिकुवा। गाईको गोबरले जुठो लोटाएको मझेरी बिचको अगेनो। सबैलाई चटक्कै माया मार्न मन पटक्कै मानेको थिएन।
बाटो लाग्नु अघि राममाया एकपटक गोठतिर गई। घाँसबिनै पग्रिहाल्ने त्यो गुनिलो भैंसी। दश वर्षसम्म एकै लात्ती नबजारेको त्यो दुधालु गाई। बेतैपिच्छे जुम्ल्याहा बोका पाउने त्यो काली बाख्रो। ती बाच्छाबाच्छी र पाठापाठी सबैलाई शिरदेखि पुच्छरसम्म मुसारी। माली गाईले उसको गालामा चाटिरह्यो। बाच्छाहरूसँग टाउको जोरेर म्वाइँ खाई।
आँखाबाट बलिन्द्र धारा आँसु झरे। रोक्ने अनेक यत्न गरी। सकिन। पटुकीको फुर्कोले आँसु पुछी। सम्हालिने अनेक चेष्टा गरी।
‘आमा नजाम का हामी बजारमा यत्ति राम्रो गाउँ छोडेर!’
बेलमतीले आमाको पाखुरी समाउँदै बिलौना गरी।
‘आमा यी पाठाहरूलाई कस्ले खेलाउँच अब? कस्ले कुँडो पकाउँच बिहानै गोठमा? ‘
फूलमतीको मन पनि कटक्कै खायो। गाउँ छोड्ने भनेपछि दुई दिनदेखि खाना राम्रोसँग खाएका थिएनन् उनीहरू।
त्यो फराकिलो स्कुल। ती स्नेहिला सङ्गीसाथी। डल्ली, भुकुली, नेप्टी, बाटुली र देवकीका मुहारहरू आँखाभरि नाचिरहे।
त्यो भरिलो गोठ। त्यो माली गाई। ती झिल्के बाच्छाहरू। जता जाँदा पनि पछि लागिरहने काली बाख्राका तिल्के र झक्कले पाठाहरू। बाहिरका मान्छे देखे उफ्रेर ठुँग्न जाने रातो जुरो भएको लोर्के भाले। बर्सेनि मिठो मह दिने धुरीको छानामुनिको घारका कर्मी माहुरीहरू। आँखा वरिपरि क्यासेट प्लेयरको रिलझैं फनफनी घुमिरहे।
आँसुले दुवै बहिनीका आँखा जलमग्न भए। कमिजका बाहुलाले पुछे। मन निकै गह्रौँ भयो।
पाइला सर्नै मानेका थिएनन्। गुन्टा बोकेर उनीहरू बेसी झरे। बस बिसौनीसम्म नपुग्दासम्म फर्की फर्की घरतिर हेरिरहे।
मालीगाई ‘बाँ’ गरेको सुनियो। टौवामाथि चढेर काली बाख्राका पाठाहरू एकटकले उँधो हेरेर टोलाइरहेका थिए।
***
सुख होला भनी झरेको सहर। रहरै रहरमा उडेको पन्छी कहरमा परेजस्तै लाग्यो राममायालाई। रुपियाँ बिना केही उपाय नचल्ने रहेछ सहरमा।
गाउँमा लदाबदी फल्ने तरकारीका झालहरू झल्झली सम्झी। गाउँभरिका छिमेकीलाई तरकारी बाँड्थी। सहरमा पाउमा किनेर पोको पार्नुपर्ने। यस्तो दैनिकी पटक्कै चित्त बुझेन। राममायालाई एक्कासि दाताबाट मगन्तेमा झरेको अनुभूति भयो।
बेलमती र फूलमतीलाई नजिकैको स्कुलमा लगेर भर्ना गरी। पहिलो बोर्डिङ स्कुल। नौला अनुहारहरू। फरक व्यवहारहरू। नयाँ परिपाठ। साँघुरा कोठा। खेल्ने, कुद्ने ठाउँको अभाव। टाठाबाठाहरूले सानो घर भाडामा लिएर चलाएको स्कुल। बेलमतीलाई स्कुल स्कुल जस्तै लागेन।
‘आमा, यस्तो बजाराँ किन आ’को र हामी? जाम है फर्केर गाउँमै? त्यस्तो साँघुरो घरजस्तो स्कुलमा त जान्नम हामी।’
फूलमतीले मलिन अनुहार लाएर गुनासो गरी।
राममायाको मन खन्न भयो।
‘क्यार्चौ सप्पैले गाउँ बनाउन भन्दा छोडे राजा हुन्चम जस्तो अर्चन्। हामी पनि एक्लै क्यारी बस्ने?’ तिमेरुलाई नै सुख्ख दिन भनेर आइयो…’
बोल्दाबोल्दै वक्य रोकियो राममायाको। आँखा फेरि रसिला भए। पछाडि फर्केर मजेत्रोले पुछेर आँखा ओबाना बनाउन खोजी। छाती जाँतोले थिचेजस्तै भयो।
‘खै कुन बतासले थातथलोबाट उडाउँछ मान्छेलाई। के देखेर सहर झर्छन् यिनीहरू? अस्पताल नजिक हुन्छन् भनेर किन लामो आयु र धेरै खुशीले जिउन सकिने गाउँ छोडिरहेछन्? किन बिरामी पर्ने योजना गरिहेछन् आजकल मनुवाहरू?’
अमरकान्तको मनमा कौतुकता उम्लिरह्यो।
***
गाउँमा छउन्जेल राममायालाई जे काममा पनि सघाउने जुम्ल्याहा छोरीहरू। बजारमा ढलेको सिन्को उठाउन छोडे। सुखध्वजले पठाएको मोबाइलमा दुई बहिनी निहुरमुन्टी लाइरहन थाले।
पढाई खर्च तिर्नु नपर्ने। उल्टै छात्रवृत्ति पाइने सरकारी स्कुल। बजारमा मासिक बिल केटाकेटीको झोलामा आउन थाले। बिल नतिरे परीक्षाका प्रवेश पत्र नदिने चलन रहेछ।
कहाँकहाँबाट जम्मा भएका अनेक दिशाका मान्छेहरूको भीडले बनेको सहर। अनेक संस्कार र रीति। एउटा घरमा बाजा बज्दै हुने। अर्को घरमा शङ्ख टुँ पार्दै गरेको सुनिने। एकछिन झिलिक्क पार्यो। टिलिक्क टल्कायो अनि सकियो। बोलीमा जलप। व्यवहारमा लेपन। कुनै चीजमा पनि माटोको सुगन्ध भेटिन राममायाले सहरमा।
जे परे पनि दिल खोलेर मद्दत गर्ने गाउँका सङ्गीसाथी सम्झी। त्यो घरछेउको चौतारी। ती थरीथरीका जडीबुटी। बचपनमा खाने खाजा ड्रागनफ्रुटको मीत जस्तै खन्यु। जामाको खल्तीभरि राख्ने रातिगेडी। जिब्रो कालो पार्ने कालीअँगेरी। हलुवाबेदको सैना जस्तै तिजु। सानो तामाको ताउलीको भातको चोइला जस्तै कटुस। पानी पर्दा रसिला हुने आँखापक्कुवा। झल्झली झल्किए रेटिनामा। गोठभरिका गाई-भैंसीको चित्र। के गर्दै होलान्। दुब्लाएर करङ मात्रै भए कि?
अन्नपातको छेलोखेलो र खुला आँगनमा हुर्केकी राममाया साँघुरो घेरामा भित्रभित्रै टाउसिँदै गएकी थिई।
पचास गजको गाउँको त्यो फराकिलो आँगन। त्यो चौडा पटाहा। यता डेराको साँघुरो घेरा। आत्मकैदमा परेको बन्दीजस्तै महसुस गरी आफूलाई।
एकदिन सबेरै नजिकैको मण्डीबाट ल्याएका फर्सीको मुन्टा केलाउँदै थिई। राममायाको मनभरि तर्कना आउजाउ गरिरहे।
मल्याङ्दी खोलातिर फर्केको झ्यालबाट गाइनेकिरो भुनभुनाउँदै राममायाको डेराभित्र छिर्यो। ढोकामा झुण्ड्याइएका लुगामा बस्यो। राममाया नजिक गएर हेरी। ऊ भित्तामा सर्यो।
बाहिर जाने बाटो बिरायो कि भनेर ढोका खोली। ऊ गएन। उडेर बेलमतीको कुर्थामा बस्यो। उसले औँलाले च्याप्प पुच्छरमा समाई। बाहिर निकाली र भुर्र उडाई।
गाइनेकिरो फर्केर फेरि उसकै कोठामा आयो।
‘हैन यो पानीपिच्चाले के खोजेको होला? फर्की फर्की आउँच त! हामीजस्तै आफ्नो नाम, गाउँदेश, भेष, समाज छोडेर साथी खोज्दै हिँडेको हो कि?’ उत्तर नआउने प्रश्न सोधिरही आफैलाई।
आफ्नो अवस्थासँग पानीपिच्चालाई दाँजी। उसको हालत र आफ्नो हालत उस्तै देखी। गाइनेकिराको पखेटामा आफ्नै चित्र परावर्तित भएको भेटी।
गाउँबाटै बोकी ल्याएको भित्ताको पेण्डुलम घडीमा ब्याट्री सकिएको थियो। जतिबेला हेर्दा पनि बाह्र बजेको देखिन्थ्यो।
घडीका सुई थला परेपनि समय अगाडि कुदिरहने रहेछ।
जुम्ल्याहा मध्येकी जेठी बेलमती। स्वभाव अलि चटपटे थियो। पल्लो कोठाबाट स्कुल जानलाई ठीक्क परेर निस्कन्थी। आकाशे रङ्गको कमिज। गाढा निलो मिडी। छानामा झुण्ड्याएर राखेको कर्कलोका चुल्ठी जस्तै बाटेको केश। चुल्ठीमा रातो रिबनका फूल। मुहारभरि पाउडर घसेर उज्याली बन्थी। कान्छी फूलमती सोझी थिई। उसलाई सटरपटरमा दिलचस्पी थिएन।
राममायाले भड्डुबाट कर्चुलोले कपेर तात्तातै भात खोस्री। खोप्पे थालमा सानो चोइलो राखी र चकलाको अगाडि टकारी।
‘ल छिटोछिटो खाएर मुन्ट्याओ स्कुल।’
दुनामा लप्सीको अचार राखिदिई। गाउँबाट डोकोमा बोकेर ल्याएको जाँतो कुनामा गाडेकी थिई। लोरोले हातो ठोकी। मानी मिलाई। र, मकैको ओइरो हाली र घ्यार्र-घ्यार्र जाँतो रिँगाई।
बेलमतीले मकैका खोस्टाको चकटीमा पुठ्ठाको पिँध टुसुक्क अड्याई। झटपट मोबाइल निकाली। र, टिकटकमा लाइभ बस्न थाली।
‘ट्याप्ट्याप गर्नूस है गाइच स्कुल जाने बेला हुन लायो!’ भातको गास मुखमा लाँदै भन्थी।
नोटिफिकेसनको टोन ट्वाङ्ग गर्यो। एउटाले गुलाबको फूलको इमोजी पठाएछ।
खुशीले खप्नै सकिन। दौडिँदै जाँतेकुनामा गई र आमालाई देखाई।
‘यी आमा गुलाबको फूल हेर त!’ न्याउरी मारी पछुतो कथामा सर्प मारेपछि फुर्कँदै आएको न्याउरीझैं गरी।
‘को हो यो पठाउनी खुरुक्क भन्? दायाँबायाँ अरिस् भने तेरो डँडाल्नु भाँच्तिन्छु?’
राममायाले र्याखर्याख पारी।
गाउँमा हुँदा चित्रेको वनमा बाख्रा चराउन जान्थी बेलमती। डल्ली, डोल्कर, पुकुली र सान्नानी उसका बालसखा थिए।
***
मल्याङदी खोला किनारमा बसेको फुर्से बजार। महङ्गो भाडा र खर्चिलो दैनिकी। जीविका कष्टप्रद थियो। भोको पेट पटुकीले कसेर सन्तानको सन्तुष्टि खोज्ने मान्छेको अर्को नाम नै बाआमा हुँदोरहेछ।
राममायाकी स्कुल पढ्दाकी साथी लक्षिमा। तल्लु छेउबाट भेट्न भनेर आई। अघिल्लो दिन मण्डीमा भेट्दा चिया खान निम्तो गरेकी थिई। उसलाई भेट्दा पनि राममायालाई गाउँमै पुगेजस्तो, बालापनमै फर्केजस्तो लाग्यो।
‘म चा’ पकाउँचु। बस है एकछिन लक्षिमा?’ राममायाले गाउँबाट ल्याएको पिर्के गुन्द्री बिछ्याई र भित्र पसी।
एकैछिनमा माने कचौराभरि सिरिम्लाका खट्टे र चिया लिएर आई।
‘खट्टे त मन पार्चेस नि तैंले हैन?’ मुहारतिर बयली खेल्दै गरेको लामो कपाल पछाडि सार्दै सोधी।
बेलमती स्कुलबाट आएर चर्पी गएकी थिई। चर्पीमा कोहीसँग बोलेको जस्तो सुनेर लक्षिमा नजिक गएर चियो गरी।
‘घरबाट निस्के त मार्छिन् हाम्री आमाले…।’ अरु प्रष्ट बुझिएन।
‘ओइ राममाया तेरी छोरी त ट्वाइलेटाँ कुरा अर्दै छे त! अग्गि नै देखि हो निस्कँदै निस्कन्न। कस्तो नगना’को भन्चु!’ लक्षिमाले विस्मयमा पर्दै सोधी।
‘हो र? तो त बिउरिने भई बाइ लक्षिमा क्यार्नी हो? हाम्ले धेरै दुख्ख अरियो। यिनेरुले त्यस्तो भोउन नपरोस् भन्नी लाउनी र’च। सहरमा समाली साध्य नहुनी भओ गाँठे!’
राममायाले लामो सुस्केरा हाली।
लोग्नेले पठाएको दुईचार पैसाले केटाकेटीको फीस, डेराको भाडा, तिहुनताहुन, ओरापरी किन्दै चटनी हुन्थ्यो। कहिले बचाउने। कहिले माथि उठ्ने। सँधै पिरलो भइरह्यो।
कचकचे घरबेटी। कोठाको ढोकामा नयाँ जुत्ता र चप्पल देख्यो कि गनगन गरिहाल्ने। राममाया बसेको घरको पल्लोपट्टिको छिमेकी पनि उस्तै। बेस्सरी केटाकेटी कराउँदा पनि बोलाएर केरकार गर्थ्यो। मानौं कि त्यो घर पनि उसकै राज्य हो।
त्यो सारा कुरा अबोध केटाकेटीलाई के थाहा? बेला बेला झपाराई खान्थे दुई बहिनीले। कलकलाउँदा मस्तिष्कमा कति गहिरो छाप पर्दो हो।
अमरकान्तको कानमा कता कता नेपथ्यमा गरिबी क्वाँक्वाँ रुँदै चीत्कार गरेको जस्तै प्रतीत भयो।
***
सुखध्वज कतार गएको पनि तीन वर्ष पुग्यो। हवाईपत्रका चिठी आउन महिना दिन लाग्ने समयमा धीरता बेग्लै हुन्थ्यो। छिनछिनमा भिडियो कल हुने आजको समय। मान्छेको अधीरता, यान्त्रिकता र जड्ता अजबको देखिँदै जान थालेछ।
दशैं र तिहार नजिकिँदै थिए। आकाशमा कालो मेघमाला झल्याङझुलुङ गरिरह्यो। राममायाले ‘फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा...’ गुनगुनाउँदै डाडुमा घिउ तताएर जिम्मुले दाल झान्दै थिई। डेरा अगाडिको चिलाउनेको हाँगामा काग करायो। उसले लखेटी। काग दक्षिण दिशातिर उड्यो।
‘हैन बूढा आजै आउँचन् क्यो? राममायाले मनमनै आत्मालाप गरी।
सुखध्वजलाई सहरमा घरघडेरी बनाउने पैसा जम्मा गरेर फर्कने उर्दी थियो राममायाको।
‘एउटो घर’नि बनाउन सकेनौ हुतिहारा।’
बेला बेला डसिरहन्थी राममाया लोग्नेलाई। सुखध्वजको रिनले थिचेर थला पार्ने आफ्नै घर भन्दा भाडामा दिन बनाएका साहुकै घर ठीक भन्ने सोच्थ्यो।
बडादशैंको फूलपातीको दिन। सुखध्वज लगेज गुडाउँदै टुप्लुक्क आइपुग्यो।
‘अम्रिकाट आ’को भए लिनै जान्तिस् होला। कहाँ आइस बूढा भनेर सोधिनेस् है तैंले?’
खुट्टा ढोग्दै गरेको राममायालाई गुनासो पोख्यो सुखध्वजले।
उसले फराकिलो आँगनमा खेलेर खुट्टा लागेका छोरीहरू डेरामा कैदी भएको देख्यो। मन भत्भती पोल्यो।
बाजेका पालाको माटाको कुल्फी उसको साथमै हुन्थ्यो। मुढामा बस्यो। चुरोटको ठुटो कुल्फीमा ठोस्यो। सलाई झोस्यो र सल्कायो। अहिलेसम्म तिरेको भाडा र रसदपानीको लेखाजोखा गर्यो। पन्ध्र लाख हाराहारी निस्कियो।
‘सानोतिनो घर किन्नी दाम त फोकटमा सक्केच।’ आँत चिसो भयो उसको।
डेरामा घरबेटी र छिमेकीले दिएको मानसिक पीडाहरू बेहिसाब थिए। दोष तकदिरलाई दिनुपर्ने विवशता। विवशताहरू कहिलेकाहीँ ज्वाला बनेर मुस्लिन्थे भित्रभित्रै। विस्फोट हुन खोज्थे। तर विवेकको पर्खालले उत्निखेरै छेकिहाल्थ्यो।
‘बचेराहरू पखेटा लागे’सि उडिहाल्चन्। बेलैमा एउटा गुँड त बनाउन पर्च राहिँला!’
सुखध्वजले गाउँका धरमदत्त काकाले दिएको अर्ती सम्झ्यो।
‘डेराको साँघुरो घेरामा ब्रोइलर कुखुराझैं हुर्काई। संसारमा खुशी मात्रै छ भन्ने लाग्ने बालापन। पैसा तिरेर पनि लघुताभासको जाँतोमा पिसिइरहनुपर्ने नाजुकता। कलकलाउँदो बालसुलभ मानसपटल। यस्ता यस्ता लघुताभासको परावर्तनको शिकार बन्नुपर्दा हुने मानसिक क्षति र असरको जिम्मा कसले लिने?’
छिमेकी डेरामा दैनिक कचकच र केटाकेटीसँगको झर्किँदो व्यवहार देखेर अमरकान्तले सोचिरहन्थ्यो।
***
एकदिन स्कुलबाट फर्किँदा बेलमतीलेले हातमा नयाँ टल्कने फोन देखाउँदै आई। आधी भाग मुसाले खाएको स्याउको जस्तो लोगो भएको मोबाइल भने’सि ऊ हुरुक्कै हुन्थी। अस्तिसम्म बाउले पठाइदिएको पुरानो मोबाइल बोकेकी बेलमतीको हातमा एक्कासि आइफोन सत्र प्रो म्याक्स।
राममाया झसङ्ग परी। ‘भन् तँलाई मोबाइल किन्नी पैसा कस्ले दे’ओ? कि कतै नाठो बना’र राखिच्चेस्?
फरक कुल, फरक संस्कृति भएको अस्ट्रेलिया गएको रिट्ठे साहुको छोरो मङ्गलमानसँग स्न्यापच्याटमा कुरा गर्दागर्दै बेलमतीको हिमचिम बढेको सुइँको पाएकी थिई राममायाले।
त्यो दिन राति राममायालाई अबेरसम्म निद्रा परेन। बेलमतीकै सुर्ता लागिरह्यो। सँगै बस्दा र सुत्दासम्म ठीकठाक थिई। अलग्गै कोठा चाहिने भनेर छुट्टै कोठामा बस्न थालेपछि बिग्रेको भन्ने लाग्यो।
निद्रा नपरेपछि राममायाले बेलमतीको कोठाको झ्यालमा गएर चियो गरी।
उँ.... हुँ... गर्दै गुनगुन गरेको सुनियो।
भोलिपल्ट बिहान मसालाको बोटमा न्याउली जोडी आएर जुराउन थाले। राममायाले जर्फराउँदै बेलमतीको कोठाको ढोका खोली।
‘तेरो पारा ठीक छैन है नौताले! भन् रातभरि नसुती कोसँ गफ अर्चेस्?’ झन आफूले काटेको दुख्ख नभोगून् भनेर सकी नसकी सहराँ ल्या’र राख्खिओ। केही गरिखालान् भन्निओ। यस्लाई भने पोइल जान हतार भ’को रै’च।’
निधारभरि गाँठा पार्दै गाली गरी राममायाले।
गए वैशाखमा सोह्र टेकेकी बेलमती घोसेमुन्टो लाएर सुनिरही।
‘तँलाई नखरमाउली तेरो बाउलाई भनेर अब तेरो बिहा अर्दिन्चु। अनि जे अर्न मन लाउँच अर्लिस्।’ राममाया घाँटीका नसा फुलुञ्जेल कड्की।
असरल्ल केश। भद्रगोल बिछ्यौना। कचेरा पनि नपुछी बेलमती निहुरमुन्टी लाइरही।
‘के जातको हो तो? भन नत्र जगल्टामा समा’र रिङ्गाइदिन्चु।’राममायाको अनुहार कालो भयो।
‘खुरुक्क भन यो मोबाइल कल्ले ल्याइदे’को हो?’ राममायाले मोबाइलको अन्तर्य फेरि कोट्याई।
‘बैसले मैमत्त भइस् हैन? था’छ उन्मत्त बैंसाँ ख’रे पनि उर्लिन्च। इत्लाकान्ला, धुरी भत्काउन खोच्च। तर हिउँदाँ आफ्नै ठेकानमा फर्किनुपर्च बुझिस् नकछैयाँ? राममायाले धाराप्रवाह रूपमा गाली बर्साइरही।
‘बुढीमाउ तिम्ले नि लब अरेर ब्या अरेकी हौ रे त! के को मलाई मार्चे भुईंसी जस्तो ग्यारग्यार पार्चेउ?’
लामो समयको मौनता तोड्दै चसक्क घोच्ने गरी बेलमतीले जवाफ फर्काई।
‘हामी नबोली, नभेटी टाढै’ट मन पराउँथिम। कुल, घरान, रीत मिल्नीसँ घरमा माउन पठाएर ब्या अर्थिम चोथाले।’
राममायाले आफ्नो समयको रक्षा गर्ने भरमग्दुर प्रयत्न गरी।
भोलिपल्ट बिहान बेलमतीले आइफोन मोबाइलबाट राममायाको फोटो खिची। राममायाले बेलमतीको हातको मोबाइल छुन खोजी। दिइन उसले। आमाको फोटो एडिट गरी। सनराइज इफेक्ट हाली। स्क्रिनमा देखाई तस्वीरले सोह्र वर्षेजस्तो देखायो। राममाया एकाएक मख्ख परी।
बेलमतीले आफूलाई फकाउन खोजेको चाल पाई।
‘म क्यै अर्दिन। नढाँटी भन यो मोबाइल कस्ले ल्याइदे’को हो?’ राममायाले मोबाइल दाता नजानी नछोड्ने अड्डी कसी।
मङ्गलमान अस्ट्रेलियाबाट पहिलो छुट्टी आउँदा बेलमतीलाई स्कुलमा देखेर आँखा लाएको रहेछ। उसैले छुट्टी सकिएर फर्किंदा आफ्नो मोबाइल छोडिदिएको रे। बेलमतीले फकाएपछि आमालाई बेलीविस्तार लगाई।
***
जीवनका इकिगाई खोज्न घर, गोठ, खेतबारी बेचेर गाउँबाट रिन काढेर लाहुर निस्केका युवाहरूको सपना घर, गाडी र भोगबिलास मात्र भएको देख्दा अमरकान्त चिन्तित हुन्थ्यो।
‘आमाबा, पूर्वज र देशलाई गाली गरेर हामी कहिल्यै उँभो लाउँदैन रै’छौं अमरकान्त।’
दश वर्ष जर्जिया बसेर स्वदेश फर्केको साथी खुशीरामले अमरकान्तसँग स्कुलमा भेट भएको बेला सुनायो।
दुवैले सामाजिक सञ्जाल नआउँदैको समय र आएपछि बदलिँदै गएको दैनिकीका बारेमा निकै बेर कुरा गरे।
‘किन खहरे बन्न खोज्छ होला मान्छे? उमेर र जवानी क्षणिक भन्ने किन बिर्सिन्छ होला? पुर्खाले वर्षौंदेखि खडा गरेका नैतिकता र इमानका दीवार, मर्यादाका पर्खाल र सामाजिक अनुशासनका परिसीमाहरू भत्काउँदा किन निकै क्रान्तिकारी ठान्छ होला मान्छे?’
खुशीरामले देश खाएर शेष रहेको जसरी अर्ती दिने पारामा प्रश्न गर्यो।
सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले गरिब देशका समाज र कलिला मगजमा पारेको दुष्प्रभावले अमरकान्तलाई पनि छोइरहेको थियो।
‘अब सोच बदल्नुपर्छ यार। गरिखाइराखेकालाई उक्साएर बसी खाने ठूलो हो भन्ने पारियो। नाफाखोरहरूलाई त चाहिएकै त्यही हो। यही चालले त हाम्रो आफ्नो भन्ने केही बाँकी रहन्न। अनि जबर्जस्ती उपभोक्ताकरणको माकुरी जालमा फट्याङ्ग्रो जस्तै फसिराखिन्छ यार।’
अमरकान्तले होमाहो मिलाउँदै थप्यो।
‘आफ्नो सन्दुकको चाबी नलगाई हामीले घरका सबै ढोकाहरू ह्वाङ्गै खोल्यौं। हाम्रो पहिचान र माटोको सुगन्ध सकिने भयो साथी।’
खुशीरामले मन अमिलो बनायो।
‘ठीक भन्यौ यार! हेर न यी सामाजिक सञ्जालकै उदाहरण काफी छ। पहिला मान्छे जोड्दै लगे। वाह! क्या गज्जब भन्ने लाग्यो। देश पसेका लाहुरेलाई परिवारसँग नजिक त गराए। तर नजिककोलाई पिठ्यूँ फर्काउने पनि बनाए। यिनकै कारण कतिका घर पनि जोडिए तर धेरैका घर भत्किए।’
अमरकान्तले चिन्तित मुद्रामा बह पोख्यो।
‘हुँदाहुँदा अहिले फलोअर्स किन्ने रे। भ्युअर्स र लाइकहरू किन्ने रे। क्या गज्जबको खेल।’
विस्मयमा पर्दै थप्यो खुशीरामले।
झमक्कै साँझ पर्न आँटेको थियो। झ्याउँकिरीहरू झ्याउँझ्याउँ गर्ने थाले। चराहरू आफ्नो आफ्नो गुँडमा फर्किए। स्कुलको गेटबाट अमरकान्त र खुशीराम निस्कनै लाग्दा राममाया हस्याङफस्याङ गर्दै आई।
‘मास्टर सा’प हाम्री बेलमती त ऐलेसँ नि घरै गई छैने। कता गई खोज्दिन परो लौन।’
खुशीराम र अमरकान्त बुझ्न निस्किए।
बाटोमा भेटिएका मान्छेसँग सोध्दा बेलमतीको हुलिया भएको केटी जापानबाट भर्खरै फर्केको दानसिङको बीवाईडी गाडीमा चढेर हुँइकिएको कुरा सुनियो।
राममाया झसङ्ग भई।
बाउ सरह उमेरको दानसिङ। टिकटक र स्न्यापच्याटमा छद्म नाममा खोलेका एकाउन्ट चलाउने रहेछ। त्यही एकाउन्टबाट बेलमतीलाई एड गरेको रे। उसको घरमा श्रीमती र बिहे गर्ने उमेरका तीन जना छोराछोरी थिए।
‘लौन नि बरबाद पार्यो कि क्याओ बज्जियाले!’ राममायाको होस ठेगानमा रहेन।
अमरकान्त र खुशीरामले फोन गरेर सबैतिर बुझे। दानसिङले बेलमतीलाई देउरालीको देवी मन्दिरमा लगेर सिन्दुर हालेर सुइँकाइसकेको गाइँगुइँ चल्यो।
राममाया छाँगाबाट खसेजस्तै भई।