कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो।
नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन्।
लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा आएर आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन्।
लामो समयदेखि आफूले भोग चलन गर्दै आएको जग्गाको पुर्जा पाउने आशा पूरा भएको उल्लेख गर्दै उनले भनिन्, ‘वर्षौंदेखि यही जग्गामा बस्दै र भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा थिएन । अहिले बुढेसकालमा भए पनि लालपुर्जा पाउँदा निकै खुसी लागेको छ । अब आफ्नो जग्गा आफ्नै भएको प्रमाण हात परेको छ।’
वडा नं ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा अहिले आएर प्राप्त भएको बताए।
पुर्जा नहुँदा जग्गाको स्वामित्वसम्बन्धी समस्या र अन्योल रहँदै आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा पुर्खाले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउन पाँच पुस्ता कुर्नुपर्यो। अहिले आफ्नो नाममा लालपुर्जा पाउँदा परिवारमा खुसी छाएको छ।’
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।
लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उनको भनाइ छ।
‘नगरपालिका भित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउनेलाई निरन्तरता दिइनेछ,’ नगर प्रमुख शाहले भने।
बाँकी जग्गाको दर्ता प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उनले जानकारी दिए।
नगर प्रमुख शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढ्ने बताए। त्यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि छिट्टै लालपुर्जा वितरणको काम अगाडि बढाइने उनले बताए।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए।
विसं २०७० मा नापी गरिएको जग्गाको प्रमाण पुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले प्रमाण पुर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरे।
प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले बताए।
कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीको सहभागिता रहेको थियो।