स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै पाटन अस्पताललाई सम्मान गरेको छ।
मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रम, सामाजिक सेवा एकाइ (एसएसयु) तथा जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रममार्फत लक्षित वर्गका सेवाग्राहीहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै पाटन अस्पतालले उक्त सम्मान पाएको हो।
पाटन अस्पतालले लामो समयदेखि सामाजिक सेवा एकाइमार्फत गरिब, विपन्न तथा असहाय बिरामीहरूलाई नि:शुल्क तथा सहुलियतपूर्ण उपचार सेवाका साथै जेरियाट्रिक वार्डमार्फत ज्येष्ठ नागरिकहरूलाई प्राथमिकताका साथ विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ
‘प्रशंसा-पत्रमा अस्पतालले सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक (जेरियाट्रिक) सेवामार्फत विपन्न, असहाय तथा लक्षित वर्गलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ,’ प्रशंसा पत्रमा भनिएको छ, ‘साथै, आगामी दिनहरूमा पनि अस्पतालबाट प्रदान गरिने यस्ता सेवाहरू निरन्तर एवम् प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षासहित अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।’