अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै मूल्यवान् चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग सम्बन्ध रहेको बताइएकी चिनियाँ व्यवसायी एलिस हुआङमाथि लागेको जासुसीसम्बन्धी आरोपबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।
चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो प्रकरणले अमेरिकी सुरक्षा निकायको ध्यान तानेको हो।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङसँग यस विषयमा कुराकानी गरेको बताए। हुआङले ती महिला चिनियाँ जासुस भएको आफूलाई कुनै जानकारी नभएको बताएको ट्रम्पको भनाइ छ। यस प्रकरणमा आफू आश्चर्यचकित भएको पनि उनले बताएका छन्।
'एफबिआईले यस विषयमा अनुसन्धान गरिरहेको मलाई थाहा छ,' ट्रम्पले भने, 'मलाई लाग्छ, उनी सुरक्षित रहनेछन्।'
यसअघि एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा आन्तरिक अनुसन्धान थालेको थियो। कम्पनीले स्वतन्त्र सञ्चालकहरूको समितिमार्फत बाह्य कानुनी परामर्शदाताको सहयोगमा अनुसन्धान अघि बढाएको हो।
हुआङले कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा श्रीमतीप्रति बेइमान भएको स्वीकार गरेका छन्।
उनले आफ्नो व्यक्तिगत सम्बन्धका कारण परिवार र सहकर्मीलाई परेको असहजताप्रति दुःख व्यक्त गरेका थिए।
को हुन् एलिस हुआङ?
एलिस हुआङलाई हुआङ ले नामले पनि चिनिन्छ। उनी चिनियाँ नागरिक हुन्। उनले विगतमा चिनियाँ सञ्चारमाध्यममा टेलिभिजन पत्रकारका रूपमा काम गरेकी थिइन्। त्यसपछि वित्तीय क्षेत्रमा प्रवेश गरेकी उनी हङकङस्थित एचएसबिसीलगायत वित्तीय संस्थासँग जोडिएको बताइएको छ।
पछि उनी सिंगापुरमा मुख्यालय रहेको मेगास्पिड इन्टरनेसनल नामक कम्पनीको नेतृत्व तहमा पुगेकी थिइन्। उक्त कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि आवश्यक उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार तथा डेटा सेन्टर सेवा उपलब्ध गराउँछ।
कम्पनीको नेतृत्वमा रहेकै समयमा उनको एनभिडियाका सिइओ हुआङसँग चिनजान भएको र सम्बन्ध विकसित भएको अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूमा उल्लेख छ। सन् २०२४ मा ताइवानको ताइपेईमा आयोजित प्रविधिसम्बन्धी कार्यक्रममा उनीहरू सँगै देखिएका थिए। सन् २०२५ मा पनि उनीहरू एउटै रेस्टुरेन्टमा भेटिएको र त्यहाँबाट एउटै गाडीमा बाहिरिएको दृश्य सार्वजनिक भएको थियो।
एलिस र जेन्सेनको थर एउटै भए पनि उनीहरूबीच पारिवारिक सम्बन्ध छैन। जेन्सेन हुआङ लामो समयदेखि लोरी हुआङसँग वैवाहिक सम्बन्धमा छन्।
मेगास्पिडमाथि पनि अनुसन्धान
एलिससँग सम्बन्धित जासुसीको आरोप व्यक्तिगत सम्बन्धमा मात्र सीमित छैन। उनी नेतृत्व तहमा रहेको मेगास्पिड कम्पनीले अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका उच्च क्षमताका चिप चीन पुर्याउन सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान गरेका छन्।
मेगास्पिडले एनभिडियाका एच१०० र बी२०० जस्ता एआई चिप प्रयोग गरी एसियाली बजारमा क्लाउड कम्प्युटिङ तथा डेटा सेन्टर सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले एनभिडियाको प्रविधि खरिद गर्ने र एआई विकास गर्न आवश्यक कम्प्युटिङ क्षमता खोजिरहेका अन्य कम्पनीलाई सेवा उपलब्ध गराउने मध्यस्थको भूमिका निर्वाह गर्दै आएको छ।
अमेरिकी अधिकारीहरूले सन् २०२४ को अन्त्यदेखि नै मेगास्पिडमार्फत चीनमा प्रतिबन्धित चिप पुगेको हुन सक्ने विषयमा चासो देखाएका थिए। यसअघि वाणिज्य मन्त्रालयले अघि बढाएको अनुसन्धान पछि न्याय मन्त्रालयसम्म पुगेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी गुप्तचर निकायको मूल्यांकन उद्धृत गर्दै प्रकाशित रिपोर्टहरूमा चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई हुआङसँग निकट सम्बन्ध स्थापित गरी एनभिडियाको प्रविधि तथा कम्पनीको चीनसम्बन्धी व्यावसायिक नीतिबारे सूचना संकलन गर्न परिचालन गरेको दाबी गरिएको छ। यद्यपि, उनले वास्तवमै कुन सूचना चीनलाई उपलब्ध गराइन् वा हुआङबाट कुनै व्यापारिक गोप्य सूचना प्राप्त गरिन् भन्ने सार्वजनिक रूपमा पुष्टि भएको छैन।
एनभिडियाले भने हुआङले कम्पनीका व्यापारिक गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील जानकारी साझा गरेको प्रमाण आफूहरूसँग नरहेको जनाएको छ।
चीनले पनि एलिसलाई जासुसका रूपमा चित्रित गरिएको आरोप अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार उक्त आरोपलाई आधारहीन, बदनाम गर्ने प्रयास र लाञ्छना भनेका छन्।
यस प्रकरण सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सोमबार चार प्रतिशतभन्दा बढीले घटेको थियो।