मकवानपुरमा गाडी दुर्घटना हुँदा घाइते हुनेको संख्या ६ पुगेको छ।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलमा खोजतलासका क्रममा झाडीमा एक बालक घाइते अवस्थामा भेटिएका छन्।
ती बालकलाई उपचारका लागि हेटौंडा लगिएको पनि उनले बताए।
यसअघि दुर्घटनास्थलबाट पाँच जनालाई उद्धार गरी अस्पताल पठाइएको थियो।
घाइतेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुजन यादवको अवस्था सामान्य रहेको छ।
सोही स्थानका करिब २६ वर्षीय देवेन्द्र यादव गम्भीर घाइते भएका छन् भने देवेन्द्र राय मध्यम घाइते भएका छन्।
दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी रहेको डिएसपी थापाले जानकारी दिए।
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बिहीबार बिहान ६:१० बजे गाडी दुर्घटना भएको थियो।
काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेर दुर्घटना भएको डिएसी थापाले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरअन्तर्गत भीमफेदीस्थित कारागार सुरक्षा बेस र कुलेखानीस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी सहायक निरीक्षक मनिष जैसवालको कमाण्डमा १९ जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन भएका थिए।
त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा नेपाली सेनासमेतको संयुक्त टोली घटनास्थलमा खटिएर उद्धार कार्य गरेको थियो।
यो पनिः भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन