कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशीला बम रहेकी छन्। दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो।
धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरीले चलाएको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बमले चलाएको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर बिहीबार बेलुका करिब ७ बजे धनगढी–१५ स्थित ज्योति आयल स्टोरनजिक ठोक्किएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको थियो। उपचारकै क्रममा स्कुटर चालक बमको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक प्रवीण चौधरीको अवस्था मध्यम छ। उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। मोटरसाइकलको पछाडि सवार उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरीको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। उनको पनि टाउको, हात र खुट्टामा चोट लागेको छ।
उनीहरूकी सात वर्षीया छोरी ममता चौधरीको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको डिएसपी तिमिल्सिनाले बताए।
त्यस्तै, स्कुटरको पछाडि सवार धनगढी–५, तारानगरकी २२ वर्षीया बबिता मल्ल र सोही ठाउँका २४ वर्षीय सरोज मल्लको हात र खुट्टामा चोट लागेको छ। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।