बेलकुमारी तिवारी दिनभरि होटलका कोठा सफा गर्छिन्। पाहुनाको स्वागत र सत्कारमा पनि खटिन्छिन्। तैपनि उमेरले ५६ वर्ष लागेकी उनको अनुहारमा थकानभन्दा बढी आत्मविश्वास झल्किन्छ।
उनी बुटवलको सिद्धार्थ कटेजमा १५ वर्षदेखि काम गर्दै आएकी छन्। अहिले उनी हाउसकिपिङ इन्चार्ज हुन्। तर उनको परिचय यतिमा मात्र सीमित छैन।
उनले यही होटल समूहको चितवनस्थित होटल सिद्धार्थमा २० लाख रूपैयाँभन्दा बढीको सेयर लगानी गरेकी छन्।
कुनै समय उनी अरूका सात वटा घरमा सरसफाइ गरेर परिवार पाल्थिन्। बिहानदेखि दिउँसोसम्म अरूकै घरमा काम गर्थिन्। अहिले आफ्नै मेहनतको कमाइबाट होटल व्यवसायकी सेयरधनी बनेकी छन्।
बुटवलको देवीनगर निवासी बेलकुमारीका लागि यो सफलता सजिलै प्राप्त भएको होइन। वर्षौंसम्म अरूका घरमा झाडु लगाइन्। भाँडा माझिन् र कपडा धोइन्। भारतमा पनि लामो समय कठिन श्रम गरिन्।
अभाव र बाध्यताबीच उनले काम गर्न छोडिनन्। बरू कमाइको केही हिस्सा बचत गर्दै भविष्यका लागि लगानी गर्ने बाटो रोजिन्।
'विगत सम्झिँदा अहिले त मेरो जिन्दगी धेरै स्वर्गजस्तै भएको छ। घर भाडामा लगाएकी छु। श्रीमानले काम गर्न नसके पनि म आफै कमाइरहेकी छु। छोरीलाई विदेश पढ्न पठाएकी छु। अहिले धेरै राम्रो भएको छ,' उनी सन्तुष्टि व्यक्त गर्छिन्।
बेलकुमारीको माइती बागलुङको बुर्तिवाङ हो। २०४४ सालमा ग्वालिचौरका डिलाराम तिवारीसँग बिहे हुँदा उनी १६ वर्षकी थिइन्।
बिहेपछि उनी श्रीमानसँगै भारतको पञ्जाब पुगिन्। त्यहाँ दुई वर्ष बसिन्। त्यसपछि दिल्लीमा १२ वर्ष बिताइन्।
श्रीमान होटलमा काम गर्थे। बेलकुमारी बिहान विद्यालयमा सरसफाइको काम गर्थिन्। दिउँसो विद्यालयका प्रिन्सिपलको घर पुग्थिन्। साँझ अरूका घरमा काम गर्न जान्थिन्।
यसरी उनको दिनचर्या १४/१५ घण्टासम्म काम गरेर बित्थ्यो।
'भारत गएर पनि म कहिल्यै हात खाली बसिनँ। बिहान, दिउँसो र साँझ गरेर दिनमा सात/आठ वटा घरमा काम गर्थेँ। एउटा घरमा त ११ वर्षसम्म काम गरेँ,' उनी विगत सम्झिन्छिन्।
२०६० सालतिर भारतबाट नेपाल फर्किएपछि पनि उनको संघर्ष रोकिएन। बुटवल आएपछि परिवारको खर्च धान्न सात वटा घरमा सरसफाइको काम गर्न थालिन्।
बिहान ४ बजे उठेर आफ्नै घरको काम सक्थिन्। त्यसपछि ५ बजेदेखि अरूका घर पुग्थिन्। एउटा घरबाट मासिक एक हजारदेखि १५ सय रूपैयाँसम्म पाउँथिन्।

कतिपय घरमा राम्रो व्यवहार हुन्थ्यो। कतिपयमा अपमानसमेत सहनुपर्थ्यो। तर परिवारको जिम्मेवारीले उनलाई कामबाट पछि हट्न दिएन।
'मलाई बाध्यता थियो। श्रीमान खासै काम गर्न सक्नु हुन्नथ्यो। छोरी पढाउन र बिहान–बेलुका खानका लागि पनि दुःख नगरी सुख थिएन,' बेलकुमारी भन्छिन्।
यही क्रममा सिद्धार्थ ग्रुपले बुटवलमा होटल सञ्चालन गर्ने तयारी थाल्यो। बेलकुमारी त्यही होटलसँग जोडिइन्।
सिद्धार्थ कटेजमा उनले सुरूमा ज्यालादारीमा काम पाइन्। केही महिना कामपछि होटल सञ्चालकले उनलाई मासिक तलबमा राखे। त्यसयता उनी निरन्तर त्यही होटलमा कार्यरत छन्।
कामप्रतिको लगाव र जिम्मेवारी पूरा गर्ने स्वभावले उनी हाउसकिपिङ इन्चार्ज भएकी छन्। अहिले होटलका कोठा सफा राख्ने मात्र होइन, कर्मचारी परिचालन र आवश्यक सामग्री व्यवस्थापन पनि उनकै जिम्मेवारीमा छ।
'अहिले हाउसकिपिङ, माली र इलेक्ट्रिसियनलाई काममा लगाउने जिम्मेवारी मेरो छ। होटलका कति कोठामा पाहुना बस्नुभएको छ, कुन कोठा सफा गर्नुपर्ने हो, ब्ल्याङ्केट, बेड कभर, बाथरुम किटलगायत सबै व्यवस्थापन मैले हेर्नुपर्छ,' उनी आफ्नो जिम्मेवारी सुनाउँछिन्।
उनी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म होटलमै खटिन्छिन्। ठूला कार्यक्रम हुँदा थप समय काम गर्छिन्। आफू मातहतका कामदारको समस्या सुन्ने र समाधान गर्ने विषयमा पनि उत्तिकै सचेत हुन्छिन्।
कोरोना संक्रमणका बेला होटल पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था आयो।
बेलकुमारीले आफू बिदामा बसेर अरू सरसफाइकर्मीलाई काम गर्ने अवसर दिइन्।
'मेरो लागि त कम्तीमा बस्ने घर छ। अरूको त बुटवलमा बस्ने घर पनि थिएन, भाडामा लिएर बस्थे। काम पनि छुटेपछि कसरी बस्छन् भनेर उनीहरूलाई बिदा गर्न दिइनँ,' उनी भन्छिन्।
बेलकुमारीको जीवनमा आएको परिवर्तनको अर्को महत्त्वपूर्ण पक्ष बचत र लगानी हो। लामो समय श्रम गरेर कमाएको पैसा दैनिक खर्चमा मात्र सीमित राखिनन्। भविष्यका लागि लगानी गर्ने निर्णय गरिन्।
१२ वर्षअघि चितवनको इच्छाकामना गाउँपालिकास्थित चुम्लिङटारको होटल सिद्धार्थमा उनले एक लाख रूपैयाँ सेयर लगानी गरेकी थिइन्। त्यसपछि हरेक वर्ष आफ्नो कमाइबाट थप रकम लगानी गर्दै गइन्।
सिद्धार्थ ग्रुपबाट प्राप्त बोनस सेयरसमेत जोड्दा अहिले आफ्नो लगानी २० लाख रूपैयाँभन्दा बढी पुगेको उनले बताइन्।
सिद्धार्थ ग्रुपका महाप्रबन्धक महेन्द्र न्यौपाने बेलकुमारीको मेहनत र इमानदारितालाई प्रेरणादायी मान्छन्।
'होटलमा सरसफाइको काम गरेर त्यसैको आम्दानीले घरखर्च चलाउने र बचत गरेर फोरस्टार होटलमा सेयर लगानी गर्नु भनेको सामान्य कुरा होइन। चुम्लिङटारको होटलमा एक प्रतिशत सेयर उहाँको छ,' उनले भने।
बेलकुमारीको जीवनमा छोरी बबिताको स्थान विशेष छ। बिहेको १६ वर्षपछि जन्मिएकी छोरीलाई उनले आफ्नो जीवनको सबैभन्दा ठूलो खुसी मानेकी छन्।
छोरीलाई धेरै पढाएर सरकारी जागिर खाएको देख्ने उनको सपना थियो। तर छोरीले विदेशमा पढ्ने इच्छा व्यक्त गरिन्।
'छोरीको चाहना मारेर मेरो चाहना थोपर्न मन लागेन। दुई वर्षअघि ४० लाख रूपैयाँ खर्च गरेर पढ्न क्यानडा पठाएकी छु,' उनले भनिन्।
अहिले पनि बेलकुमारीको कामप्रतिको उत्साह घटेको छैन। जाँगर भए जुनसुकै काम गरेर पनि जीविकोपार्जन गर्न सकिने उनको विश्वास छ।
'जाँगर हुनुपर्छ, बुटवलमा पेट पाल्न केही समस्या छैन। काम गर्न लाज मान्नु हुँदैन। सडकको छेउमा डोकोमा तरकारी बेचेर पनि पेट पाल्न सकिन्छ,' उनी भन्छिन्।
भारतका घरदेखि बुटवलका घर र होटलसम्म बेलकुमारीले निरन्तर श्रम गरिन्। त्यही श्रमबाट कमाएको पैसाले उनले आफ्नो आर्थिक अवस्था सुधारिन्। सम्पत्ति जोडिन् र छोरीको भविष्यका लागि लगानी गरिन्।
कुनै समय सात वटा घरमा सरसफाइ गरेर परिवार पाल्ने उनी अहिले होटल व्यवसायकी सेयरधनी बनेकी छन्। र, आफ्नो जीवनसँग सन्तुष्ट छिन्।