केही समयअघि नेपालको आधुनिक कुखुरापालन तथा पशुपन्छी दाना उद्योगको विकाससँग जोडिएको एउटा नयाँ अनुभव र सिकाइको अवसर प्राप्त भयो। नेपालमा आधुनिक कुखुरापालनका अग्रणी व्यक्तित्व तथा ‘आधुनिक कुखुरापालनका पिता’ भनेर चिनिने गुणचन्द्र विष्ट (स्वामीजी) को अविनाश पोल्ट्री ग्रुपद्वारा प्रवर्द्धित गौरीशंकर फिड इन्डस्ट्रिज इटहरीको लौकीमा निर्माणाधीन छ।
यसै उद्योगको अवलोकनका लागि आधुनिक पशुपन्छी पोषण तथा फिड उद्योगको विकासमा सक्रिय टीका पोखरेल दाइले नेदरल्यान्ड्सस्थित अन्तर्राष्ट्रिय पशुपन्छी खाद्य पूरक उत्पादक कम्पनी ट्राउ न्यूट्रिसनका नेपाल प्रतिनिधि पुरुषोत्तम राई र मलाई निमन्त्रणा गर्नुभयो।
उहाँहरूको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै हामी इटहरी जाने योजनासहित एक बिहानै बुद्ध एयरमार्फत विराटनगरका लागि प्रस्थान गर्यौँ। विराटनगर विमानस्थलमा अवतरण गरेपछि हाम्रो यात्रा इटहरी हुँदै लौकीस्थित गौरीशंकर फिड इन्डस्ट्रिजतर्फ अघि बढ्यो।
झन्डै ४०–४५ मिनेटको सडक यात्राका क्रममा इटहरी चोकबाट कोशी ब्यारेजतर्फ अघि बढ्दै गर्दा बाटोछेउमा लहरै ठडिएका विशाल साइलोहरूले हाम्रो ध्यान खिचे। कतिपय साइलो निर्माण सम्पन्न भएर आकाशतिर गर्वका साथ उभिएका थिए भने कतिपय निर्माणको अन्तिम चरणमा थिए। टाढैबाट देखिने ती विशाल संरचनाहरूले कुनै ठूलो औद्योगिक सपना साकार हुँदै गरेको आभास दिइरहेका थिए।
केही बेरमै हाम्रो गाडी उद्योग परिसरको प्रवेशद्वारमा पुग्यो। गेटमा खटिएका सुरक्षा अधिकारीले सोध्नुभयो, ‘कसलाई भेट्न आउनुभएको हो?’
हामीले टीका दाइले बोलाउनुभएको जानकारी गराउँदै भित्र प्रवेश गर्न आएको बतायौँ। त्यत्तिकैमा टीका दाइ स्वयं स्वागतका लागि गेटमै आइपुग्नुभयो। उहाँले आत्मीय मुस्कानसहित भन्नुभयो, ‘ल, केटाहरूलाई लौकीमा स्वागत छ!’
उहाँको आत्मीय स्वागतपछि हामीलाई उद्योग परिसरभित्र निर्माणाधीन झिँगटीको छानायुक्त विश्रामस्थलमा लगियो। केहीबेरको विश्राम र भलाकुसारीपछि हामी उद्योग अवलोकनका लागि निस्कियौँ।
उद्योग परिसरभित्र प्रवेश गरेसँगै हाम्रो ध्यान त्यहाँ जडान गरिएका युरोपेली प्रविधिका आधुनिक मेसिनरीतर्फ खिचियो। पशुपन्छीको प्रकार र आवश्यकताअनुसार छुट्टाछुट्टै उत्पादन गर्न सकिने गरी डिजाइन गरिएका डेडिकेटेड फिड मिल, व्यवस्थित उत्पादन संरचना र विशाल साइलोहरूको शृङ्खलाले उद्योगको बृहत् तयारी प्रस्ट पार्थ्यो।
अझ रोचक पक्ष उद्योगको भौगोलिक अवस्थिति थियो। चारैतिर खेतीयोग्य जमिन र हरियालीले घेरिएको कृषि परिवेशको बीचमा यो विशाल फिड उद्योग निर्माण भइरहेको थियो। उद्योगका लागि आवश्यक कच्चा पदार्थमध्ये करिब ५०–६० प्रतिशत हिस्सा मकैले ओगट्ने जानकारी पाएपछि यसको स्थान छनोट र कृषि उत्पादनबीचको सम्बन्ध झन् अर्थपूर्ण लाग्यो।
साँच्चै, कृषि उत्पादन र औद्योगिक प्रशोधनलाई एउटै ठाउँमा जोड्ने सोचले यहाँ एउटा नयाँ सम्भावनाको ढोका खोल्दै थियो।
त्यतिबेला मनमा एउटा कुरा आयो—कृषि उत्पादनलाई केवल खेतबारीमै सीमित नराखी त्यसलाई आधुनिक उद्योगसँग जोड्न सकियो भने नेपाली कृषि तथा पशुपन्छी क्षेत्रको भविष्य कति फराकिलो बन्न सक्छ!
उद्योग अवलोकनसँगै टीका दाइसँग हाम्रो कुराकानी पनि चलिरहेको थियो। उद्योगको संरचना र उत्पादन योजनाबारे छलफल हुँदै गर्दा उहाँले सुनाउनुभएको एउटा व्यावसायिक अवधारणाले मेरो ध्यान विशेष रूपमा खिच्यो।
उहाँको योजना किसानलाई मकैको बीउ उपलब्ध गराउने र पछि बजार मूल्यअनुसार किसानले उत्पादन गरेको मकै खरिद गर्ने रहेछ।
मलाई यो अवधारणा निकै व्यावहारिक र दूरगामी सोचमा आधारित लाग्यो। किनकि यसले एकातिर किसानलाई गुणस्तरीय बीउको पहुँच र आफ्नो उत्पादन बिक्री हुने सम्भावना दिन्छ भने अर्कोतिर उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न सहयोग पुर्याउँछ। यसले किसान र उद्योगबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने सम्भावना पनि देखिन्छ।
यही प्रसङ्गमा मैले नेपालमा कर्मा ग्रुप अफ कम्पनीजद्वारा प्रवर्द्धित थाइल्यान्डको सी.पी. कम्पनीको चर्चित हाइब्रिड मकैको बीउ सीपी ८०८ पनि राम्रो विकल्प हुन सक्ने सुझाव दिएँ। तर टीका दाइले भने अमेरिकी कम्पनी पायोनियरको मकैको बीउ प्रयोग गर्ने आफ्नो योजना सुनाउनुभयो।
वास्तवमा, एउटा फिड उद्योगले आफ्नो कच्चा पदार्थको आपूर्तिका लागि किसानलाई उत्पादनसँग जोड्ने सोच राख्नु आफैँमा सकारात्मक व्यावसायिक अवधारणा हो। किसानले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था कम गर्ने र उद्योगले कच्चा पदार्थ खोज्दै भौँतारिनुपर्ने समस्या घटाउने यस्तो सहकार्यले कृषि र उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइ दिन सक्छ।
टीका दाइसँगको कुराकानीले मेरो मनमा एउटा गम्भीर प्रश्न जन्मायो- हामी नेपालमै उत्पादन गर्न सकिने मकैको मूल्य बढ्दा किन चिन्तित हुनुपर्ने अवस्थामा छौँ?
हाम्रो देशमा खेतीयोग्य जमिन छ, किसान छन्, मकै उत्पादन गर्ने सम्भावना छ र मकै खपत गर्ने ठूलो पशुपन्छी दाना उद्योग पनि छ। यति हुँदाहुँदै पनि किसानको खेतबारीदेखि दाना उद्योगको उत्पादन लाइनसम्म जोड्ने भरपर्दो प्रणाली किन निर्माण गर्न सकेनौँ?
नेपालमा उत्पादित मकैलाई व्यवस्थित रूपमा संकलन, भण्डारण र बजारीकरण गर्न सक्ने हो भने स्वदेशी दाना उद्योगको ठूलो हिस्सा यहीँको उत्पादनबाट धान्न सकिने सम्भावना छ। तर विडम्बना, मकैको मूल्य बढ्नेबित्तिकै दाना उद्योगहरू कच्चा पदार्थको चिन्तामा पर्छन्। अर्कोतर्फ, किसानले पनि कहिले बजार नपाउने त कहिले उचित मूल्य नपाउने समस्या भोगिरहेका छन्।
अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्रले सन् २०२६ मा प्रकाशित गरेको अध्ययनअनुसार नेपालमा वार्षिक करिब ३.१९ मिलियन मेट्रिक टन मकै उत्पादन हुन्छ। तर बढ्दो मागका कारण प्रत्येक वर्ष करिब ४ देखि ५ लाख मेट्रिक टन मकै आयात गर्नुपर्ने अवस्था रहेको छ।
यसले के देखाउँछ भने नेपालमा मकै उत्पादनको सम्भावना नभएको होइन। बरु उत्पादन, उत्पादकत्व, संकलन, गुणस्तर, भण्डारण र बजार व्यवस्थापनमा अझै ठूलो सुधारको आवश्यकता छ।
प्रश्न केवल मकै उत्पादनको मात्र होइन, हाम्रो कृषि नीतिको प्राथमिकताको पनि हो। सरकार किसानको खेतबारीसम्म पुगेर वास्तविक उत्पादन, लागत, बजार र सम्भावनाको अध्ययन गर्नुभन्दा सिंहदरबारका कोठाभित्र बसेर कागजी तथ्याङ्क र योजनामा बढी केन्द्रित भएको त छैन?
किसानले कुन बाली लगाउने, उद्योगलाई कति कच्चा पदार्थ चाहिन्छ, उत्पादन कसरी बढाउने र उत्पादित वस्तुको बजार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सरकारको सक्रिय भूमिका खोइ?
किसानलाई मकैको बीउ दिएर उत्पादनपछि बजार मूल्यअनुसार खरिद गर्ने टीका दाइको अवधारणाले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो—किसानलाई भाषण र अनुदानको आश्वासन मात्र होइन, उत्पादनसँगै बजारको सुनिश्चितता पनि चाहिन्छ।
यदि निजी क्षेत्रका उद्योगले किसानसँग प्रत्यक्ष सहकार्य गरेर यस्तो प्रणाली विकास गर्न सक्छन् भने राज्यले यसलाई नीतिगत रूपमा प्रोत्साहन र विस्तार गर्न किन सक्दैन?
आज विश्व बजारमा मकै र भटमासको मूल्यमा देखिएको उतारचढावले विश्वभरका पशुपन्छी दाना उद्योगलाई प्रभावित पारिरहेको छ। सन् २०२६ मा अन्तर्राष्ट्रिय बजारमा यी कृषि उपजको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यसको पछाडि एउटै कारण छैन।
बढ्दो भू–राजनीतिक तनाव, अन्तर्राष्ट्रिय व्यापार तथा ढुवानी मार्गमा अवरोध, ऊर्जा तथा मलको मूल्यवृद्धि र जलवायु परिवर्तनका कारण सिर्जना भएका प्रतिकूल मौसमी अवस्थाले विश्व कृषि बजारलाई थप अस्थिर बनाइरहेका छन्।
विशेषगरी जलवायु परिवर्तनसँगै देखिएको खडेरी र एल निनोको प्रभावले प्रमुख कृषि उत्पादन क्षेत्रहरूमा मकै तथा अन्य खाद्यान्न बालीको उत्पादनमा दबाब सिर्जना गरेको छ। युरोपेली आयोगको सन् २०२६ को शरदकालीन प्रतिवेदनले अत्यधिक गर्मी र खडेरीका कारण युरोपको मकै उत्पादन पाँचवर्षे औसतभन्दा करिब २० प्रतिशत कम हुने प्रक्षेपण गरेको छ। यसले विश्व बजारमा आपूर्ति र मूल्य दुवैमा दबाब सिर्जना गरेको छ।
अर्कोतर्फ, मकैको प्रयोग अब पशुपन्छीको दानामा मात्र सीमित छैन। विश्व बजारमा मकै खाद्यान्न र पशु आहारसँगै जैविक इन्धन (बायोफ्युल) उत्पादनको महत्त्वपूर्ण कच्चा पदार्थसमेत बनेको छ। विशेषगरी अमेरिका, ब्राजिल र अर्जेन्टिनाजस्ता देशमा मकैबाट इथानोल उत्पादन गरिन्छ। भारतमा पनि मकैको प्रयोग इथानोल उत्पादनमा तीव्र रूपमा विस्तार भइरहेको छ।
भारतले पेट्रोलमा इथानोल मिश्रणको लक्ष्य सन् २०२५/२६ मै २० प्रतिशत पुर्याएको छ। यसका लागि मकैसहित विभिन्न कृषि स्रोतबाट इथानोल उत्पादन गर्ने उद्योगको क्षमता विस्तार गरिएको छ।
इथानोल मिश्रित इन्धनका सन्दर्भमा ई२०, ई८५ र ई१०० जस्ता अवधारणा पनि चर्चामा छन्। ई२० मा २० प्रतिशत इथानोल र बाँकी पेट्रोल हुन्छ। ई८५ मा सामान्यतः ५१ देखि ८५ प्रतिशतसम्म इथानोल हुन सक्छ भने ई१०० मुख्यतः इथानोलमा आधारित इन्धन हो।
यसको अर्थ मकैको बजार अब पशुपन्छी आहार उद्योगको मागले मात्र निर्धारण गर्दैन। खाद्यान्न, पशु आहार, स्टार्च उद्योग र जैविक इन्धन उद्योगबीच एउटै कृषि उपजका लागि प्रतिस्पर्धा बढ्दै गएको छ।
एफएओको सन् २०२६/२७ को विश्व खाद्यान्न आपूर्ति तथा मागसम्बन्धी प्रक्षेपणले पनि इथानोल उत्पादनको मागका कारण मकैको औद्योगिक उपयोग बढ्ने देखाएको छ।
यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको पशुपन्छी दाना उद्योगले कच्चा पदार्थका लागि सधैँ बाह्य बजारमा निर्भर रहनु कति सुरक्षित होला?
अन्तर्राष्ट्रिय बजारमा मकैको आपूर्ति र मागबीच देखिएको असन्तुलनले एसियाका ठूला पशुपन्छी दाना उद्योगलाई समेत प्रभावित पारिरहेको छ। दक्षिण कोरियाको प्रमुख पशु आहार उत्पादक कम्पनी एनओएफआई यसको एउटा उदाहरण हो।
अक्टोबर २०२६ मा कम्पनीले अधिकतम २ लाख ७ हजार मेट्रिक टन मकै खरिद गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। तर अक्टोबर ७ मा भएको खरिद प्रक्रियामा करिब १ लाख ३४ हजार मेट्रिक टन मकै खरिद गरेको समाचार सार्वजनिक भयो।
यसलाई विश्व बजारमा मकै खरिदको प्रतिस्पर्धा र ठूलो परिमाणको आपूर्ति व्यवस्थापन कति महत्त्वपूर्ण छ भन्ने उदाहरणका रूपमा लिन सकिन्छ। यद्यपि, टेन्डरको लक्ष्य र अन्तिम खरिद परिमाणबीचको अन्तरलाई मात्र आधार बनाएर मकैको विश्वव्यापी अभाव प्रमाणित भएको निष्कर्ष निकाल्न मिल्दैन।
यस्तै अवस्था भारतमा पनि देखिन थालेको छ।
घरेलु उत्पादनले बढ्दो माग धान्न नसक्ने र बजार मूल्य उच्च रहने अवस्था सिर्जना भएपछि भारतीय आयातकर्ताहरूले म्यानमारबाट करिब १ लाख ४ हजार मेट्रिक टन मकै खरिदका लागि सम्झौता गरेका छन्। उक्त मकै नोभेम्बर–डिसेम्बर २०२६ मा भारत आइपुग्ने गरी सम्झौता भएको समाचार सार्वजनिक भएको छ।
भारतमा मकैको माग पशुपन्छी दाना, स्टार्च उद्योग र इथानोल उत्पादन तीनै क्षेत्रमा बढिरहेको छ। यस वर्षको उत्पादनमा आएको गिरावट र औद्योगिक मागको विस्तारले बजारमा थप दबाब सिर्जना गरेको छ। म्यानमारबाट हुने उक्त आयातले भारतका केही बजारमा मकैको आपूर्ति सहज बनाउन र मूल्यमा केही दबाब कम गर्न सक्ने अनुमान गरिएको छ।
यसको प्रभाव नेपालको बजारमा पनि पर्न सक्छ। किनकि नेपालको पशुपन्छी दाना उद्योगको कच्चा पदार्थ आपूर्ति र मूल्य निर्धारणमा भारतीय बजारको अवस्थाले महत्त्वपूर्ण भूमिका खेल्छ। भारतमा मकैको मूल्य बढ्दा नेपालमा पनि त्यसको प्रभाव पर्न सक्छ।
त्यसैले नेपालले आफ्नो कृषि उत्पादन र कच्चा पदार्थ आपूर्ति प्रणालीलाई केवल भारतीय बजारको अवस्थासँग जोडेर हेर्नु दीर्घकालीन रूपमा सुरक्षित रणनीति होइन।
मकैको विषय उठाउँदा पशुपन्छी दाना उद्योगको अर्को महत्त्वपूर्ण कच्चा पदार्थ भटमास तथा सोयाबिन मीललाई पनि बिर्सन मिल्दैन। कुखुराको दानामा ऊर्जा प्रदान गर्ने प्रमुख स्रोत मकै हो भने शरीर निर्माणका लागि आवश्यक प्रोटिनको महत्त्वपूर्ण स्रोत सोयाबिन मील हो। यी दुवैको मूल्य र उपलब्धताले दाना उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्छ।
नेपालको पोल्ट्री उद्योगसम्बन्धी सार्वजनिक विवरणमा दाना उत्पादनका लागि आवश्यक सोयाबिनको करिब ९९ प्रतिशत आवश्यकता आयातबाट पूरा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ।
यसले नेपालको दाना उद्योगको अर्को संरचनात्मक कमजोरी उजागर गर्छ। मकैमा आंशिक रूपमा स्वदेशी उत्पादनको आधार भए पनि सोयाबिनमा हाम्रो निर्भरता अत्यधिक छ। त्यसैले मकै उत्पादन बढाउने अभियानसँगै भटमास उत्पादन, संकलन, प्रशोधन र सोयाबिन मील उत्पादनको सम्भावनामा पनि गम्भीर अध्ययन आवश्यक छ।
नेपालको पहाडी तथा तराई क्षेत्रको भूगोल र हावापानीअनुसार उपयुक्त जात छनोट, बीउको उपलब्धता, उत्पादन प्रविधि र बजार सुनिश्चित गर्न सकियो भने भटमास खेतीलाई पनि व्यावसायिक कृषि प्रणालीसँग जोड्न सकिन्छ।
दाना उद्योगको कच्चा पदार्थ आपूर्ति सुरक्षित बनाउने हो भने मकै र भटमास दुवैलाई राष्ट्रिय कृषि रणनीतिको प्राथमिकतामा राख्नुपर्छ।
नेपालमा कृषि आत्मनिर्भरताको बहस नयाँ होइन। हरेक वर्ष नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र किसानको आम्दानी बढाउने प्रतिबद्धता व्यक्त गरिन्छ। तर उत्पादनलाई उद्योगसँग जोड्ने व्यावहारिक संयन्त्र निर्माणमा अपेक्षित प्रगति हुन सकेको छैन।
इटहरीको लौकीमा निर्माणाधीन गौरीशंकर फिड इन्डस्ट्रिजको अवलोकन गर्दा देखिएका विशाल साइलो, आधुनिक मेसिनरी र उद्योग निर्माणको उत्साहले मलाई एउटा कुरा महसुस गरायो—नेपालमा लगानी गर्ने निजी क्षेत्रको इच्छाशक्ति र औद्योगिक सम्भावना अझै जीवित छ।
तर उद्योगको आकार ठूलो हुँदैमा मात्र देश आत्मनिर्भर हुँदैन। त्यस उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न सक्ने कृषि प्रणाली पनि सँगसँगै विकास हुनुपर्छ।
आज एउटा उद्योगले किसानलाई मकैको बीउ दिएर उत्पादन खरिद गर्ने सोच बनाइरहेको छ। भोलि यस्तै अवधारणा देशका अन्य दाना उद्योगले पनि अपनाउन सके कति ठूलो परिवर्तन आउन सक्छ?
कल्पना गरौँ, देशका प्रमुख मकै उत्पादन हुने जिल्लामा दाना उद्योगले किसानसँग प्रत्यक्ष सम्झौता गर्ने, स्थानीय तहले संकलन तथा भण्डारण केन्द्र बनाउने, कृषि प्राविधिकले उत्पादन बढाउन सहयोग गर्ने र उद्योगले किसानको उत्पादन खरिद गर्ने प्रणाली विकास भयो भने कस्तो परिणाम आउला?
यसले किसानलाई बजार दिन्छ, उद्योगलाई कच्चा पदार्थ दिन्छ, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ र देशको आयात निर्भरता घटाउन सहयोग गर्छ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने कृषि र उद्योग एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्। किसानले उत्पादन नगरे उद्योग चल्दैन र उद्योगले बजार नदिए किसानको उत्पादनले उचित मूल्य पाउँदैन।
त्यसैले अब प्रश्न मकै उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ भन्ने मात्र होइन। प्रश्न हो—उत्पादन गर्न सक्ने किसान र उपभोग गर्न तयार उद्योगबीच भरपर्दो सम्बन्ध निर्माण गर्न हामी कहिले सफल हुन्छौँ?
नेपालमा मकै फलाउन नसकेर हामी आयातमा निर्भर भएका हौँ कि मकै फलाउने किसान र मकै खपत गर्ने उद्योगबीच सम्बन्ध स्थापित गर्न नसकेर?
यो प्रश्नको उत्तर खोज्ने जिम्मेवारी सरकारको मात्र होइन, निजी क्षेत्र, कृषि उद्यमी, सहकारी, अनुसन्धानकर्ता र सम्पूर्ण सरोकारवालाको पनि हो। किनकि कृषि आत्मनिर्भरता नाराले होइन, किसानको खेतबारी र उद्योगको उत्पादन लाइनबीच स्थापित हुने बलियो सम्बन्धले सम्भव हुन्छ।
(लेखक पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सदस्य, नेपाल पशुपन्छी औषधि आयातकर्ता संघ सदस्य तथा पूर्वकोषाध्यक्ष हुन्।)