अक्सर हिमालको फेदमुनि
फक्रने गर्छन् हिमफूल
म हिमफूल टिपेर
चुल्ठोमा सिउरन्छु
र जिस्कन्छु
नजिकै बगिरहेको हिमनदीको प्रवाहसँग।
चौँरीहरू तन्मयले सेलो गाउँछन्
म डम्फुले संगीत भर्छु
हिमालहरू मन्त्रमुग्ध हुन्छन्
मुस्कुराउँछन् बिहानी आभासँगै
र बाँड्छन् मिठा सपना
क्षितिज सुमसुम्याउँदै।
म हतप्रभ भएकी छैन
मेरो शिरमा गुराँस फक्रिरहेको छ
मेरो पाउमा डाँफे नाचिरहेको छ
म बुकी फूलसँग लुकामारी खेल्दै
जीवनको दौड दौडिरहेकी छु
जसरी भविष्य खोज्न दौडधुप गर्छन् मान्छेहरू।
मलाई नसुनाऊ कायरहरूको कथा
मलाई नपढाऊ अनागारिक बस्तीको इतिहास
अनि नपढाऊ शरणार्थी शिविरको पीडा
देश रोइरहेको होला गरिबीले
मान्छेहरू जीवनको त्राण खोजी रहेछन्
वर्षौँको उत्पीडन झेलेर।
म हिमालकी छोरी
जोतिरहेछु जीवनको हलो
खनिरहेछु मेहनतको कोदालो
जहाँ उम्रन्छन् सिर्जना
फुल्छन्, फल्छन्
र सुशोभित हुन्छन् जीवनको बगैँचामा।
म नापिरहेछु
नागी र खर्कहरूमा
मेरो जिन्दगीको उचाइ
म हिमाल छुन सकूँ
टिप्न सकूँ आकाशको तारा
र हँसाउन सकूँ आमाको कान्तिहीन मुहारलाई।
मैले गाउनु छ परदेशीको गीत
लेख्नु छ बिछोडिएको प्रेम
मेटाउनु छ नानीहरूको अबोध जिज्ञासा
नानीहरू प्रश्न गर्छन्
हाम्रा बा किन छैनन् हाम्रा साथ?
आमाहरू किन देखिन्छन् उदास र हताश?
म नानीहरूलाई आश्वस्त पारिरहेछु
तिम्रा बा देश खोज्न हिँडेका हुन्
तिम्रा सपना पूरा गर्न
कर्मशील हातहरू उठाएका हुन्
सायद भाग्यले लखेटिरहेछ (यदि भाग्य हुन्छ भने)
तिम्रा बा परदेशमा देश सम्झँदै रोई बस्दा हुन्।