ममता काफ्लेको घटनाले फेरि सोध्न बाध्य बनाएको एउटा प्रश्न- एउटी महिलाले आखिर कहिले आफ्नो घर पाउँछे?
अमेरिकामा ममता काफ्लेमाथि भएको भनिएको अपराध र त्यससम्बन्धी अदालतमा चलिरहेको बहसले धेरैको मन दुखाएको छ। एउटी नेपाली छोरी, एउटी आमा, एउटी श्रीमतीको जीवनसँग जोडिएको यो घटनाले फेरि एकपटक सोच्न बाध्य बनाएको छ हामीलाई, आखिर एउटी महिलाको जीवन कति सुरक्षित छ?
उसले आफ्नै ठानेको घर साँच्चै कति आफ्नो हुन्छ?
ममताको घटनाको सत्यतथ्य र न्यायको अन्तिम निर्णय अदालतले गरिसकेको छ। तर यस घटनाले हाम्रो समाजसामु उभ्याएका केही प्रश्नहरू अदालतको फैसलाभन्दा पनि परसम्म फैलिएका छन्।
ममता केवल एउटा नाम होइनन्, उनीसँग जोडिएको पीडाले ती हजारौँ महिलाको मौन जीवनलाई पनि सम्झाउँछ, जो दिनभरि हाँस्छन्, परिवार सम्हाल्छन्, आफ्ना रहरहरू थाती राख्छन्, तर रात परेपछि आफ्नै मनसँग हारिरहेका हुन्छन्। हाम्रो समाजमा एउटी महिलालाई सोधिने दुई वटा सामान्य प्रश्न छन्-
तिम्रो माइती कहाँ हो?
तिम्रो घर कहाँ हो?
सुन्दा कति सामान्य लाग्छन् यी प्रश्नहरू तर कहिलेकाहीँ लाग्छ, यी दुई प्रश्नको बीचमा एउटी महिलाको सम्पूर्ण अस्तित्व अल्झिएको छ। जन्मिएको घरलाई माइती भनिन्छ, विवाहपछि पुगेको घरलाई श्रीमान्को घर भनिन्छ अनि ती दुवै घरलाई आफ्नो सम्झेर जीवन बिताउने महिलाको आफ्नै घर चाहिँ कहाँ हुन्छ?
जन्मघरमा छँदा सुनिन्छ, भोलि अर्काको घर जाने जात। विवाहपछि कहिलेकाहीँ सुन्नुपर्छ, ‘यो हाम्रो घर हो, यहाँको चलनअनुसार चल्नुपर्छ।’
आखिर ऊ कहाँकी हो त? जुन आँगनमा उसका साना पाइला हुर्किए, जुन घरमा उसले पहिलोपटक बोल्न सिकेकी थिई, त्यही घरमा ऊ एकदिन पाहुनाजस्ती किन हुनुपर्छ? अनि आफ्नो सबै सपना, समय र जवानी खर्चिएको अर्को घरमा पनि उसले जीवनभरि आफूलाई प्रमाणित गरिरहनुपर्ने किन?
हामी छोरीलाई लक्ष्मी भन्छौँ, बुहारी भित्र्याउँदा गृहलक्ष्मी आयो भन्छौँ। तर कहिलेकाहीँ लाग्छ, हामीलाई लक्ष्मी त चाहिएको रहेछ तर उसको आफ्नै इच्छा, विचार र आत्मसम्मान भएको मान्छे स्वीकार गर्न भने अझै गाह्रो पर्दोरहेछ।
सबै परिवार यस्ता छैनन्। धेरै घरमा छोरी र बुहारी दुवैलाई समान माया, सम्मान र अधिकार दिइन्छ। तर आज पनि कतिपय शिक्षित, सम्पन्न र आफूलाई आधुनिक भन्ने परिवारभित्र एउटा अदृश्य विभेद बाँकी छ।
आफ्नी छोरी बिहान ढिलो उठ्दा ‘थाकेकी होली’ भनिन्छ, बुहारी ढिलो उठ्दा ‘घरको जिम्मेवारी नै बुझ्दिन’ भनिन्छ।
छोरीले खाना पकाउन नजान्दा ‘बिस्तारै सिक्छे’ भनिन्छ, बुहारीले नजान्दा ‘माइतीले के सिकाएर पठाएछन्’ भनिन्छ।
छोरीले आफ्नो कुरा राख्दा उसको आत्मविश्वासको प्रशंसा गरिन्छ। बुहारीले त्यही कुरा राख्दा कहिलेकाहीँ त्यसलाई मुख फर्काएको ठानिन्छ। छोरी दुःखी भएर माइती आउँदा काख खोलिन्छ, बुहारी दुःखी भएर माइती जाँदा ‘घरको कुरा बाहिर पुर्याई’ भन्ने आरोप लाग्छ। कुरा एउटै हो, व्यवहार गर्ने मान्छे फरक हो। तर हाम्रो न्याय किन फरक हुन्छ?
अझ अचम्म त के छ भने, यो विभेद सधैँ अशिक्षा र गरिबीभित्र मात्रै भेटिँदैन। कहिलेकाहीँ ठूला डिग्री झुन्डिएका भित्ताभित्र पनि सानो सोच लुकेको हुन्छ। बाहिर समानताको भाषण गर्ने परिवारको भान्साभित्रै असमानताको व्यवहार भइरहेको हुन सक्छ।
पढेलेखेको हुनु र समानताको मूल्य आत्मसात् गर्नु एउटै कुरा रहेनछ।
हामीले प्रविधि बदल्यौँ, जीवनशैली बदल्यौँ, घरका संरचना बदल्यौँ, तर कतिपय घरभित्र बुहारीलाई हेर्ने दृष्टिकोण बदल्न अझै बाँकी छ।
यसको अर्थ पुरुषहरू पीडाबाट मुक्त छन् भन्ने होइन। महिलाको गलत व्यवहार, अपमान, हिंसा वा असहयोगका कारण आफ्नो घर-परिवार, सन्तान र मानसिक शान्तिबाट टाढिनु परेका पुरुषहरू पनि छन्। कतिपय पुरुष आफ्ना दुःख कसैलाई भन्न सक्दैनन्। पुरुष भएर पनि रुने? भन्ने सोचले उनीहरूको पीडालाई समेत मौन बनाइदिएको छ।
पीडाको कुनै लिङ्ग हुँदैन, आँसु पुरुषको आँखाबाट झरोस् वा महिलाको, त्यसको पीडा उस्तै हुन्छ। तर हाम्रो समाजको एउटा वास्तविकता के पनि हो भने, धेरै महिलाले अझै आफ्नो व्यक्तिगत पीडासँगै पुस्तौँदेखि चलिआएको असमान सोचको भारसमेत बोक्नु परिरहेको छ।
एउटी महिला विवाह गरेर नयाँ घर पुग्दा उसले घर मात्रै परिवर्तन गरेकी हुँदिन। उसले आफ्नो परिचित संसारको ठूलो हिस्सा पछाडि छोडेकी हुन्छे। आमाको काख, बुबाको भरोसा, दाजुभाइ, दिदीबहिनीको साथ, आफू हुर्किएको आँगन, बाल्यकालका सम्झनाहरू सबैबाट टाढिएर ऊ नयाँ सम्बन्धहरूमा आफ्नो ठाउँ खोज्न थाल्छे।
तर विडम्बना, त्यति ठूलो परिवर्तन स्वीकार गरेर आएकी उसैलाई सबैभन्दा धेरै बदलिनुपर्ने अपेक्षा गरिन्छ। उसले घरका सबै सदस्यको स्वभाव बुझ्नुपर्छ, सबैको मन राख्नुपर्छ, सबैको चाहना सम्झिनुपर्छ, तर उसको मन कसले बुझ्ने?
सायद धेरै महिलाले ठूलाठूला सुख खोजिरहेका हुँदैनन्। उनीहरूलाई केवल सम्मान चाहिएको हुन्छ। आफ्नो कुरा निर्धक्क भन्न सकिने ठाउँ चाहिएको हुन्छ। गल्ती गर्दा अपमान होइन, सम्झाउने मानिस चाहिएको हुन्छ। अनि कहिलेकाहीँ केवल यति सुन्न चाहिएको हुन्छ, यो घर जति हाम्रो हो, त्यति नै तिम्रो पनि हो।
ममताको घटनाले अर्को गम्भीर प्रश्न पनि उठाउँछ।
हामी आफ्ना छोरीहरूलाई पढाउँछौँ, सक्षम बनाउँछौँ, विदेश पठाउँछौँ, आत्मनिर्भर बन्न सिकाउँछौँ। तर के हामीले उनीहरूलाई असहज सम्बन्धबाट बाहिर निस्कन सक्ने आत्मविश्वास र सामाजिक साथ पनि दिएका छौँ?
के हामीले छोरीलाई विवाहपछि पनि उसको जन्मघर सधैँ खुला छ भनेर विश्वास दिलाएका छौँ?
कतै हामीले ‘घर जोगाउनुपर्छ’ भन्ने शिक्षा दिँदादिँदै ‘आफूलाई पनि जोगाउनुपर्छ’ भन्न बिर्सिएका त छैनौँ?
सहनशीलता राम्रो गुण हो, तर अपमान सहनु संस्कार होइन, हिंसा सहनु त्याग होइन, आफ्नो अस्तित्व मेटाएर सम्बन्ध टिकाउनु सफल वैवाहिक जीवन होइन।
घर केवल चार वटा भित्ता र एउटा छानोको नाम होइन। घर त्यो ठाउँ हो, जहाँ डरभन्दा भरोसा ठूलो हुन्छ। जहाँ गल्ती गर्दा पनि मान्छेको सम्मान घट्दैन। जहाँ बोल्नुअघि सयपटक सोच्नुपर्दैन। जहाँ छोरी र बुहारीका लागि न्यायको तराजु फरक हुँदैन।
अनि यस्तो घर बनाउने जिम्मेवारी महिलाको मात्रै होइन, पुरुषको पनि हो। सासू-ससुराको पनि हो। बुहारीको पनि हो। परिवारका हरेक सदस्यको हो।
हामीले पुरुषलाई शत्रु बनाएर महिलाको सम्मान स्थापित गर्न खोजेका होइनौँ। न त महिलाका सबै व्यवहारलाई सही ठहर्याउन खोजेका हौँ। हामीले त केवल यति भन्न खोजेका हौँ, सम्बन्धमा कसैको अधिकार ठूलो र कसैको अस्तित्व सानो हुनुहुँदैन।
एउटा राम्रो श्रीमान् पुरुष भएकै कारण दोषी हुँदैन, एउटी असल सासू पुरानो पुस्ताकी भएकै कारण विभेदकारी हुँदिनन्। र एउटी महिला महिला भएकै कारण सधैँ सही पनि हुँदिनन्। तर जहाँ अन्याय हुन्छ, त्यहाँ अन्यायलाई अन्याय भन्न सक्नुपर्छ, चाहे पीडित जोसुकै होस्।
आज ममताको घटनाले हामीलाई दुखित बनाएको छ। तर भोलि फेरि अर्को ममता, अर्को छोरी, अर्को बुहारीको पीडाले समाचारका शीर्षक भरिनुअघि हामीले आफ्नो घरभित्र पनि एकपटक हेर्नुपर्छ।
कतै हाम्रो घरमा कसैको हाँसो केवल अरूलाई खुसी देखाउने प्रयास त होइन?
कतै हामीले आफ्नी छोरीलाई दिएको स्वतन्त्रता बुहारीबाट खोसेका त छैनौँ?
कतै परिवारको इज्जत जोगाउने नाममा कसैको आत्मसम्मान मिचिरहेका त छैनौँ?
र महत्त्वपूर्ण कुरा, कतै हाम्रै घरमा कसैले आफूलाई घरविहीन महसुस गरिरहेको त छैन?
ममता काफ्लेको घटनामा अदालतले न्यायको खोजी गरेको छ, आरोपी दोषी ठहर भई उसलाई सजाय तोकिएको छ। तर समाजले आफ्नै सोचमाथि गर्ने सुनुवाइ पनि उत्तिकै आवश्यक छ।
म चाहन्छु, अब कुनै छोरीलाई विवाहपछि माइती आफ्नो रहेन भन्ने महसुस नहोस्। कुनै बुहारीले आफ्नो जीवन समर्पण गरेको घरमा आफूलाई पराई ठान्न नपरोस्, कुनै पुरुषले पनि आफ्नो पीडा लुकाएर बाँच्न नपरोस्।
हामीले बनाउने समाज यस्तो होस्, जहाँ विवाहले महिलालाई एउटा घरबाट विस्थापित गरेर अर्को घरको अधीनमा पुर्याउने होइन, दुई परिवारसँग उसको आत्मीयता र अधिकार अझ फराकिलो बनाउने काम गरोस्।
किनकि एउटी महिलालाई चाहिएको केवल श्रीमान्को घर होइन, आफ्नोपन भएको घर हो।
अन्त्यमा, एउटा प्रश्न मनमा बारम्बार आइरहन्छ।
छोरी हुँदा बुबाको घर, बुहारी हुँदा श्रीमान्को घर, आमा हुँदा सन्तानको घर, आखिर एउटी महिलाले आफ्नै नामले, आफ्नै अस्तित्वले, निर्धक्कसँग ‘यो मेरो घर हो’ भन्न पाउने दिन कहिले आउला?